.पार्वती धरेल
१२ वर्षअघि विजयबहादुर शाह एक इन्भेष्टमेन्ट कम्पनीमा काम गर्थे । एक भेटघाटमा एनएलजी इन्स्योरेन्सका सञ्चालकले उनलाई आफ्नो कम्पनीमा सइओको अफर गरे । त्यसअघि प्रत्यक्ष रुपमा शाहले बीमा क्षेत्रमा काम गरेका थिएनन् । तर, सूर्य नेपालमा फाइनान्स प्रमुखको रुपमा कम्पनीको बीमाका काम उनी आफैँ हेर्थे । अर्काेतर्फ सीए पढेकाले पनि उनलाई मेहनत ग¥यो भने मजाले कम्पनीलाई माथि उठाउन सक्छु भन्ने मनोबल उठ्यो । नभन्दै छोटो अवधिमै उनले समस्यामा रहेको एनएलजी इन्स्योरेन्सलाई सफलताको शिखरमा पु¥याए ।
एउटा इन्स्योरेन्स कम्पनीलाई सफलता दिलाएपछि उनी अर्काे बीमा कम्पनीलाई माथि उठाउने अभियानमा छन् । करिब दुई वर्षयता नेपाल बैंकको लगानी रहेको नेपाल इन्स्योरेन्समा आबद्ध छन् । विगतमा नेपाल इन्स्योरेन्समा अध्यक्ष र सीइओ नेपाल बैंकबाट नै आउने गथ्र्यो । सिष्टम पनि सरकारी कार्यालयको जस्तै थियो ।
नेपाली समाजमा बीमा अझै रहर बनिसकेको छैन । ‘बीमालाई जीवनशैली बनाउन लामो यात्रा गर्नुपर्छ, लामो समय लाग्नसक्छ ’ उनी भन्छन्, ‘कतिपय अवस्थामा बीमालाई बाध्यात्मक पनि बनाउनुपर्छ । जनचेतना पनि बढाउनुपर्छ । यो छोटो समयमा जीवनशैली बन्न सम्भव छैन ।’
उनी आबद्ध हुँदा कम्पनीमा नेपाल बैंकको शेयर १५ प्रतिशतमा झरिसकेको थियो । अहिले सरकारी परिपाटीबाट चलेको कम्पनीलाई उनले नयाँ धारमा अघि बढाएका छन् । ‘अहिले लगभग रुपान्तरणको प्रक्रिया सकिएको छ,’ उनी भन्छन्,‘अब हाम्रो कम्पनीले गति लिइसकेको छ ।’
उनले नेपाल इन्स्योरेन्सको रुपान्तरणमा प्रारभ्भिक सफलता पाइसकेका छन् । गत आर्थिक वर्षमा कम्पनीको मुनाफा एक सय ८० प्रतिशतले बृद्धि गर्न सफल भए । शेयरधनीलाई कर कटाएर साढे सात प्रतिशत लाभांस दिने निर्णय बोर्ड बैठकले गरिसकेको छ । नेपाल इन्स्योरेन्स कम्पनी प्रो एक्टिभ भएर लागेको र सम्भावित ग्राहकसँग पुगेको उनी बताउँछन् ।
पछिल्ला वर्ष नेपालमा बीमाको बजार तिव्र गतिमा बढेको छ । यसले स्वभाविक रुपमा बीमाका सीइओहरुलाई खुशी नबनाउने कुरा भएन । ‘देशको आर्थिक बृद्धिदरभन्दा बीमाको बजार विस्तारको दर माथि छ, समष्टिगत रुपमा भन्दा यो उत्साहप्रद नै हो,’ शाहले भने ।
बीमा बजार बढ्नुका मुख्य दुई कारण रहेका उनको विश्लेषण छ । पहिलो मानिसमा चेतना अभिवृद्धि र दोस्रो बीमा कम्पनीहरुको पहुँचमा वृद्धि । ‘बैंक र वित्तीय संस्थाले उद्यमी हुन उत्पे्ररित गरिरहेको अवस्था छ,’ उनी भन्छन्, ‘उद्यमशीलता बढेपछि स्वभाविक रुपमा बीमा क्षेत्र पनि बढ्ने नै भयो ।’ उद्यम गर्न जोखिमलाई बीमामार्फत हस्तान्तरण गर्नुपर्छ भन्ने चेतना बढ्नै गएको उनको भनाइ छ ।
बीमा बजार बढ्नुको अर्काे कारण गाडीको आयात बढ्नु हो । गाडीको अनिवार्य बीमाको प्रावधान भएकाले आयात बढेसँगै स्वभाविक रुपमा बीमा बढेको छ । बीमा क्षेत्रमा कुल प्रिमियमको ५० प्रतिशत गाडीबाट उठ्ने उनी बताउँछन् । अन्य सम्पत्तिको पनि बीमा गर्नुपर्छ भन्ने प्रवृत्ति बढिरहेको छ ।
