नयाँदिल्ली । पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ । हमासले शनिबार बिहान देखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ ।
पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ ।
एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको एयर इन्डियाका प्रवक्ताले बताएको छ । कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।
टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुँदै आएका छन्। पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।