काठमाडौं । सरकारले नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको छ ।
माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका अधिकारीको मन्त्रिपरिषद् बैठकले पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो । सेनामा समायोजन हुँदा उनले महासेनानीको दर्जा पाएका थिए ।
असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको रक्षा मन्त्रालयबाट पत्र आएको सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताए ।
धादिङको मार्पाक घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अब उनी थप ३ वर्ष सेनामा रहनेछन् ।