काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अनावश्यक हस्तक्षेपका कारण नेपाल प्रहरीमा व्यापक असन्तुष्टि बढेको छ । यसले प्रहरी संगठनमा दीर्घकालीन असर पर्ने विश्लेषण हुन थालेको छ ।
पछिल्लो समय गृहमन्त्री श्रेष्ठले आन्तरिक सरुवाहरूमा समेत व्यापक हस्तक्षेप बढाएका छन् । गृहमन्त्रीको अनुमति नलिई आन्तरिक विभागहरूमा समेत सरुवा गर्ने अवस्था नरहेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला वा ठूला संरचनाहरूको इन्चार्ज तोक्ने सन्दर्भमा सामान्यतया गृहसँग सल्लाह गर्ने प्रचलन रहेको छ । तर, अहिले भने एउटै कार्यालयको एक विभागबाट अर्को विभागमा सरुवा गर्न समेत गृहमन्त्रीले रोक लगाएर अनुमति लिनुपर्ने बनाएका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो– ‘गृहमन्त्रीबाट आन्तरिक सरूवामा समेत व्यापक हस्तक्षेप हुन थालेको छ । एक विभागबाट अर्को विभामा सरुवा गर्ने सन्दर्भमा पनि उहाँले अनुमति माग्नुपर्ने परिस्थिति बनाउनु भएको छ । यसले प्रहरीको कार्यसम्पादनमा असर परेको छ ।’
आन्तरिक सरुवाहरूमा समेत गृहमन्त्रीले नै हस्तक्षेप गर्न थालेपछि विज्ञताका आधारमा गर्नुपर्ने सरुवाहरू समेत प्रभावित हुने गरेको छ । विषय विज्ञ प्रहरीहरूको सरुवा प्रभावित भएपछि प्रहरीको काम नै प्रभावित भएको छ । यसले प्रहरी संगठनमा दीर्घकालीन असर पार्ने एक पूर्व प्रहरी महानिरीक्षक बताउँछन् ।
उनले भने– ‘प्रहरीमा आन्तरिक सरुवा सामान्य हो । आवश्यकता र विज्ञताका आधारमा आन्तरिक सरुवा गर्नुपर्ने हुन्छ । एक विभागबाट अर्को विभागमा सरुवा सामान्य कुरा हो । तर, गृहमन्त्रीले आन्तरिक सरुवाहरूमा पनि हस्तक्षेप गर्नु राम्रो होइन । यसले, प्रहरीको कार्यसम्पादनमा ठूलो असर पर्छ ।’
पछिल्लो समय प्रहरीले राम्रो काम गर्दै आएको छ । विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीले निर्वाह गरेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको छ ।
प्रहरीले राम्रो काम गरेका कारण गृहमन्त्रीको समेत प्रशंसा भइरहेको बेला गृहमन्त्री भने प्रहरीमाथि अनावश्यक हस्तक्षेपमा लागेका हुन् ।
सुरुवाती चरणमा गृहमन्त्रीबाट राम्रो समन्वय भइरहेको बताउँदै आएका प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि पछिल्लो समय गृहमन्त्रीसँग सन्तुष्ट छैनन् । त्यसै गरी, प्रहरीको प्रमुख र महत्त्वपूर्ण निकायहरूको नेतृत्व सम्हालेका एआइजीहरू समेत अनावश्यक हस्तक्षेपका कारण गृहमन्त्रीसँग सन्तुष्ट छैनन् ।
प्रहरी प्रमुख कुँवर भने हाल विदेश भ्रमणमा छन् ।