काठमाडौं । गैरआवशीय नेपालीहरूले लगानी गरेको पाँचतारे टाइगर प्यालेस होटल खरिद प्रकरण विवादमा परेको छ । लामो समयदेखि विवादमा रहेको भैरहवास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस खरिद बिक्री शंस्कास्पद देखिएको हो । यसलाई सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्नेगरी शेयर विक्री वितरण गरेको र त्यसमा प्रयोग भएको लगानी अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको स्रोतले बताएको छ ।
विभागले प्रहरी प्रधानकार्यालयलाई भदौ १५ मा पत्र पठाई सरकारी सम्पत्ति शुद्धीकरण ऐन २०७४ को दफा २५ को उपदफा १ बमोजिम कारवाही लागि पठाइएको जानकारी गराएको थियो । विभागले होटलको भौतिक संरचना सरकारी जग्गामा बनेको र बैंकबाट कर्जासमेत लिएको देखिएकाले आवश्यक कारवाही गरी सम्पत्ति शुद्धीकरण विभागमा पठाउन पनि प्रहरीलाई आग्रह गरेको छ ।
टाइगर प्यालेस विवादसम्बन्धी विषय अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसको खरिद बिक्री भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो । टाइगर वानमा गरिएको सम्पूर्ण लगानी अवैध हो भन्ने निवेदन परेपछि विभागले सम्पत्ति शुद्धीकरण ऐन अन्र्तगत अनुसन्धान थालेको हो ।
सार्वजनिक जग्गा हडपेर विभिन्न संरचना निर्माण गरेको र त्यसमा रहेका विभिन्न ४१ कित्ता जग्गा मध्ये ७८ नं कित्ताको जग्गा सरकारी परेको त्यही कित्ता देखाएर प्राइम बैकबाट ऋण समेत लिएकाले सो विषयमा पनि अनुसन्धान गर्न प्रहरी प्रधानकार्यालयालई पत्रचार गरिएको छ ।
स्रोतका अनुसार विभिन्न उपकरण र प्रविधिहरु विदेशबाट ल्याउँदा परल मूल्यभन्दा दश गुणा बढीसम्म बढाएर सामान ल्याएको उजुरी पनि विभागमा परेको त्यसउपर पनि छानबिन भैरहेको छ । टाइगर रिसोर्ट अष्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले सञ्चालन गरेको थियो । यसको कार्यालय हङकङमा समेत रहेकाले सम्पत्ति शुद्धीकरण विभागले हङकङमा समेत खरिदबारे जानकारी लिइरहेको स्रोतले बताएको छ ।
एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य र एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको टिमले संयुक्त रुपमा उक्त रिसोर्ट खरिद गरेका छन् । यो टिमले युरोपमा शून्य लागतमा नयाँ भेञ्चरसमेत खडा गरेर हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकको नाममा सबै शेयर गरिद गरेका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार बाहिरबाटै खरिद बिक्री प्रक्रिया टुंग्याउँदा करमा भने ठूलै नोक्सानी देशले बेहोरेकाले पनि अनुसन्धान गर्नु परेको हो । पुँजीकर लाभकर तिर्नुपर्ने भए पनि नतिरीकनै यो विषय टुंगो लगाइएको छ । विदेशी लगानीको कम्पनी विदेशमै खरिद बिक्री गर्न पाइन्छ । तर, खरिद बिक्री गर्दा पारदर्शी भएन भने नेपालको कानुन आकर्षित हुने भएकाले विभागले अनुसन्धान शुरु गरी प्रहरीलाई पनि अनुसन्धानका लागि सहयोग मागेको स्रोतले बताएको छ ।
हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले सञ्चालन गरेको रिसोर्ट आचार्य र सुवेदीसहित हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले टिमले खरिद गरेको हो । एनआरएनएका सदस्यहरूको समूहले बाहिर कम्पनी खडा गरेर नेपाल बाहिर नै डिल गरेका थिए ।
सो होटल आफूहरूले खरिद गरेको भन्दै साउन ३२ मै पत्रकार सम्मेलन गरेर हिमालयन टाइगर इन्भेस्टमेन्ट इंक कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिएका थिए । १४ जुलाई २०२३ मा १५ मिलियन अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ)मा सबै सेयर खरिद बिक्री गरिएको थियो ।