Logo
Logo
सम्झना

‘कहीँ नटिक्ने मान्छे’को महाप्रस्थान


8.5k
Shares

निर्मल तलाउँमा अचानक कहिले काहीँ तरङ्ग फैलने गर्छ, हाम्रो सोचभन्दा फरक तरङ्ग । त्यस्तै एउटा बिहानी पनि यति क्रुर बनेर आयो, कि पत्याउनै कठिन भयो, नपत्याएर धरै छैन, समयको नियतिले हामी सबैँलाई कैद गरेको छ । हामी समयको गतिसँगै कहिले दौडन्छौँ, लड्छाैँ, उठछौँ, हिड्छौँ र, समयसँगै विलाउँछौँ पनि ।

मान्छेले छोडेका पदचापहरुले भने हामीलाई झस्काई रहन्छ, त्यो बिहान पनि हामी नराम्ररी झस्कियौँ । २६ भाद्र २०८० को बिहानी क्रुर तरङ्ग लिएर आयो हामीमाझ । बिहानै शालीन स्वभावका लोकप्रिय नेता सुभास नेम्वाङको चोला उठेको समाचार पढ्दै थिएँ, कवि मुरारी सिग्देलले फोनमा भन्नुभयो– ‘छविजी राजेन्द्र पराजुलीको दुःखद् कुरा केही सुन्नुभयो कि ?’

मैले– ‘केही सुनेको छैन’ भने । ‘दुःखद कुरा छ पत्ता लाग्यो भने भन्नु होला ।’ मैले हस् भनेर फोन संवाद विच्छेद गरें ।

मनमा अचानक हुरी चलेजस्तो भयो । उहाँको त्यो निश्चल हाँसो सम्झेँ, कथाका पात्रहरु सम्झेँ, कोटेश्वर काँठमा दौडिरहेको केटो सम्झेँ । धेरै कुरा मनमा खेल्दै थियो । फेसबुक खोलेर हेर्दा उहाँलाई श्रद्धाञ्जलि दिएका तस्वीरहरु एकपछि अर्को पोष्ट भइरहेको देखें । उहाँको निधन भएको खबर एकपछि अर्को आइरहेका थिए ।

मनमा राजेन्द्र पराजुली दाजुको कफीमोह र सँगै बसेर धेरैपटक कफी पिउँदै गफिएको क्षण एकाएक मनमस्तिष्कमा आइरह्यो ।
वन्दना स्विटमा म प्रायः बिहान पुग्ने गर्दथे । साथीहरु भेट्ने एउटा उपयुक्त स्थान थियो त्यो । मिनभवनको उकालोसँगै थियो ‘वन्दना स्विट’ । अनन्तप्रसाद वाग्ले, रमेश सागर र म मिलेर एउटा सयुक्त कवितासङ्ग्रह ‘सह्ृदयी स्वरहरु’ प्रकाशित गरेका थियौं २०५९ सालमा । यस कार्यको शुरुवात त्यहीँ वन्दना स्विटबाट भएको थियो । यसका साक्षी थिए, राजेन्द्र पराजुली ।

राजेन्द्र प्रत्येक बिहान वन्दना स्वीटमा कफी पिएर घण्टौं बस्दथे । कहिले साथीहरु हुन्थे, भने कहिले एक्लै कफीको चुस्कीमा मस्त देखिन्थे । हाम्रो भने निश्चित समय हुन्थ्यो । हामीलाई जहिले हतारै हुन्थ्यो । एकदिन उहाँ नआउदा हामीलाई खल्लो लाग्थ्यो । यो समय केही महिनामात्र चल्यो, त्यो समयले हामीलाई उहाँसँग आत्मिय बनाएर गयो ।

म उहाँको लेखकिय व्यक्तित्वसँग प्रभावित थिए, केही पत्रपत्रिकामा लेख्थे । उहाँका पुस्तकहरु पढेर उहाँसँग सम्वाद गर्न पाउँनु मेरो लागि पनि गर्वको विषय थियो । उहाँका कथामा देखिने यथार्थ पात्र जो हामीले देखेका, भोगेका परिवेशहरु हुन्थे ।

सिर्जनामा एउटा विद्रोहको आगो ओकल्नु उहाँको सिर्जनाको बलियो पक्ष थियो । उहाँ पनि पत्रकारितामै कार्यरत भएकोले हाम्रा सिर्जनाहरुलाई प्रकाशनमा ल्याउन प्रेरित गर्नुहुन्थ्यो । धेरै प्रकाशन गृहहरुमा लामो समय नटिक्नु उहाँको स्वाभिमान नै रहेछ भन्ने कुरा मैले ‘कोटेश्वरको केटो’ पुस्तक पढेर थाह पाएँ ।

मेरो उहाँसँग व्यक्तिगत जीवनसँग कुनै सरोकार थिएन, मात्र लेखकिय व्यक्तित्व प्रिय थियो । धेरैपटक उहाँको घरमा बसेर चियासँगै गफिएको छु । साहित्यका समसामयिक विषयमा कुरा हुन्थे । पछिल्लो समय निकै निकट भएको थिएँ ।

धेरै पटक उहाँले ‘म तपार्इँको कफी अड्डामा छु, लु छिटो आऊ भाइ, मैले कफी अर्डर गरिसके’ भनेर सर्रप्राइज दिनुहुन्थ्यो । उहाँसँगको सामिप्यमा मैले उहाँ कहिल्यै निरास भएको देखिन, वरु आफू स्वभिमानमा अडिग रहेकोमा गर्व थियो उहाँमा ।

उहाँ भन्नुहुन्थ्यो– ‘साहुहरुले हामीलाई मुखडा बनाएर कालोलाई सेतो भनेर छाप भन्छन्, मसँग त्यो गिर्ने क्षमता थिएन । र, तलवै नलिएर हिडिदिन्थें । तैपनि मेरो जीन्दगी चलेकै छ ।’ उहाँ मजाले हाँस्नुहुन्थ्यो, अहिले त्यो हाँसो खोसिएको छ ।

स्कुल पढ्दा हेडमास्टरद्वारा राजनबाट राजेन्द्र बनाइएका र हामीले चिनेका राजेन्द्रसँग गफिदैँ कफी पिउने हक खोसिएको छ, कस्तो क्रुर नियति ?

