काठमाडौं । सिटिजन्स बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २६ गते अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे १७औं वार्षिक साधारणसभा बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालकको निर्वाचनसमेत गर्ने जनाइएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ भने आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने बैंकले जनाएको छ ।