Logo
Logo
इतिहास

बिसे नगर्चीको सालिकमाथि पनि उपेक्षा र अपमान


12.2k
Shares

एक ऐतिहासिक पत्र हुन्, गोरखाका बिसे नगर्ची । उनको गाथालाई जनसाधारणमा ल्याउन नाटककार भीमनिधि तिवारीको महत्त्वपूर्ण भूमिका रहेको छ । उनले आफ्नो कृति ‘पाँच ऐतिहासिक एकाङ्की’ (२००८) मा बिसे नगर्चीको बारेमा पनि एउटा नाटक समेटेका छन् ।

यो नाटक पढ्ने दलित उत्पीडित समुदायका प्रवुद्ध ब्यक्तित्त्वहरूले उनको बारेमा खोजी गरेर जीवनी प्रकाशमा ल्याउन देखि उनको अनुहारको काल्पनिक चित्रसमेत तयार पारेपछि बिसे नगर्चीका बारेमा जनमानसमा जानकारी आएको हो ।

लामो समयदेखि छुवाछुत र जातिभेदविरूद्ध सक्रिय तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य टीआर विश्वकर्माले बिसे नगर्चीको जीवनी प्रकाशमा ल्याउन राजनीतिक पहल गरेको देखिन्छ । संगितज्ञ रामशरण दर्नालले प्राज्ञिक रूपमा इतिहासको खोजी गरे भने प्रकाश चित्रकार परियारले कल्पना गरेरै बिसे नगर्चीको मुखाकृति तयार परेका थिए ।

यसै सक्रियताको फलस्वरूप २०४६ साल भदौ १ गते (तत्कालीन मूलुकी ऐन दिवस)मा ‘बिसे नगर्ची’ नामको जीवनमूलक पुस्तिका बजारमा आयो । छुवाछुतविरोधी अभियानका अभियन्ता पदम सुन्दास र प्रकाश दर्नालले यो पुस्तिका प्रकाशनका लागि व्यवस्थापकीय नेतृत्त्व लिएका थिए ।

यो पुस्तिका प्रकाशनपछि एक नाटकको पात्रका रूपमा पढिदै आएको बिसे नगर्ची ऐतिहासिक व्यक्तित्त्व रहेछन् भन्ने स्पष्ट भयो ।

भीमनिधि निवारीको नाटकमा पृथ्वीनारायण शाहले ‘तँ मेरो बुवाको पालादेखि काँठो भोटो गर्ने तँ दमै’ भनेकोले बिसे सम्भवतः नरभूपाल शाहको पालादेखि सक्रिय थिए भन्ने अनुमान गरिएको छ । बिसेसम्बन्धी केही ऐतिहासिक सामग्रीहरू पाइए पनि उनको जन्म र मृत्यू खुल्ने कुनै ऐतिहासिक कागज फेला पर्न सकेको छैन ।

गोरखामा बिसे नगर्चीको शालिक ठड्याउने तर परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको जन्म वि.सं. १७४६ र मृत्यु वि.सं. १८२८ भनी सार्वजनिक रूपमा उल्लेख गरेको पाइन्छ ।

यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छन् । उनी नरभूपाल शाहकै समयमा सक्रिय रहेर पृथ्वीनारायमण शाहभन्दा तीन वर्षअघि नै उनको निधन भएको पनि देखिन्छ । तर परियार समाजले उनको जन्म र मृत्यूको ऐतिहासिक प्र्रमाण कुन स्रोतबाट ल्याएको हो, यो पनि स्पष्ट हुन सकेको छैन ।

बिसेका सन्तानलाई लालमोहर
बिसे नगर्चीको बारेमा लामो समय खोजीमा लागेका पुरातत्त्वविद् प्रकाश दर्नालकाअनुसार बिसे नगर्चीको पुरा नाम सम्भवतः विश्वेश्वर थियो । लालमोहरमा बिसेलाई विस्या भनिएको छ । त्यस बेलाको वा अहिलेकै नेपाली चलनअनुसार पनि छोटो नामले बोलाउन उनलाई बिसे भनियो ।