नेपाली समाजमा बीमा अझै रहर बनिसकेको छैन । ‘बीमालाई जीवनशैली बनाउन लामो यात्रा गर्नुपर्छ, लामो समय लाग्नसक्छ ’ उनी भन्छन्, ‘कतिपय अवस्थामा बीमालाई बाध्यात्मक पनि बनाउनुपर्छ । चेतना पनि बढाउनुपर्छ । यो छोटो समयमा जीवनशैली बन्न सम्भव छैन ।’
व्यवसाय गर्ने क्रम बढेको र धेरै जसो कर्जा लिएरै व्यवसाय गर्ने भएकाले त्यसको सम्बन्ध बीमाको बजार बृद्धिसँग गाँसिएको छ । धेरै देशमा बच्चा पेटमा हुँदा नै बीमा गर्ने परिपाटी रहेको नेपालमा पनि बीमाको शक्तिबारे चेतना विस्तारै बढ्दै गएको उनी बताउँछन् ।
अहिले सरकारले बीमासम्बन्धि नयाँ ऐनको बिधेयक संसदमा दर्ता गरिसकेको छ । सो बिधेयक पास भएपछि बीमा क्षेत्रमा धेरै नीतिगत समस्या समाधान हुने उनी बताउँछन् । उनी भन्छन्,‘अहिले हामी सबैले नयाँ बिधेयक कुरेका छौैं, त्यसले यो क्षेत्रका धेरै अन्योलता हटाउँछ । यो क्षेत्रमा सुशासन बढ्ने छ ।’
निर्जिवन बीमामा ‘फ्रड केस’हरु समेत हुने गरेका छन् । खासगरी दुर्घटनासम्बन्धि बीमामा यस्तो परिपाटी देखिएको छ । यसलाई न्यूनीकरण गर्न बीमा समिति र बीमा कम्पनीहरु मिलेर नयाँ योजना बनाएका छन् । जसरी ऋणीहरुको बारेमा कर्जा सूचना केन्द्रले तथ्याङक राख्छ त्यसैगरी बीमा सूचना केन्द्र स्थापना गर्न लागिएको छ । जहाँ फ्रड गर्नेहरुको एकीकृत विवरण हुने भएकाले यस्तो प्रवृत्ति घट्दै जाने उनी बताउँछन् ।
बीमाको दुर्घटनासम्बन्धि केसमा कम्पनी र ग्राहकबीच अविश्वासको वातावरण छ । कुनै गाडी दुर्घटना भयो र त्यसमा नयाँ पाटपूर्जा राख्दा ह्रासकट्टी गर्नुपर्ने कम्पनीहरुको नीति छ । कुनै गाडी बनाउन २० हजार लाग्यो भने कम्पनीले करिब १५ हजार दिने गरेको छ । किनकि गाडी पुरानो हुने भएकाले त्यसमा बीमा कम्पनीले ह्रासकट्टी गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकहरुले २० हजारको ठाउँमा ३० हजार रुपैयाँको बिल पेश गर्ने र बीमा कम्पनीले वास्तविक खर्चको मात्र मूल्याङक गर्ने भएकाले कतिपय अवस्थामा अविश्वासको वातावरण समेत बन्ने गरेको छ । ‘यो अविश्वासको जालोलाई तोड्नु नै अहिले यो क्षेत्रको मुख्य चुनौती हो,’ शाह भन्छन्, ‘यो विषयमा हामी चिन्तित छौं ।’
पछिल्लो समय नयाँ कम्पनीहरु आएपछि बीमा क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । बीमा कम्पनीमा भएको लगानीभन्दा बीमाको प्रिमियम कम छ । यस्तो अवस्थामा स्वभाविक रुपमा प्रतिस्पर्धा तिव्र हुने नै भयो । तर, प्रतिस्पर्धा अस्वस्थ नहोस् भनेर बिमक संघले आचारसंहिता बनाएर लागू गरेको छ । उनी भन्छन् ‘बिकृती नफैलियोस् भनेर बिमक संघले आचारसंहिता पनि बनाएको छ । हामी स्वअनुशासनबाट नै अघि बढ्ने कुरा हो ।’
उनको करिअर ३३ वर्ष भयो । त्यसमध्ये बीमा क्षेत्रमा उनले १२ वर्ष बिताए । बीमा क्षेत्रमा प्रवेश गरेको केही वर्षमा नै उनी यो क्षेत्रका एक सफल सीइओ बन्न सफल भए ।
