काठमाडौं । सर्लाही सदरमुकाम मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको छ । गणेण पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भइ झडप हुँदा मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको हो । झडपमा केहि व्यक्ति घाइते भएका छन् ।
प्रदर्शनसहित आगजनी र तोडफोडका घटना हुन थालेपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि मलंगवाको निश्चित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार बिहीबार साँझदेखि केही उच्छृंखल व्यक्तिहरुले सदरमुकामको बजार क्षेत्रमा आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
‘आगजनीबाट केही घर र पसलमा क्षति पुगेको सीडीओ यादवले बताए । बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो । त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइबुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास र हवाइ फाइर गरेको थियो । त्यति गर्दा पनि प्रदर्शनकारीहरुले आफ्ना गतिबिधि नरोकेपछि कर्फ्यु आदेश जारी गरेको हो ।
गणेशको मूर्ति विसर्जन गर्ने नाममा एउटा उच्छृंखल समूहले नियोजित रुपमा विवाद सिर्जना गरी हिन्दु मुस्लिम साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेको स्थानीय प्रशासनले जनाएको छ ।
हिंसाको अवस्था भएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार र उच्छृङ्खल गतिविधि भएपछि अवस्थालाई नियन्त्रणमा राख्न अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्नुपरेको सीडीओ यादवले बताए ।
पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) मा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रशासनले कर्फ्यु आदेश जारी गरेको चार किल्ला सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने बताएको छ । तीन साता अघि पनि कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा सोही ठाउँमा विवाद भएको थियो ।