काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले एक करोड रुपैयाँ नगद जित्नेछन् । साथै, प्रत्येक महिना एक जनाले एक लाख नगद रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।
यसैगरी दसैँ, तिहार तथा छठपर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन् । कम्पनीका अनुसार आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजना २०८० असोज २ गतेदेखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्नेछ ।