भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) को टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको चेक जाँचका क्रममा स्रोत नखुलेको १० लाख भारु बरामद भएको हो ।
तीन जनामध्ये एक जनाको साथबाट ९ लाख र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए । बरामद गरिएको सबै पाँच सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।