अध्ययनले उनी चार्टड एकान्टेन्ट हुन् । कलेज पढ्ने बेला कसैले उनलाई सुनाएको थियो– सीए पास गरेपछि सिधैं फस्ट क्लासको जागिर पाइन्छ । त्यतिबेला अधिकृत तहबाट जागिर सुरु हुन्थ्यो । अधिकृतबाट फस्ट क्लास अफिसर हुन कम्तीमा १५ वर्ष लाग्ने अवस्था थियो । सिधैं फस्ट क्लासमा भर्ना हुने रहरले उनले सीए पढे । तर, सीए पढ्न सामान्य पढाईले हुँदैन भन्ने पनि उनले बुझेको थियो । दुःख गरेरै सीए उत्तिर्ण गरे ।
उनीसँगै सिए उत्तीर्ण गरेकाहरु राष्ट्र बैंक लगायत विभिन्न संस्थानहरुमा भर्ना भए । उनी भने निजी कम्पनी सूर्य नेपालमा आबद्ध भएँ । ‘त्यतिबेला राष्ट्र बैंकमा भर्ना हुनेहरुमा तलब करिब २२ सय थियो,’ उनी भन्छन्, ‘तत्कालीन सूर्य टोबाकोमा मलाई ५ हजार भन्दा धेरै तलब पाउने भएकाले त्यता आबद्ध भएँ ।’ हाल सूर्य नेपाल नामले चिनिने त्यो कम्पनीभित्रको व्यवसायिकताबाट पनि आफूले धेरै सिक्ने अवसर पाएको र अहिलेको आफ्नो सफलताको एउटा कारण त्यो पनि भएको उनी बताउँछन् ।
आफ्नो सफलताको पछाडी किताबमा पढ्न नपाइने धेरै कुरा आफुले सिक्न पाउनु एउटा कारण भएको उनले सुनाए । सुरुमै बीमा कम्पनीका दिग्गजहरुसँग संगत गर्न पाएको र इन्टरनेशनल एक्सपोजर पाएकाले आफूलाई सहज भएको शाहको भनाइ छ । ‘यसले मेरो सोचाइको होराजनलाई ठूलो बनाइदियो,’ उनले भने ।
कुनै पनि क्षेत्रमा सफलताका लागि औसतभन्दा फरक तरिकाले काम गर्नुपर्ने उनी बताउँछन् । ‘औसत काम गरेर एक्स्ट्रा अर्डीनरी रिजल्ट आउँदैछन,’ शाह भन्छन्, ‘यदि माथि पुग्ने सपना छ भने औसतभन्दा फरक तरिकाले काम गर्नुपर्छ ।’
हरेक कम्पनीमा काम गर्दा आफ्नै कम्पनी जसरी मन दिएर आफूले काम गरेको उनी बताउँछन् । सम्बन्धित क्षेत्रमा गहिरो ज्ञान र मानव स्रोत व्यवस्थापन कला सफलताको महत्वपूर्ण पाटो भएको उनी सुनाउँछन् ।
व्यवस्थापनको मात्र होइन जीवन जीउने कला पनि उनको अरुको भन्दा फरक छ । उनी भगवानमा विश्वास गर्छन् । हरेक दिन पाठ गर्छन् । जीम जान्छन् । आफ्नो स्वास्थ्यमा निकै सचेत छन् । परिवारसँग फिल्म हेर्दा निकै रमाइलो लाग्ने उनी बताउँछन् । ‘पुराना साथीसँग भेटेर गफ गर्दा स्वाद लाग्छ,’ उनीहरुसँग बोल्दा कुनै औपचारिकता हुँदैन, त तिमी भन्ने साथीहरुसँग बस्दा साह्रै रमाइलो हुन्छ ।’ जीवनलाई अझ धेरै इन्जोय गर्न पाए हुन्थ्यो जस्तो उनलाई लाग्छ ।
१६ वर्षको उमेरदेखि नै उनको जीवन व्यस्ततामा बित्यो । त्यसकारण आफन्तहरुसँग समेत नजिक हुन पाएनन् । अहिले आएर उनी सामाजिक पाटोमा पनि सक्रिय हुन थालेका छन् । ‘सफलताको दौडमा सामाजिक पाटो मिस भएजस्तो लाग्छ । त्यसकारण अहिले त्यतातर्फ पनि लागेको छु ।’ ५२ वर्षपछि उनी पुख्र्याेली घर पुगे ।
उनको सफलता अन्तर्राष्ट्रियस्तरमा समेत पुगिसकेको छ । २२ वटा विकाससिल देशका बीमाहरुको संस्थाको समेत उनी हाल अध्यक्ष छन् ।