काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० करोडको हाराहारीमा परामर्श सेवामा अनियमितता गरेको आरोपका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।
पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर शीर्षकमा मात्र १६ करोड ५० लाख रुपैयाँ राखेर अरु विभिन्न गरी प्रोभिजनल सममा नै १९ करोड ५० लाख अर्थात आधा रकम राखेर उनले चलखेल गरेको उजुरी र पोखरा विमानस्थलमा निर्माणमा चिनिया ठेकेदार मार्फत भएको अनियमिततालाई जोडेर अख्तियारले अनुसन्धान शुरु गरेको हो ।
उनी महानिर्देशक हुनअघि नै परेको उजुरीको आधारमा अनुसन्धान शुरु भएको हो । अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरीको चाङ रहेका प्राधिकरणका निर्देशक (११ औं तह) प्रदीप अधिकारी, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, तत्कालीन सचिव महेश्वर न्यौपाने लगायतलाई रिझाएर महानिर्देशक बनेका थिए ।
वरिष्ठताका आधारमा उनीभन्दा अगाडि प्रतापबाबु तिवारी, भोलाप्रसाद गुरागाईंलगायत दाबेदार भएपनि अधिकारीले मन्त्री, सचिव र शक्ति केन्द्रहरूलाई रिझाएर पद हत्याएका थिए । उनै अधिकारीलाई अहिले अख्तियारले बयान लिइरहेको छ । पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न भएको र त्यसअघि परामर्शदाता छनोटको विषयलाई लिएर उनीमाथि बयान शुरु भएको हो ।
त्यतिबेला प्राधिकरणको नेतृत्व हत्याउन मन्त्री, सचिवदेखि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनालको घरसम्म पुगेका थिए । पुरानो अखिलमा काम गरेको साइनो जोड्दै उनले प्राधिकरणको महानिर्देशक हत्याएका थिए । त्यतिमात्र नभएर उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भूषण राणामार्फत पनि लविङ गरेका थिए ।
अख्तियारले अनुसन्धान गर्नेक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानूनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी फेला पारेको छ ।
अधिकारीविरुद्ध अख्तियारमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विभागमा गैरकानूनी सम्पत्ति छानबिनको उजुरी रहेको छ । निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीभन्दा पहिले छुट्टाछुट्टै आयोजना प्रमुख रहने गर्थे । तर, शक्ति केन्द्रको आडमा उनी तीनवटै आयोजनाको एकीकृत संगठन बनाई आयोजना प्रमुख बनेका थिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै दोस्रो टर्मिनल भवनको लागत घटाउन प्राविधिक टोलीले सुझाव दिए रकम बढाउन चलखेल गरेको उनीमाथि उजुरी रहेको छ । एसियाली विकास बैंकले ७ अर्ब लगानी गर्ने तथा ३ अर्ब नेपाल सरकारले लगानी गरेर कुल १० अर्ब रुपैयाँको लागतमा दोस्रो टर्मिनल भवन बनाउने डिजाइनसहित इस्टिमेट गरिएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० करोडको हाराहारीमा परामर्श सेवामा पनि उनले अनियमितता गरेका थिए । पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर शीर्षकमा मात्र १६ करोड ५० लाख रुपैयाँ राखेर अरु विभिन्न गरी प्रोभिजनल सममा नै १९ करोड ५० लाख अर्थात आधा रकम राखेर उनले चलखेल गरेको स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, ट्याक्सी वे निर्माणसहितको कामका लागि ९ अर्ब २० करोड रुपैयाँमा दिइएको उक्त ठेक्कामा पनि उनको सेटिङ रहेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनले सेटिङ गरेको ठेक्कामा चाइना नेशनल इन्जिनियरिङ कर्पोरेसन र चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनलाई मात्र पास गराइएको थियो ।
प्राविधिक प्रस्तावमा पास गराइएका ती दुई कम्पनीमध्ये कम दरमा प्रस्ताव गरेको चाइना नेशनल इन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का दिइएको थियो ।