Logo
Logo

कांग्रेस आपसी सहमति जुटाउन प्रयासरत, देउवा निवासमा नेताको भेला


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० माघ । नेपाली काग्रेसको १४औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरु आपसी छलफल जुटेका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा शुक्रबार बिहानदेखि छलफल भइरहेको छ ।
शीर्ष नेताहरुबीचको आज शुक्रबारको छलफलले गत ११ पुसमा पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ ।
बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको बताइएको छ । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए । साथै बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुंगो लगाउने गरी सकारात्मक छलफल भएको थियो ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवा जनाएका छन् ।
कांग्रेसमा गत ११ पुसमा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो । सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्