Logo
Logo

विश्व लगानीकर्ता सप्ताह–२०२३ मा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन


252
Shares

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक तालिम कार्यक्रम कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरुका लागि, प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुखसहित कर्मचारीहरुको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो, जसमा बिरेठाटीमा करीब १२० जना सर्वसाधारणहरु, प्रभु बैक लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवावर्गको सहभागिता भएको थियो ।

यो तालिम कार्यक्रम यही २०८० असोज २० गते शनिबार तथा २०८० असोज २१ गते आइतबारका दिन सम्पन्न गरिएको हो । उक्त तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकरप्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेको सहभागिता थियो भने उक्त कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले गरेका थिए । प्रभु क्यापिटलको कोष व्यवस्थापनका स्किम म्यानेजर सौगात पन्तले लगानीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।

प्रशिक्षणमा धितोपत्र बोर्डका निर्देशक रिमालले धितोपत्र बोर्डको स्थापनादेखि हालसम्मको जानकारी, शेयर बजार, प्राथमिक तथा दोश्रो बजारसम्बन्धी आधारभुत कुराहरु, नियमाक निकायको शेयर सम्बन्धी धारणा, शेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाइटमार्फत गुनासोको व्यवस्था रहेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत न्यौपानेले आस्बा, सिआस्बा, मेरो शेयर एप सम्बन्धी जानकारी, आइपिओमा आवेदन गर्दा ध्यान दिनुपर्ने कुरा, इडिआइएस तथा केन्द्रिकृत केवाइसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, शेयर लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्नेजस्ता विषयमा प्रकाश पारेका थिए ।

त्यसैगरी प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजनाहरुको योजना व्यवस्थापक पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटेका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरुले वर्तमान शेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताहको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रियस्तरमा शेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्