सबैसँग त्यति नखुल्ने राजेन्द्रसँग थुप्रै बसाईमा कफी चियर्स (उहाँकै भाषामा) सँगै अन्तरंग कुराकानी गर्ने अवसर प्राप्त भएको छ । मदिराको लत ममा थिएन र छैन पनि, त्यसकारण उहाँसँग बसेर मदिराका गिलासहरु ठोकिएनन्, ठोकिए केबल कफीका गिलासहरु, त्यो पनि एउटा रमाइलै क्षण थियो ।

कुरा खोतल्दै जाँदा धेरै कुराहरु छन्, राजेन्द्रसँगको निकट सन्दर्भहरु । यस्तै केही सन्दर्भलाई मैले जोड्न खोजेकोमात्र हुँ ।

उहाँका सिर्जनाहरु पढ्दा हामीलाई लेख्ने ऊर्जा प्राप्त हुन्थो । उहाँ राजनीतिक चेतना शून्य भयो, यसले जताततै विकृति ल्यायो भन्नेमा चिन्तित देखिनुहुन्थ्यो, तिनै चिन्ताहरु सिर्जनामार्फत प्रस्तुत भएको थिए । तर उहाँलाई थाह थियो, एकजनाबाट यो सम्भव थिएन । अनि भन्नुहुन्थ्यो– शुरुवात कसै न कसैबाट हुनुपर्छ, लेख्दै लेखेन भने त भ्रष्टको अखडा बलियो हुन्छ, त्यसैले लेख्नु पर्छ ।

हो, एउटा सर्जकको भूमिका पनि यही हो, त्यसैले पनि राजेन्द्र मलाई मनपथ्र्यो । उहाँका कथा, कविता, संस्मरण सबै सिर्जनाहरुमा वर्तमान समयमा देखिएका विकृतिहरु नै देखिन्थे ।

शुक्रराज शास्त्रीको चस्मा होस या अघोरी, समाजप्रति उत्तरदायी सिर्जना उहाँका छन् । उहाँ नेपाली साहित्यमा कथा विधामा चिनिए पनि कविता, संस्मरण र उपन्यास र सम्पादन कलामा पनि पोख्त हुनुहुन्थ्यो ।

उहाँलाई धरै पहिले नै चिने पनि पछिल्लो संस्मरण कृति ‘कोटेश्वरको केटो’ पढ्दा उहाँको समग्र जीवनलाई झनै नजिकबाट चिन्ने अवसर पाएँ । सबै समयको खेल हो, समयले फड्को मारिरहन्छ, सँधै एकैनास कहाँ रहन्छ र ? त्यस्तै त्यो कोटेश्वरको केटोको कहानी पनि त्यस्तै भएको छ ।

धान खाने खेतमा घर फलेका छन् । रोपनीका रोपनी खेतबारी आनामा सिमित भएका छन् । यानी त्यो स्वच्छ हराबरा गाँउ प्रदुषित शहरमा परिणत भएको छ । मान्छेलाई जसरी पनि शहरमा घर चाहिएको छ, गाँउघर शून्य बनाएर शहरका आनामा आफ्नो संसार खोजीरहेका मान्छेहरुको कथाव्यथा कोटेश्वरको केटोमार्फत पढ्न र अनुभव गर्न सकिन्छ ।

किताबमा उल्लेख भएजस्तै स्वर्ग जाने बाटोबाट धूँवा जिन्दगीसाथमा कोटेश्वरको केटो महाप्रस्थानको यात्रामा लागे, कैयौँ यात्रीहरु उनको अन्तिम यात्राको साक्षी बनेर आर्यघाटबाट घर फर्के ।

उहाँले आफ्ना कमजोरीलाई कोटेश्वरको केटो पुस्तकमार्फत उजागर गर्नु भयो । ‘कहीँ नटिक्ने मान्छे’ शिर्षकमार्फत आफ्ना कमजोरीहरु उजागर गरेका छन् । यी सस्मरणहरुले उहाँका कमजोरीसँगै वर्तमानका विकृतिहरु प्रष्ट रुपमा आएका छन् । यस्ता विकृतिहरुलाई एक्लो पराजुलीले आफ्नो स्वाभिमान बन्धकी राख्न किन सक्थे र ?

स्वाभिमान बन्धकी राखेर पैसा कमाउनु नचाहनुले नै उनलाई कहीँ नटिक्ने मान्छे बनाएको रहेछ, त्यहीँ कही नटिक्ने मान्छे यो धर्तीमा पनि टिक्न सकेन, छिट्टै महाप्रस्थानको यात्रामा लम्किए । अलबिदा राजेन्द्रदाजु । हामी तपाईँले छाड्नुभएको शब्द सिर्जनामा तपाईँको न्यास्रो मेटाउने छौँ ।

प्रतिक्रिया दिनुहोस्