Logo
Logo

बैंकको सेयरमा घट्यो आकर्षण


2.5k
Shares

काठमाडौं । विगतका वर्षहरूमा सबैभन्दा आकर्षक क्षेत्रको रुपमा स्थापित बैंकिङ क्षेत्र अहिले खस्किँदै गएको छ । बैंकको क्रेज क्रमशः घट्दै जाँदा बैंकरहरू तनावमा देखिने गरेका छन् ।

कुनै समय धितोपत्रको दोस्रो बजारमा आकर्षक मानिने वाणिज्य बैंकको शेयरमा केही वर्षयता लगानीकर्ताको रुचि घटिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको विभिन्न तीन आर्थिक वर्ष (आव) को तथ्यांक केलाउँदा सेयर बजारमा समेत बैंकिङ क्षेत्रको आकर्षण गिर्दो अवस्थामा रहेको देखिन्छ ।

पछिल्लो समय वाणिज्य बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा सबैभन्दा सस्तो बन्ने गरेको देखिन्छ । नेप्सेको विवरण अनुसार, वाणिज्य बैंकको सेयर कारोबार अंश निकै नै घटिरहेको देखिन्छ । आव २०७७÷७८ मा कुल कारोबारमा वाणिज्य बैंकको अंश २५ दशमलव ९९ प्रतिशत रहेकोमा आव २०७९÷८० मा आइपुग्दा १४ दशमलव ३१ प्रतिशतमा झरेको छ ।

आव २०७७÷७८ मा वाणिज्य बैंकको कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको ९५ करोड १ लाख कित्ता शेयर कारोबार भएकोमा गत आवमा आउँदा ६६ अर्ब ८५ करोड बराबरको २१ करोड ७२ लाख ४० हजार कित्ता मात्र कारोबार भएको देखिन्छ ।

लगानीकर्ताहरूले नियामकको नीतिका कारण पनि बैंकको सेयरमा आकर्षण घटेको विश्लेषण गर्ने गरेका छन् । लगानीकर्ता नवराज दाहालले लगानीकर्ताहरूले छोटो समयमा धेरै प्रतिफल आउने अन्य क्षेत्रतर्फ लगानी ‘डाइभर्ट’ हुँदा बैंकप्रतिको आकर्षण कम भएको बताउँछन् । उनका अनुसार, शेयर धितो कर्जा सीमाको प्रभाव पनि यसमा परेको छ ।

‘लगानीकर्ताले वाणिज्य बैंकको शेयर खरीद गर्ने भनेको कर्जा लिन हो । त्यसबाट कर्जा बढी पाइन्छ, बैंकले विश्वास गर्छ भनेर होे,’ दाहाल भन्छन्,‘तर, राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गरिदियो भने दबाबमा परेर विक्री गर्नुपर्ने हुन्छ । त्यसैले त्योभन्दा सुरक्षित क्षेत्र रोज्न थालिएको हो ।’

यसबाहेक बैंकहरूको घट्दो लाभांशले पनि लगानीकर्ताहरू निरुत्साहित भएको उनी बताउँछन् । मर्जर गरेका बैंकहरूले पुँजीअनुसार व्यवसाय वृद्धि गर्न नसक्दा प्रतिफल कम हुने गरेको भन्दै उनले यसैका कारण लगानीकर्ताहरू निरुत्साहित हुने गरेको सुनाए ।

यसबाहेक लगानीकर्ताहरूले अन्य क्षेत्रका कम्पनीको शेयर संख्याको तुलनामा वाणिज्य बैंकको धेरै भएकाले लगानीकर्ताको आकर्षण कम देखिएको समेत विश्लेषण गर्ने गरेका छन् ।

पछिल्लो त्रैमासिक वित्तीय विवरणहरूले वाणिज्य बैंकहरुको खराब कर्जा निकै बढेको देखाएका छन् । यसकारण पनि लगानीकर्ताको रोजाइमा तिनको शेयर नपरेको हो ।

कुनै समय बजारमा निकै प्रभावशाली मानिने र सूचकलाई नै उल्लेख्य रुपमा परिवर्तन गराउन सक्ने क्षमताका वाणिज्य बैंकहरुको अवस्था अहिले खस्किन पुगेको हो ।

अर्र्बौँ पुँजी भएका यस्ता बैंकहरूको प्रतिकित्ता सेयर निकै कम मूल्यमा रहेको देखिन्छ । पछिल्लो समय लगानीकर्ताको रोजाइमा बैंकिङ क्षेत्र नपरेकोप्रति सरोकारवालाहरू समेत चिन्तित हुने गरेका छन् ।

यसरी सेयर खस्किनुमा मुख्य कारण बैंकहरूको घट्दो आम्दानी रहेको जानकारहरू बताउँछन् । कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा रहेको छ । जसकारण लगानीकर्ताहरूले यसबाट अन्य क्षेत्रमा भएको सेयरबाट जस्तो ठूलो पुँजीगत लाभ लिन सक्ने अवस्था रहँदैन ।

नियामकीय प्रावधानदेखि बाह्य तथा आन्तरिक वातावरणले पनि बैंकहरुको आम्दानी घटाउँदा यसको प्रत्यक्ष प्रभाव सेयरमा पनि देखिएको हो । कोभिड १९ र रुस युक्रेन युद्ध लगायतलाई कारण देखाउँदै ब्याजदर बढ्न थालेपछि पनि लगानीकर्ता निरुत्साहित भएको जानकारहरू बताउँछन् । कर्जाको ब्याज महँगो हुँदा अर्थतन्त्र सुस्ताउन पुगेको र बैंकबाट प्रवाहित ऋण उठ्न नसक्दा अवस्था खस्कँदो भएको विष्लेशकहरू बताउँछन् ।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये सबैजसो बैंकको रिटर्न अन इक्विटी (आरओइ) घटेको छ । कम्पनीको नाफाको मूल्यांकन गर्ने अति नै महत्वपूर्ण सूचक हो आरओइ । यो जति धेरै बढी हुन्छ त्यति नै लगानीकर्ताका लागि राम्रो मानिन्छ । तसर्थ यो घट्दाको प्रभाव पनि बैंकको सेयरमा परेको हो ।

