काठमाडौं । साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले पुस्तक लोकार्पण गरे ।
साहित्यकार बुद्धिसागरले पुस्तक राइपाली भन्ज्याङ कथा एवम् उपकथाहरु जोडिएर बनेको विशेष उपन्यास बनेको बताए । ‘सागरको उमेर हेर्दा उनले प्रेमकथा लेखेका होलान् जस्तो लागेको थियो । तर यो पुस्तकमा उनले गहन विषयवस्तुलाई उजागर गरेका छन् ।’ सरल एवम् मीठो भाषाशैलीमा लेखिएको यो पुस्तक लेखकको पहिलो भए पनि सशक्त रुपमा आएको उनको भनाइ छ ।
यस्तै लेखक तथा अधिवक्ता दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको रहेको टिप्पणी गरिन् । ‘यो उपन्यासको सबैभन्दा सशक्त पक्ष भाषा हो, यो उपन्यास एकदमै सरल लाग्यो,’ उनले भनिन्, ‘यसमा मौलिक भाषाका साथै उत्कृष्ट बिम्ब प्रयोग गरिएका छन् । लेखन पनि दृश्यात्मक छ ।’
सागर खड्काको भाषा जादुयी रहेको र यही जादुको सम्मोहनमा परेर नै आफ्नो प्रकाशन गृहले खड्काको उपन्यास प्रकाशन गरेको फाइनप्रिन्टका अजित बरालले बताए ।
‘हामीले फाइनप्रिन्टको १८ वर्षे इतिहासमा पहिलो पटक कुनै नयाँ लेखकको पाण्डुलिपिका सुरुवाती केही अनुच्छेद र बीचबीचमा सरसर्ती केही पेज हेरेको भरमा साइन गरेको,’ उनले भने, ‘हामीलाई लाग्छ— सागर खड्काले आफ्नो लेखनलाई निरन्तरता दिए र अध्ययनलाई फराकिलो बनाउँदै लगे भने नेपाली साहित्यमा उनले बलियो उपस्थिति जनाउनेछन् । राइपाली भन्ज्याङ त्यसको सङ्केत मात्र हो ।’
कार्यक्रममा लेखक खड्काले राइपाली भञ्ज्याङ लेखन यात्रा स्मरण गरे । पुस्तक लेख्न चार वर्ष लागेको र यसबीचका उतारचढावबारे उनले आफ्ना सम्झना सुनाए । लेखन यात्रा सुरु गर्दादेखि अहिले पुस्तकका रुपमा आइसक्दा पुस्तकले आफूलाई नयाँ संसारमा लगेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले लेखक सागर खड्कालाई बधाई र शुभकामना दिए ।
राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र सङ्घर्षको कथा हो । र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो ।
यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे । तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे ।
अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पु¥याउनेछ ।