सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना भएको बताएका छन् । अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको बताए । पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने बताउँदै उनले जनअधिकार स्थापित गर्न आवश्यक परे सरकारलाई दबाब दिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।
समाजवादी प्रेस संगठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट आदर्शमा जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता हुने बताए । समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा लोकतान्त्रिक मिडियाको सहयोगको अपेक्षा गरेका छन् ।
कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा राम्रो सम्भावना रहेकाले त्यस क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । मुलुकमा औद्योगीकरण गर्न लगानीको खाँचो औँल्याउँदै अध्यक्ष नेपालले त्यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो ।
अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए । अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्नुपर्ने बताए ।