Logo
Logo

हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव


8.4k
Shares

एजेन्सी । दक्षिणी इजरायलको मरुभूमिको एक संगीत महोत्सवमा हमासले आक्रमण गर्दा कम्तिमा २६० जनाको मृत्यु भएको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका हुन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।

इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

संगीत महोत्सवमा शुक्रबार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो ।

गोलीबाट बच्न मानिसहरू खुल्ला स्थानमा कुदिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महोत्सवबाट थुप्रै व्यक्तिहरूलाई अपहरण गरेर हमास लडाकुले बन्धक बनाएका छन् ।

महोत्सव स्थल किबुट्ज रेइम नजिकैको नेगेभ मरुभूमिमा थियो । बार र फुडसहितका तीन मञ्च थिए । यो ठाउँ गाजाबाट त्यति टाढा छैन, जहाँबाट हमास लडाकुहरु एकाबिहानै इजरायल छिरेका थिए ।

ओर्टेलजस्ता संगीत महोत्सवमा पुग्ने धेरैले सेनाले उद्धार गर्ने आशामा घण्टौंसम्म झाडी र फलफूल बगैंचामा लुकेर ज्यान जोगाएका थिए ।

स्थानीय सञ्चारमाध्यमको पछिल्लो तथ्यांकअनुसार आक्रमण सुरु भएदेखि कम्तीमा एक हजार इजरायली मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्