काठमाडौं । प्रधानमन्त्री देशबाहिर भएको बेला गुप्तचर विभाग प्रमुखले पनि देश छाडने तयारीमा छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बुधबार काठमाडाँैबाट नयाँ दिल्ली जाने भएका हुन् । कोरिया पुगेर आएका थापालाई ‘रअ’का प्रमुख रवि सिंहले बोलाएपछि त्यता जान लागेका हुन् ।
उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जनाकारी दिएको छ । ‘उहाँ बुधार भारत जाने कार्यक्रम रहेको छ’, विभागका एक अधिकारीले भने । उनका अनुसार थापा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखलाई भेट्न जान लागेका हुन् ।
भदौ ११ गते कोरिया उडेका उनले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको समाचार छ । भारत १२ गते विभागको बार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरिया उडेका थिए । उनी अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय कोरियन टोलीलाई वैशाख १ गते नेपालमा स्वागत गरेका थिए । तर यो विषयलाई गुपचुप राखिएको थियो ।
कोरियन टोलीले गुप्तचर टोलीले त्यतिबेला उनलाई मात्र भेटेको थिएन, प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पनि भेटेर गएको थियो । यो विषय अहिलेसम्म गोप्य नै रहेको छ । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओन नेपाल आएका थिए ।
माओवादीको कोटामा गुप्तचर प्रमुख नियुक्त भएका थापा लामो समय विदेश जाने प्रमुख कर्मचारीमध्ये एक हुन् । गुप्तचर विभागमा रहेका कर्मचारीहरु यसरी लामो समयसम्म विदेश भ्रमण गर्नुलाई निको मानिदैन । मुलुकका विभिन्न भागमा रहेका ३,००० जनशक्तिमध्ये आधा काठमाडौमा खटिएको र उनीहरू राजनीतिक प्रकृतिका सूचना सङ्कलनमा केन्द्रित रहेको कारण अन्य सूचना संकलनमा कमजोर हुँदै आएका छन् ।
विभागले आन्तरिक गुप्तचरी मात्रै गर्ने गर्छ । नेपालको छुट्टै बाह्य गुप्तचर निकाय छैन । प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागलाई नेपालमा हुने विदेशी चलखेलको नियन्त्रण र सीमा सुरक्षाजस्ता विषयमा गुप्तचरी सूचना संकलनमा अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा प्रमुख नै विदेश भ्रमणमा दौडिरहेका हुन्छन ।