काठमाडौं । अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ । संविधान दिवसको दिन घोषणा हुने पदकसमेत यसपटक स्थगित गरिएको छ । हरेक वर्ष दिदै आएको विद्याभूषण पदकसमेत स्थगित भएको छ । जे जे कारण देखाएर पदक वितरण स्थगित गरिएको भए पनि त्यसको खास कारण बजेट अभाव नै हो ।
संविधान दिवसजस्तो महत्वपूर्ण पर्वमा समेत बजेट अभावका कारण पदक वितरण रोकिनुले अर्थतन्त्र धरासायी भएको संकेत गर्छ । तर पनि अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रमा सुधार आएको दावा गर्छन् । उनको खोक्रो दाबीले दशैँको मुखमा कर्मचारीहरुले तलब पनि खान नपाउने स्थिति आउँदैछ ।
यस्तो अवस्थामा अर्थमन्त्री फेर्नुपर्ने दबाब कांग्रेसभित्रै छ । तर अर्थमन्त्री महतले आरजु देउवालाई रिझाएर आफूले ठीक काम गरेको, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै काम बिगारेको आरोप लगाउने गरेका छन् ।
अर्थमन्त्री महत सस्तो लोकप्रियतामै रमाएका छन् । अर्थतन्त्र सुधार गर्ने नीति र क्षमता उनीसँग देखिदैन । जुनसुकै कार्यक्रममा गए पनि अर्थमन्त्री महतले आफ्नो असक्षमता ढाकछोप गर्न गभर्नर अधिकारीलाई दोष दिन थालेका छन् ।
अर्थमन्त्री महतलाई सिंगो अर्थतन्त्र जोगाउने विषयमा कुनै चिन्ता छैन । शेयर बजारमा राष्ट्र बैंकले ल्याएको १२ करोडको कर्जा धितोलाई २० करोड पु¥याउनुपर्छ भन्ने चिन्ता छ । त्यसैगरी राष्ट्र बैंककै कसिलो नीतिका कारण घरजग्गा कारोबार घटेकोमा अर्थमन्त्री चिन्तित छन् । घरजग्गाको विकृतिमा उनको ध्यान गएको छैन । व्यवसायीहरुले एउटा प्रयोजनमा कर्जा लिएर त्यसको व्यापक दुरुपयोग गरेकोप्रति चिन्ता छैन । उल्टै एफपिओमा कर थोपरेर बैंक डुबाउने बाटोमा अर्थमन्त्री महत लागेका छन् । एफपिओमा कर थोपरेपछि बैंकरहरु अदालत गएका छन् । एफपिओकै कारण बैंकरहरु निराश बनेका छन् ।
देशभरका सिमेन्ट, छड उद्योग धराशायी अवस्थामा छन् । कृषिमा आन्तरिक उत्पादन ‘गफ’ मात्र भएको छ । कृषि अनुदानमा व्यापक भ्रष्टाचार र दुरुपयोग भएको छ । निर्माण व्यवसायीहरुको भुक्तानी रोकेर निर्माणकार्य ठप्प पारेका छन् ।
यस्तो अवस्थामा अर्थतन्त्रलाई डुब्न नदिन राष्ट्र बैंक सचेत बनेको छ । अर्थतन्त्रप्रति अर्थमन्त्री अचेत हुँदा मुलुक ढिलोचाँडो श्रीलंकाको बाटोमा लम्किदैछ । त्यसबाट देशलाई जोगाउन राष्ट्र बैंकलाई निर्देशन दिन छाडेर गभर्नरको मात्र विरोध गर्नुले समस्या समाधान हुँदैन । त्यसमाथि कृष्णहरि पुस्करजस्ता व्यापारीका बिचौलियालाई अर्थसचिव बनाएका छन् । यसबाट अर्थमन्त्रीको नियत थाहा हुन्छ । अर्थसचिव पुस्कर आएपछि अर्थ मन्त्रालय बिचौलिया व्यापारीहरुको अखडा हुने निश्चित छ ।