काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका एसपी प्रमोद भारतीले नातामा दाजु पर्ने मनोज भारतीको गार्मेन्टका लागि कपडा तस्करीलाई सहयोग गरेको खुलेको छ । डिआइजी दीपेन्द्र शाहले गत हप्ता बाहिनीमा तानेर अनुसन्धान गरेपछि एसपी भारती, डिएसपी पवन खड्का र रामहरि खड्काको समेत संलग्नता खुलेको हो ।
भारतीय सिमाना नजिकै रहेको मौकामा दाइको गार्मेन्ट व्यवसायलाई सहयोग पुग्नेगरी अन्य व्यापारीसँग मिलेर कपडा तस्करीलाई साथ दिएको स्रोतले जनाएको छ । सिरहाको माडर बोर्डर नजिकै पोष्टिङ भएका डिएसपी रामहरि खड्कासहितलाई यस प्रकरणमा बर्दिबासस्थित बाहिनीतिर तानिएको छ ।
सशस्त्र प्रहरी बलको टोलीले तस्करीको कपडा छाडेपछि राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त कार्यमा एसपी भारतीका अतिरिक्त यसअघिका डिएसपी पवन खड्काको मुख्य भूमिका रहेको छ । साथै, रामहरि खड्काको पनि संलग्नता रहेको स्रोतले जनाएको छ ।
रामहरि तत्कालीन एआइजी नारायणबाबु थापाका पीए शाखामा कार्यरत थिए । उनी त्यहाँ गएको छोटो सममै तस्करहरुले खुलाएको लाइनमा सहभागी भएको स्रोतको दावी छ । त्यसअघिका डिएसपी पवन खड्काले लाइन खुला गरेकोलाई रामहरिले पनि निरन्तरता दिएको स्रोतको दावी छ । राजश्व अनुसन्धान विभागले माडरबाट करोडौंको कपडा तस्करी हुँदै आएको जनाएको छ ।
तस्करीका सामान गोदाममा राखेर त्यसबीच कागजपत्र मिलाउने गरिएको आरोप लागेको छ । तस्करी गरेर ल्याइएका सामान गोदाममा राखेपछि बल्ल बिल बिजक मिलाउने गरिएको थियो । व्यापारी मनोज भारतीले गोदाम नै खडा गरेर कपडा ल्याउने गरेका थिए । यो कार्यमा सशस्त्रकै एसपी शंकर खनालले समेत साथ दिएको स्रोतको दाबी छ ।
काठमाडौँमा फिटवेल गार्मेन्ट सञ्चालन गरेका मनोजले निर्वाचनमा म्यादी प्रहरीको लुगा सिलाउने कामसमेत गरेको थिए । अहिले गृह मन्त्रालय र मन्त्रीको टिमसँग नजिक रहेका रहेका भारतीले त्यहाँको पनि सोर्स प्रयोग गरेको राजश्व अनुसन्धान विभाग सूत्रले जनाएको छ । भारतीले सशस्त्र प्रहरी बल हेडक्वार्टर, हलचोकको सामुन्ने कपडा पसलसमेत राखेका छन् । पसलमा फिटवेलको ट्याकसुट बेचिन्छ । नयाँ भर्नाका सिपाहीलाई चाहिने लुगा र गेम ड्रेसको जोहो त्यहीँबाट जोहो गरिदै आएको छ ।
एसपी भारतीले ताप्लेजुङमा सरुवा भएका घुमुवा हवलदार रामप्रवेश यादवलाई तस्करहरूसँग सेटिङमा खटाएको स्रोतको दावी छ । एसपी भारतीले सिरहाका भारतसँग सीमा जोडिएका माडर, बरियारपट्टि र बडहरीबाट मियाँ र तस्करीको लाइन सञ्चालन गर्ने गरी मासिक तह अनुसार दररेट तय गरेर तस्करीको लाइन खुलाएको आरोप छ ।