संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगन्जका युवा चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगेका तरुण दलका नेता योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको कुराले गणतन्त्रको हुर्मत लिने काम भएको छ ।
कानुनराजमा न्यायालयको निर्णय कसैले उल्ट्याउने कुराको कल्पनासम्म गर्न सकिन्न । तर, गणतन्त्र नेपालमा पटक–पटक यस्ता घटना दोहोरिनुले गणतन्त्रप्रति आम नागरिकको वितृष्णा बढ्दो छ ।
राष्ट्रपति संविधानको पालक हो । संविधानको पालना गर्ने संस्थाबाटै हत्या अभियोगमा जेल सजाय भोगिरहेका अपराधीहरुको कैद मिनाहा गरिनु भनेको राष्ट्रपतिबाटै संविधानको उल्लंघन हुनु हो । यस्ता घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन ।
त्यस्तै कारणले संविधानको विरुद्ध सार्वभौम संसद्मा समेत विरोध हुँदै आइरहेको छ । सडकमा राजा आउ देश बचाउको नारा सुनिदैछ । प्रदेश खारेजीको माग जोडदाररुपमा उठ्दै छ । धर्मका आडमा राजनीति गर्नेहरुले हिन्दू धर्म पुनःस्थापनाको माग गरिरहेका छन् । धार्मिक द्वन्द्वको खतरा बढ्दो छ । यस्तो पृष्ठभूमिमा हत्या अभियोगमा जेल सजाय पाएका अपराधीलाई राष्ट्रपतिबाट आममाफी हुनुले संविधान विरोधीहरुलाई मलजल गर्ने काम भइरहेको छ ।
राष्ट्रपति संविधानको पालक हो । संविधानको पालना गर्ने संस्थाबाटै हत्या अभियोगमा जेल सजाय भोगिरहेका अपराधीहरुको कैद मिनाहा गरिनु राष्ट्रपतिबाटै संविधानको उल्लंघन हुनु हो । यस्ता घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन ।
संविधान दिवसका दिन शीतलनिवासमा राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा स्वयं राष्ट्रपतिले व्यक्तिको कमजोरीलाई व्यवस्थाको कमजोरी ठान्न नहुने बताएका थिए । राष्ट्रपति व्यक्ति होइनन्, संस्था हो । गणतन्त्र नेपालका राष्ट्रपतिबाटै यस्तो अक्षम्य गल्ती हुन्छ भने त्यसको असर व्यवस्थामाथि पर्छ ।
सामान्य नागरिकको हकमा यो कुरा ठीकै जस्तो लागे पनि राष्ट्रपति स्वयंबाट भएको यस्तो अक्षम्य गल्तीलाई ढाकछोप गर्न सकिन्न । शासकहरुको यस्तै गल्तीका कारण शासन र शासकहरु ढलेको इतिहास छ ।
नेपालकै सन्दर्भमा हेर्ने हो भने हिजो पूर्वराजा ज्ञानेन्द्रले एउटा गल्ती गर्दा राजतन्त्र नै समाप्त हुने स्थिति आयो । आज गणतन्त्र नेपालका नवराजाहरुले सयाँै गल्ती गर्दा पनि नागरिक चुप लागेर बस्छन् भन्ने सोच राख्नु हुँदैन ।
संविधान जारी भएको आठ वर्ष बित्दा नबित्दै नागरिकहरुले नयाँ विकल्प खोजी गरिरहेका छन् । पुराना जगमा उभिएका राजनीतिक दल र तिनका नेताहरुको जग हल्लिन थालेको छ ।
काठमाडौं महानगरपालिकाजस्तो ठाउँमा एकजना सामान्य नागरिकले ठूला दललाई धुलो चटाइदिएका छन् । जीवनमा कहिले पनि पार्टी राजनीति नगरेका सञ्चारकर्मीले देशै हल्लाइरहेका छन् । जनसमर्थनबिना नयाँ दलले यसरी देश हल्लाउन सक्दैन । तै पनि पुराना दलले आफूलाई सच्याउँदै जानुपर्नेमा हत्या अभियोगमा जेल परेका अपराधीलाई छोड्नेजस्ता घटनाले कुनै दिन विद्रोह निम्त्याउने छ ।
अहिले देश राजनीतिक मात्र होइन, आर्थिक संकटको चपेटामा परेको छ । स्वयं राजनीतिक दलका नेताहरु राजनीतिक अस्थिरता निम्त्याएर थप भाँडभैलो गर्ने तयारीमा छन् । शिक्षक, चिकित्सक, फुटपाथ व्यापारीलगायत सबै सडक आन्दोलनमा छन् । शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ । पूर्वमा धार्मिक द्वन्द्वको विजारोपण भएको छ ।
गरिखाने वर्गलाई हातमुख जोर्न धौधौ परेको छ । यस्तो अवस्थामा पनि प्रमुख राजनीतिक दल मिलेर समाधानको बाटो पहिल्याउन सकेनन् भने मिसन ०८४को आँधीबेहरीले तिनीहरुलाई कहाँ पुर्याउने हुन्, त्यो समयले बताउँला ।
तर, प्रमुख राजनीतिक दलको विकृति र विसंगतिले जन्माएको नयाँ दल सत्तामा पुग्यो भने त्यसले केही सुधार त गर्ला तर अन्ततः देशलाई अन्त्यहीन द्वन्द्वमा पुर्याउने कुरामा अहिलेदेखि सोच्नुपर्छ ।