बैंकको सेयर मूल्य अन्य समूहका कम्पनीहरु जस्तो नबढ्ने र आकर्षक लाभांश पनि वितरण नगर्ने भएकाले यस क्षेत्रमा सेयर कारोबारीको आकर्षण घट्दै गएको लगानीकर्ताहरु बताउँछन् ।

बैंकको सेयर मूल्य अन्य समूहका कम्पनीहरु जस्तो नबढ्ने र आकर्षक लाभांश पनि वितरण नगर्ने भएकाले यस क्षेत्रमा सेयर कारोबारीको आकर्षण घट्दै गएको लगानीकर्ताहरु बताउँछन् ।

सेयर बजार जानकार तथा एनएमबि क्यापिटलका सम्पत्ति व्यवस्थापन प्रमुख आशिषराज पाण्डे बैंकिङ क्षेत्रको सेयर आपूर्ति अत्यधिक भएकाले धेरै मूल्य नबढ्ने र यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण नहुने बताउँछन् ।

लगानीकर्ताहरु पनि बैंकहरुको सेयर रिटर्नका हिसाबले पनि राम्रो देखिँदैन । पछिल्ला वर्षहरूमा बैंकहरूको लगानीमा प्रतिफल (रिटर्न अन इक्विटी) घट्दो क्रममा देखिएको छ । बैंकहरूको आरओई घट्दा बैंकरहरूमा चिन्ता थपिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा १३.८७ प्रतिशत रहेको बैंकहरूको आरओई निरन्तर घट्दै आव २०७९÷८० मा १२.०९ प्रतिशतमा झरेको छ ।

कुनै पनि कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर कस्तो प्रदर्शन गरिरहेको छ भनेर जान्नका लागि पनि लगानीमा प्रतिफल बढी चासोको विषय बन्छ । विशेष गरि सेयर लगानीकर्ताहरूले आफ्नो लगानीमा कति प्रतिफल पाउँछु भनेर पनि यसलाई चासो दिइरहेका हुन्छन् ।

कुल सम्पत्तिबाट दायित्व घटाउँदा इक्वीटी प्राप्त हुन्छ । यस्तै खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आउने भागफललाई लगानीमा प्रतिफल मान्न सकिन्छ । जुन कम्पनीले राम्रो प्रतिफल दिइरहेको छ, त्यस कम्पनीलाई राम्रो मानिन्छ ।

पछिल्ला वर्षहरूमा क्रमशः घट्दो क्रममा रहेको बैंकहरूको लगानीमा प्रतिफल अझै घट्न सक्ने चिन्ता नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको छ ।

उनले बैंकहरूको व्यवसाय विस्तार हुन नसक्दा आगामी दिनमा अझै लगानीमा प्रतिफल घट्ने बताए । उनले भने,‘स्प्रेड ४ प्रतिशतमा ल्याउँदा बैंकहरूको व्यवसाय विस्तार हुन नसक्दा आगामी दिनमा रिटर्न अन इक्विटी अझै घट्ने देखिन्छ ।’

आर्थिक वर्ष २०६९÷७० सम्म बैंकहरूको लगानीमा प्रतिफल दर आकर्षक थियो । समग्र बैंकहरूको औसत प्रतिफल दर २२.५१ रहेको थियो ।

त्यसको ५ वर्षपछि बैंकहरूको प्रतिफल दर तीव्र घटेको देखिन्छ । नेपाल बैंकर्स संघका अनुसार, पछिल्ला पाँच वर्षमा वाणिज्य बैंकहरूको लगानीमा प्रतिफल दर घट्दो क्रममा छ ।

नेपाल बैंकर्स संघका अनुसार, आव २०७५÷७६ मा वाणिज्य बैंकहरूको आरओई १३.८७ प्रतिशत रहेको थियो । यस्तै आव २०७६÷७७ मा १२.२६ प्रतिशतमा झरेको बैंकहरूको आरओई आव २०७७÷७८ मा १२.२७ प्रतिशत, आव २०७८÷७९ मा १२.१४ प्रतिशत र आव २०७९÷८० मा १२.०९ प्रतिशत रहेको छ ।

सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । यसमा लगानीकर्ताको लगानीमा चुक्ता पुँजीसँगै रिजर्भसमेत समावेश गरिएको हुन्छ । बैंक तथा वित्तीय संस्थाको आरओई १५ प्रतिशतभन्दा माथि भएको उत्तम मानिन्छ ।

पूर्वबैंकर भुवन दाहालले उदाहरण दिँदै भने, ‘१०० रुपैयाँ लगानी गर्दा कम्तिमा १५ रुपैयाँ नाफा नआए के लगानी गर्नु ?’

पछिल्लो समय बैंकहरूबीच भइरहेको तीव्र प्रतिष्पर्धा नै लगानीमा प्रतिफल घट्नुको मुल कारण रहेको उनी बताउँछन् । उनी भन्छन्,‘कतिपय ठाउँमा हालको व्यवसायको अवस्था र सम्भावित व्यवसाय वृद्धिलाई ध्यान दिँदासमेत शाखाहरूको संख्या बढेको देखिन्छ ।’

यसबाहेक राष्ट्र बैंकको नीतिहरूका कारण पनि पछिल्ला वर्षहरूमा प्रतिफल घट्दो क्रममा रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्