काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।
गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा अथिति पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संगठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्चअधिकारीको उपस्थिति रहेको थियो ।
नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिलको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले गोठगाउँमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनका लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडिटोरियम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । बैंकको हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको जनाइएको छ ।