काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका हेटौंडा शाखामा कार्यरत निराजन देवकोटाले असोज १५ गते त्रिशूली नदीमा हाम्फालेर ‘आत्महत्या’ गरेको भन्ने विभिन्न मिडियामा समाचार आएको छ ।
धादिङको घाटबेँसी पुलमा उनको मोटरसाइकल, हेलमेट र जुत्ता फेला परेको आधारमा उनले पुलबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । तर अहिलेसम्म देवकोटाको शव नभेटिएको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार गोताखोरहरुले उनको खोजी गरिरहेका छन् । प्रहरीले ड्रोनसमेत प्रयोग गरेर त्रिशूली नदी किनारमा उनको खोजी गरिरहेको छ । देवकोटा बेपत्ता भएको सूचना पाउनासाथ उनको खोजी गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रहरीलाई जानकारी गराएको थियो ।
बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डेका अनुसार बैंकले उनीमाथि कुनै पनि प्रकारको मानसिक दबाब नदिएको बताएका छन् । तर, सामाजिक सञ्जालमा बैंकविरुद्ध जथाभावी समाचार सम्प्रेषण भएबाट बैंक दुःखी बनेको छ । केही सञ्चारमाध्यमले यस्तो संवेदनशील विषयलाई अतिरञ्जित गरेको आरोप बैंकको छ ।