काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबिच भेटवार्ता भएको छ । बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबिच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट तथा छलफल भएको हो ।
भेटका क्रममा दुई देशका सेना प्रमुखबिच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल, सैनिक सहचारीहरू सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी थिए । यसैगरी, प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गरेका छन् ।
सो क्रममा कलेजका कमान्डेन्ट लेप्टिनेन्ट जनरल (अवकाश) सर जर्ज नर्टनले स्वागत गर्दै कलेजको शैक्षिक अध्यापन र वहुआयामिक पक्षबारे जानकारी गराएका थिए । प्रधान सेनापति शर्माको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासमा पनि एक कार्यक्रम गरिएको छ ।
सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको द्विपक्षीय आर्थिक, सामाजिक र सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाली सेनाबाट विश्व शान्ति स्थापना, दैवी प्रकोप व्यवस्थापन, विकास निर्माण लगायतका क्षेत्रमा स्वदेश र विदेशमा पु¥याएको योगदानका बारेमा पनि राजदूतले चर्चा गरे ।
सो क्रममा प्रधान सेनापति शर्माले नेपाली राजदूतावासमा सैनिक सहचारीको रूपमा कार्यरत महासेनानी रत्न बहादुर गोदारलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्हसमेत प्रदान गरेका छन् ।