काठमाडौं । व्यापारी र उद्योगपतिहरूको सहरको रुपमा चिनिएको कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा करोडौंको अवैध जुवा खेल सञ्चालन हुँदै आएको स्थानीयले दृष्टिलाई बताएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोला र मोरङ जिल्ला प्रहरीका कार्यालयका प्रमुख एसपी प्रमुख दीपक पोखरेल दुवैले उक्त घटनामा आँखा चिम्लिएर बसेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा अवैधरूपमा सञ्चालन भएको जुवाका कारण पूरै गाउँ नै प्रभावित हुँदा पनि प्रहरीले रहस्यमय मौनता साँधेको छ । ‘कोशी प्रदेशकै डिआइजी बाँस्तोला र एसपी दुवैले त्यस क्षेत्रमा प्रहरी पठाए पनि निगरानीमात्रै राख्ने गरेको र जुवाडेहरूलाई पक्राउ नगरी छुट दिने गरेका छन्’, गाउँलेले दृष्टिसँग भने ।
कोशी प्रदेशमा रहेका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारीसमेतका ठाउँबाट जुवाडे बोलाएर अवैध जुवा सञ्चालन हुँदासमेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेपछि उक्त जुवाको सञ्जाल व्यापक भएको स्रोतको दाबी छ ।
स्थानीय गाउँलेहरुले जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालय दुवैमा गुनासो गरेको, सुराकी दिएका थिए । तर दशै नजिक आएकाले प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको सट्टा संरक्षण गर्न थालेको स्थानीयले गुनासो गरेका छन् ।
जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक किमीको फरकमा तथा सीमामा इलाका प्रहरी कार्यालय रंगेली हुँदासमेत प्रहरीले अनदेखा गर्दै हिँड्ने गरेका छन् । केही महिना अगाडि उक्त जुवाखालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही जुवाडे खेलाडी प्रहरीले नियन्त्रणमा लिएर गएपछि उक्त जुवा केही दिन बन्द भएको थियो । तर, फेरि प्रहरी सेटिङमा सञ्चालनमा आएको बताइएको छ ।
मोरङको संसदीय निर्वाचन क्षेत्र ४ बाट निर्वाचित माओवादी सांसद एवं निवर्तमानमन्त्री अमनलाल मोदीदेखि जिल्ला प्रहरी मोरङ र कोशी प्रदेश प्रहरीसँग जुवाडेले सेटिङ गरेको स्रोतले जनाएको छ । ‘व्यापारीहरुले त्यहाँ मिनी क्यासिनोको रुपमा सेटिङअनुसार नै खुलेयाम दैनिक लाखौं–करोडौंको जुवा सञ्चालन गरिरहेका छन्’, स्थानीय गाउँलेले भने । महानगरभन्दा करिब १० किमीको फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने गरेका छन् । ‘लामो समयदेखि सञ्चालन हुँदै आएका जुवाखालमा विराटनगरका व्यापारिक समुदायदेखि छिमेकी जिल्लाबाट आउने खेलाडीहरुसमेत पुग्ने गरेको छन्’, स्रोतले भन्यो ।
जिल्ला प्रहरी कार्यालय मोरङले थाह पाएको भएपनि संरक्षण गरेपछि उनीहरु प्रहरी प्रधान कार्यालयलाई उजुरी गर्ने तयारी गरेका छन् । ‘महँगा गाडी चढेर आउने व्यक्तिहरु नै त्यहाँका ग्राहक हुन्’, एक स्थानीयले भने । स्थानीय बासिन्दाले अनुसार ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकास गच्छेदार नै प्रहरीलाई सेटिङ गरेर आफ्नै पहलमा जुवा खेलाउन लागिपरेको आरोप समेत लगाएका छन् ।