Logo
Logo

म्यानमारमा सीको अर्थपूर्ण भ्रमण


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले हेगमा म्यानमार सरकारलाई रोहिंग्या मुसलमानहरुको नरसंहार गरेवापत दोषी ठह¥याएलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२० को पहिलो विदेश यात्रा म्यानमारबाट शुरु गरेका छन् । यसका साथै भूटानबाहेक भारतसँग सीमा जोडिएका राष्ट्रहरुमा सीले आफ्नो भ्रमण पूरा गरेका छन् । म्यानमारमा सीको यो भ्रमण २० वर्षपछि भएको हो ।

राष्ट्रपति सीले माल्दिभ्स र श्रीलंकाको भ्रमण सन् २०१४, पाकिस्तान २०१५, बंगलादेश २०१६ र २०१९ मा नेपालको भ्रमण गरेका थिए । बेल्ट एण्ड रोड इनिसिएटिभ राष्ट्रपति सीको विदेश नीतिको महत्वपूर्ण अंग हो । यसलाई सिल्क रोड इकोनोमिक बेल्ट र २१औँ शताब्दीको समुद्री सिल्क रोड पनि भनिन्छ । राष्ट्रपति सीले यसलाई सन् २०१३ मा शुरु गरेका थिए ।

बीआरआईको माध्यमबाट चीनको उद्देश्य कमसेकम सत्तरी देशलाई चीनसँग सडक, रेल र पानीजहाजबाट मध्य एशिया, मध्यपूर्व र रुस हुँदै युरोपसँग जोड्ने उद्देश्य हो । चीन यो सबै लगानी र व्यापारको माध्यमबाट गर्न चाहन्छ । बीआरआईको लागि भौगोलिक रुपमा म्यानमार अत्यन्त महत्वपूर्ण ठाउँ हो । म्यानमार दक्षिण एशिया र दक्षिणपूर्व एशियाको बीचमा पर्दछ । म्यानमार चारैतिर जमिनबाट मात्रै घेरिएको चीनको युनान प्रान्त र हिन्द महासागरको बीचमा पर्दछ । यसैकारण चीन–म्यानमार इकोनोमिक करिडोर चीनका लागि व्यापारिक मात्र होइन, रणनीतिक महत्व पनि राख्छ ।

चीन–म्यानमार आर्थिक करिडोर, चीन–पाकिस्तान आर्थिक करिडोर, जसले चीनको सिनजियाङ प्रान्तलाई कराँची हुँदै अरब सागरको ग्वादर बन्दरगाहमा जोड्दछ । त्यस्तै राष्ट्रपति सीको गत वर्ष सम्पन्न भएको भ्रमणताका चीन–नेपाल आर्थिक करिडोर शुरु भएको छ । जसको उद्देश्य चीनको तिब्बतलाई नेपालसँग जोड्नु हो । चीन–नेपाल करिडोर, चीन–पाकिस्तान र चीन–म्यानमार करिडोरको बीचमा पर्दछ ।

राष्ट्रपति सीको म्यानमार भ्रमणताका आधारभूत संरचना निर्माण, रेल, औद्योगिक र ऊर्जासम्बन्धी परियोजना र व्यापार र लगानी बढाउनेबारे तेत्तीस सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसले गर्दा म्यानमारको बाटोबाट हिन्द महासागरमा चीनको पहुँचलाई सुनिश्चित गरेको छ ।

भारत र भूटानबाहेक दक्षिण एशियाका सबै मुलुकहरुले बीआरआईमा आफ्नो सहभागिता जनाइसकेको अवस्थामा दीर्घकालमा बीआरआईमा भारत नजोडिँदा भारतको हितलाई नै असर पर्ने हुनसक्छ । तसर्थ भारतले पनि चीनद्वारा अघि सारिएको बीआरआई परियोजनामा सहभागी भई यस क्षेत्रको विकासमा योगदान दिनु पर्दछ । राष्ट्रपति सीले भनेजस्तै ‘बीआरआई परियोजना सबैले जित्ने (विन विन) परियोजना भएको हुनाले भारतले यसमा अर्घेल्याई नगरिकन सामेल हुनुमै उसको कल्याण छ ।

नेपाल बीआरआईमा जोडिएकोले उत्तरबाट पनि सामुद्रिक पहुँचमा नेपाल पुगेको छ । विगतमा भारतको कोलकातालगायतका बन्दरगाहबाट मात्र आयात निर्यातमा भर पर्नु परेको नेपाल अब चीनको चार ठूला बन्दरगाहबाट जोडिएकोले नेपालको आर्थिक विकासमा यसले ठूलो महत्व राख्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा गर्न चीनसँग गरिएको सम्झौताले दीर्घकालीन महत्व राख्छ । त्यति मात्र होइन, बीआरआईसँग जोडिएका विश्वका धेरै मुलुकसँग पनि नेपालको सम्बन्ध जोडिने भएकोले राष्ट्रपति सीको म्यान्मार भ्रमण र इकोनोमी करिडोरबाट नेपालले पनि फाइदा उठाउन सक्छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि केही महिना अगाडि म्यान्मारको भ्रमण गर्नुभएको थियो । यसबाट दुई देशका बीच सम्बन्धलाई निकट ल्याएको छ ।

twitter:rmshghimire

प्रतिक्रिया दिनुहोस्