दरबारमा नगरा बजाउने जिम्मेवारी पाएको सम्मानको सूचक पद हो, नगर्ची । यस्तो जिम्मेवारी बिसेले पाएका थिए । बिसे नगर्ची दमाईभित्रको ‘नौवाग’ थरका हुन् । उनको छोरा दुब्ल्या (दुब्ले) लाई उनको शेषपछि नगरा बजाउने नगर्ची थमौती गरिदिएको वि.सं. १८४६ को लालमोहरबाट थाहा हुन्छ ।

दुब्लेपछि उनको दुई पुस्ताको नाम फेला पर्दैन । त्यसपछिको पाँचौ पुस्तादेखि जगमाने, डम्बरे, चखते, गन (गणेश) र मच्छिन्द्रेसम्मको नाम थाहा भएको छ । मच्छिन्दे्र बिसेका नवौँ पुस्ताका सन्तान हुन् । उनका सन्तानसँग तत्कालीन राजाले दिएका लालमोहर र रूक्काहरू सुरक्षित छन् ।

विसं. १८४६ माघ सुदी १५ मा जारी गरिएको रूक्कामा ‘केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा जमिन उसैको छोरो दुब्ल्यालाई बस्क्यौँ’ भन्ने परेबाट बिसे नगर्चीको छोराले दुब्ल्याले पनि गोरखा दरबारबाट जागिर पाएका थिए भन्ने देखिन्छ ।

बिसे नगर्चीका छोरा दुब्ल्याले जागिर पाएको रूक्का रविन्द्र ढकाल र हरिराम उप्रेतीले ‘ईकान्तिपुर’ (२०७६ पुस २७) गते प्रकाशित गरेका छन् ।

बिसेका सन्तानहरूसँग वि.सं. १८४६, वि.सं.१८७५ र वि.सं. १९०५ गरी काले नगर्चीसम्मको पुस्तालाई तत्कालीन राजा तथा शासकहरूले दिएको कागजहरू सुरक्षित रहेका छन् ।

सालिकको पनि अपमान
गोरखाको गितारडाँडाभन्दा अग्लो भीरमुनि पाखोतिर फर्काएर वि.सं. २०७५ साउन १८ गत प्रतिस्थापन गरियो । कतिसम्म भने उनको सालिक राख्दा उनको परिवारलाई समेत थाहा दिइएन ।

पहिले पर्यटकीय हिसाबले आकर्षक गितारडाँडामा उनको सालिक राख्ने गरी उक्त ठाउँको शिलान्याससमेत गरिएको थियो । तर अहिले पर्यटकीय हिसाबले आकर्षणको केन्द्र नभएको ठाउँमा उनको सालिक राखिएको छ ।

ढकाल र उप्रेतीले उल्लेख गरेअनुसार सालिक वरपर बाख्रा चर्छन्, बालबालिकाहरू खेल्छन् । उनको सालिक कतिसम्म उपेक्षित अवस्थामा छ भने कतिपय स्थानीयहरूले ‘दमाईको चिहान यहाँ राखिदिए’ भनेर सालिकलाई उपेक्षासमेत गर्ने गरेका छन् ।

ऐतिहासिक प्रमाणहरू हेर्दा बिसे नगर्चीलाई तत्कालीन शासक तथा सेनापतिहरूले उनी जिवित रहँदा पनि जातिय हेयले ब्यवहार गरेको पाइन्छ ।

बिसे नगर्चीले लडेका युद्धहरू
बिसे नगर्ची हतियार नै बोकेर हिड्ने योद्धा त थिएनन् । तर उनी युद्धमोर्चाहरूमा पुग्ने गर्थे । उनको जिम्मा नगरा बजाउने हुन्थ्यो । शत्रुपक्षलाई युद्धको हाँक दिएको सङ्केत दिँदा, युद्धको साइत गर्दा वा युद्ध जितिसकेपछि विजयोत्सव मनाउँदा नगरा बजाउने गरिन्थ्यो । यसको नेतृत्त्व भने बिसे नगर्चीले गर्थे ।

बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिह्रानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थियो ।

पृथ्वीनारायणसँगै युद्धमा
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए । पृथ्वीनारायण शाहले सफलता प्राप्त गरेको यो पहिलो युद्ध थियो । आक्रमणका लागि गोरखालीले विभिन्न समूह बनाएका थियो । त्यहाँ बिसे नगर्ची पृथ्वीनारायण शाहले अगुवाई गरेको समूहमा थिए ।

