काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालीनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात नीलकण्ठ नपामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धतासहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ ।
सोही अवसरमा प्रशासकीय अधिकृत सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाइ तथा दिदीबहिनीको पशुपन्छी, बालिनालीको बीमापश्चात सम्पत्तिको हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालनलयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै यसमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
आइजीआई प्रुडेन्सियल र नीलकण्ठ नपाले नगरवासीलगायत नगरभित्रका कृषकको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकामा नगरवासीलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा नगरप्रमुख, प्रशासकीय अधिकृत सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने भएकाले ढुक्क भएर सेवा लिन कम्पनीले आह्वान गरेको छ ।