Logo
Logo

घाम लागे पनि किन चिसो बढ्दैछ ? (यसो भन्छन् मौसमविद)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० माघ । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागेपनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि घाम लाग्दै आएको छ । तर, बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।
अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताए । उनले चिसो बढेपनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताए ।
राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
महाशाखाले तराईको हुस्सु÷शीतलहरसम्बन्धी शुक्रबार बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्