नरभूपाल शाहले वि.सं. १७९२ मा एक पटक नुवाकोटको असफल आक्रमण गरेका थिए । नरभूपाल शाहको निधनपछि पृथ्वीनारायण शाह वि.सं. १७९९ मा २० वर्षको उमेरमा गोरखाका राजा भए । राजा हुनासाथ विराज थापा र महेश्वर पन्थको नेतृत्वमा फौज पठाइ नुवाकोट आक्रमण गरेका थिए । तर गोरखाली फौज त्यसमा पनि सफल भएन । यस असफलताबाट पनि पृथ्वीनारायण शाह निराश भएनन् । अन्ततः वि.सं. १८०१ असोज १५ गतेको युद्धमा नुवाकोट गोरखाको अधीनमा आयो ।

यस युद्धमा चार ठाउँमा मोर्चा बाँधी गोरखालीहरूले नुवाकोट आक्रमण गरेका थिए । तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो भने तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए । यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक रहेको पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ ( सङ्ख्या २१, कात्तिक २०२९ः२७) मा पढ्न पाइन्छ ।

युद्ध गोरखाली पक्षले जित्यो । जीतपछि ब्राह्मणबाट वेद तथा जयघोष भयो । नगरा बज्यो । नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरूलाई सारङ्गी बजाएर मणिराम गाइनेले साथ दिएका थिए ।

बिसे नगर्चीले गोरखा राज्यमा एक सल्लाहकारको पनि भूमिका खेलेका थिए ।

पृथ्वीनारायण शाह एउटा गतिलो काजीको खोजीमा थिए । पहिले उनको आँखा विराज बखतीमाथि परेको थियो । उनले विभिन्न व्यक्तिसँग यसबारेमा परामर्श गर्दा धेरैले कालु पाँडेलाई कज्याई दिँदा राम्रो हुने सल्लाह दिएपछि पृथ्वीनारायण शाहले उनलाई काजी छानेका थिए । गोरखाली भैयाद र थरघरसँग सल्लाह लिदा पृथ्वीनारायण शाहले विस्या दमाई (नगर्ची) सँग पनि सल्लाह गरेका थिए भनी इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१ः१५०)मा उल्लेख गरेका छन् ।

कालु पाँडेलाई कज्याई दिने निर्णय पृथ्वीनारायण शाहले गरेतापनि कालुले सशर्त उक्त पद स्वीकार गरेका थिए । काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागेका थिए । यसै क्रममा कालुले पृथ्वीनारायण शाह समक्ष ‘कजाइ खानु मेरा जियले मात्र होइन मेरा सन्तान दरसन्तानले गादिको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस’ भन्दै आफ्नो दरसन्तानका लागिसमेत जागिरको सुनिश्चितता माग गरेका थिए ।

यस्तो मागउपर बिचार गर्दै पृथ्वीनारायण शाहले ‘गादीको सोझो गरून्ज्याल तेरा सन्तानलाई कजाई नखोस्नु यस बातका साक्षी श्री गुरू गोरखनाथ र श्री काली’ भनी प्रतिवद्धता जनाएका थिए ।

दरबारबाट फर्केपछि कालु उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर ‘मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाऊँ कि नखाऊँ’ भनी सोध्दा सबैले सल्लाह दिए, ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस’ भनेको ऐतिहासिक प्रसङ्ग ‘प्राचीन नेपाल’ (कात्तिक २०२९ः२०)मा पढ्न पाइन्छ ।

बिसे नगर्चीको अपमान
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियान बढ्दै गयो । उनले नुवाकोटपछि भोटसँगको महत्त्वपूर्ण व्यापारिक मार्गमा पर्ने नालदुम वि.सं. १८११ मा हात पारे । यो देखेर पृथ्वीनारायण शाह आफूतिर पनि आइलाग्ने सम्भावना बाइसी चौबिसी राजाहरूले देखे ।

