काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा यतिबेला बेलायतको औपचारिक भ्रमणमा छन् । उनी बेलायत भ्रमणमा जाँदै गर्दा भावी प्रधानसेनापति को हुने भन्ने अन्योल उत्पन्न भएको छ । प्रधानसेनापति भएपछि भारत र अमेरिकाको औपचारिक भ्रमण गरिसकेका उनी बेलायतको ६ दिने भ्रमण सकेर नेपाल फर्केपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्ने तयारी छ ।
उनको यो व्यवस्तताले सेनामा उनीपछि को प्रधानसेनापति हुने भन्ने अन्योल उत्पन्न भएको हो । शर्मा ०८१ भदौमा अवकाश हुँदैछन् । उनीपछि रहेका सरोजप्रताप राणा पनि १ वर्षे म्याद थप्नै नपाई अर्को हप्तादेखि बिदामा बस्दैछन् । राणापछिका सीताराम खड्कासमेत छिट्टै घर जान लागेकाले ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । राणा बिदामा बसेको या अवकाश भएको १३ दिनभित्र यसबारे निर्णय भएन भने मेजर जर्नेलमै ताराध्वज पनि घर जाने अवस्था भएकाले भावी प्रधानसेनापतिबारे अन्योल सिर्जना भएको हो ।
प्रधानसेनापति शर्मा बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा बेलायत भ्रमणमा निस्केका हुन् । नेपाल र बेलायतको सेनाबीचको सम्बन्ध निकै पुरानो र बलियो रहेको छ । नेपालीहरू बेलायती सेनामा रहेका र उनीहरूले भीभीआईपीहरूकै सुरक्षामा समेत भूमिका निभाउने हुनाले पनि नेपालीप्रति बेलायती बुझाई सकारात्मक र सेनामा पनि त्यो प्रभाव देखिने गरेको छ ।
आठ वर्षअघि भूकम्पको समयमा बेलायती सेनाले आफ्नो चिनुक हेलिकप्टर नेपाल ल्याएर उद्धार कार्यमा लाग्न खोज्दा नेपालले सहमति नदिएपछि सम्बन्धमा केही चिसोपन आएको थियो । यो भ्रमणले सम्बन्ध सुधार हुने नेपाली सेनाले विश्वास लिएको छ ।
उनी २६ असोजमा स्वदेश फर्किने छन् । सेना प्रमुखको रुपमा दुई वर्ष पुरा गरिसकेका शर्माले अब हुने नेपाली सेनाको प्रमुखको लाइन पनि स्पष्ट हुने बताइए पनि चीन भ्रमणको तयारी भएकाले ढिलाई हुने देखिएको छ ।
अघिल्ला सेनापति पूर्णचन्द्र थापाले दुईवर्ष कार्यकाल पूरा गरेकै दिन दिएको भाषणमा को प्रमुख हुने अन्योलता चिरेका थिए । त्यतीबेला नै शर्मा आगामी सेनापति भन्ने स्पष्ट भइसकेको थियो । यद्यपि, जानेबेलामा समय थप्ने लगायतका विषयमा भएको छलफल र तयारी विना कमाण्ड प्रणालीमा लैजाने निर्णयले विवादित बने ।
शर्माले पनि अब्बल ब्यक्तिलाई भावी प्रधानसेनापतिको स्पष्ट संकेत दिएर अघि बढाएकै भएपनि बाहिर सार्वजनिक गरिएको छैन । ‘उहाँको मनमा भएर हुँदैन सेनाभित्र र बाहिर यो विषयमा चासो हुन्छ, त्यसकारण समयमै प्रष्ट पार्नुपर्छ’, स्रोतले भन्यो ।