Logo
Logo

दुर्घटनामा चालकको मृत्यु, १० घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुली, १२ माघ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको ढुङ्ग्रेभञ्ज्याङमा आज माइक्रोबस (हायस) दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन रहेका छन् । मोहन सवारीधनी र सवारी चालक आफैँ रहेका थिए ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । दुर्घटनामा दुई महिला र आठ पुरुष गरी १० घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र सिन्धुली अस्पतालमा उपचार भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

झापाबाट काठमाडाँै जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस कमलामाई नगरपालिकाको–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो । उक्त माइक्रोबसमा ११ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

बिपी राजमार्गको पिपलभञ्ज्याङदेखि खनियाखर्कसम्म बाक्लो हुस्सु लाग्ने हुँदा नागबेली धुम्ती सडकमा दुर्घटनाको जोखिम रहेको अवस्थामा पनि तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

साथै उक्त स्थानमा विशेषगरी बिहान बेलुका बाक्लो हुस्सु लाग्ने हुँदा सवारी चालकलाई अगाडि आएको सवारी देख्न तथा सडकको यकिन गर्न समस्या हुने हुँदा विशेष सावधानी अपनाउन प्रहरी नायब उपरीक्षक खत्रीले सवारी चालकलाई आग्रह गर्नुभएको छ । सानो गल्तीले धनजनको क्षति हुने भन्दै घुम्ती सडक र हुस्सुका कारण तीव्रगतिमा सवारी नचलाउन चालकलाई उहाँको विशेष आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्