काठमाडौं । लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राइज क्यापिटल लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा प्रस्तुत प्रस्तावमा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गर्नुका साथै आव २०८०/८१ को लेखापरीक्षण सम्पन्न गर्न लेखापरीक्षकको नियुक्ति विशेष साधारणसभाबाट गर्ने निर्णयसमेत गरेको छ ।
क्यापिटलले साधारणसभाबाट आव २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको जानकारी दिएको छ ।
कम्पनीले इन्भेष्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकामा हालको मितिसम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेको र उक्त म्युचुअल फण्डमध्ये सन्राइज फस्र्ट म्युचुअलले आफ्नो चौथो सञ्चालन वर्षसम्म ८५ प्रतिशत (करसहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको जनाएको छ । साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत २०० भन्दा बढी ग्राहकको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको जनाएको छ ।
साधारणसभाले विशेष प्रस्तावका रुपमा रहेको सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटल लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।