काठमाडौं । युद्धग्रस्त इजरायलको सुरक्षित भनिएको तेल अभिभ सहरमा पनि विस्फोटको भयानक आवाज सुनिएको छ ।
सीएनएनका अनुसार इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले रकेटहरू रोकिरहँदा र गाजा स्ट्रिपमा इजरायली सेनाले हमलाहरू गर्न थालेपछि एकपछि अर्को, शहरभरि विस्फोटका आवाजहरु सुनिन थालेको हो ।
विस्फोटको आवाजले सहरका मानिसहरु थप त्रसित बनेको पनि सीएनएनले जनाएको छ । शनिबार आक्रमण भएको सीमा क्षेत्रबाट ६० किलोमिटर दूरीमा रहेको सहरमा पनि विस्फोटको आवाज सुनिएको हो ।
यद्पि सहरमा विस्फोट भए–नभएको बारे भने यकिन हुन सकेको छैन । इजरायलको सरकारले सोमबार गाजालाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको छ ।
हमासले इजरायलतर्फ रकेटहरू प्रहार गरिरहेको छ भने इजरायलले पनि गाजा क्षेत्रमा हमलाहरु थालेको छ । हमास समूहको आक्रमणमा इजरायलमा विभिन्न मुलुकका नागरिकसहित ७०० जनाको मृत्यु भएको छ भने गाजा क्षेत्रमा ५०० को मृत्यु भएको बताइएको छ ।
उक्त आक्रमणमा १० जना नेपालीको पनि मृत्यु भएको छ । लगातार इजरायली हवाई हमलाका कारण गाजाको बेइट हानौन इलाकामा रहेको एक मात्र अस्पताल भरिएको गाजामा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।