गोरखालाई रोक्नुपर्ने सङ्केत पर्वते राजाले लमजुङलाई दिए । यो खबर नुवाकोटमा रहेका पृथ्वीनारायण शाहसमक्ष पुग्यो । उनले त्यहाँबाट चौतारिया कीर्तिमहोद्दाम शाह, काजी कालु पाँडे, सल्यानी द्वारे, कलै पाँडे, अम्बर पाँडेलगायतको सेनालाई लडाइँका लागि बिदा गरेको इतिहासकार देवीप्रसाद भण्डारीले ‘पूर्णिमा’ (पूर्णाङ्क–६ साउन २०२२ः४६) मा उल्लेख गरेका छन् ।

लमजुङबाटै फुटेर वि.सं. १६१६ मा गोरखा राज्य बनेको हो । त्यसैले लमजुङ र गोरखाबीच इखाइख छँदै थियो । यी दुई राज्य एकअर्कामा खतरा महसुस गर्थे ।

पृथ्वीनारायण शाहले नेपाल (काठमाडौँ उपत्यका) जित्ने मनुसुवा राखेपछि पशुपतिको दर्शन गरेर पाल्पा फर्कंदा गोरखामा बास बसेका बेला उनका मामा उद्योग सेनले ‘नेपाल भनेको भ्यागुता हो । गोरखा भनेको सर्प हो । लमजुङ भनेको गरूढ हो । गरूढका डरले सर्पले भ्यागुता खान सक्दैन । तसर्थ सिमानाका राजासँग घा (मिलाप) हुन सक्दैन भन्छन् । अब लमजुङका राजासित घा बन्दोबस्त नगरी नेपालको इच्छा नराख्नुहोस्’ भनी सल्लाह दिएको बाबुराम आचार्य र योगी नरहरिनाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (२०६१ः३६–३७)मा उल्लेख छ ।

पृथ्वीनारायण शाहले आफू युवराज छँदै नेपालको राजा हुने मनसुवा राखेका थिए र आफ्नो मामाको सल्लाहअनुसार लमजुङसँग सन्धि गरेका थिए । देवीप्रसाद भण्डारीले ‘पूर्णिमा’को पूर्णाङ्क ४ (माघ २०२१ः६१) मा उल्लेख गरेअनुसार ‘एकानि शत्रु मित्र एकानि मित्र’ नामको यो सन्धि वि.सं. १७९६ माघ ११ गते बिहीबार सम्पन्न भएको थियो ।

तर पर्वत र गोरखाबीचको इखाइखले लमजुङ र गोरखाबीच युद्ध भयो । त्यस बेला बाइसी चौबिसी र गोरखासमेत मेहलको रूखमा चीर बाँधी होली गर्थे । त्यस बेला पर्वते राजाले अरू कुनै राजाले एक छते चीर गाड्यो भने सेनासहित पुगी चीर गाड्ने राजालाई जिती चीर च्यातिदिने गर्थे ।

यो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले ‘पर्वते राजाले लौ च्यातोस् त’ भन्दै तीन छते चीर गाडेर होली मनाई युद्धको हाँक दिएका थिए । पर्वते राजाले गोरखाको चीर च्यात्न त चाहे तर बीचमा लमजुङ पर्यो (भण्डारी, माघ २०२१ः४७) ।

अन्ततः गोरखा र लमजुङबीच युद्ध भएरै छाड्यो । सिह्रानचोकको लडाइँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारेलगायतको मृत्यु भयो । वि.सं. १८१२ साउन १४ गते शनिबार भएको यस युद्धमा गोरखालीको जीत भयो । गोरखालीहरूले जीतको हर्षबढाई मनाउँदै शत्रुपक्षको बेइज्जत गरेका थिए । शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सेना अफिसरहरूलाई त्यहाँबाट छिर्न लगाइएको थियो ।

यसबारेमा भाषा वंशावलीमा ‘…लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरू सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौबिसी हटाया । पश्चिम थेग्लाया…’ भन्ने परेको छ (भण्डारी, माघ २०२१ः४६–४७) ।

यस लडाइँमा सल्यानी अम्बर पाँडे, बले द्वारेलगायत धेरै वीरको ज्यान गएको थियो । जीत गोरखालीको भयो र सरदार दलभंजनबाहेक लमजुङको महीधरसमेत अरू सबै चौबिसीलाई गोरखालीहरूले बिसे नगर्चीको धोती टाँगी धोतीमुनि छिराई बेइज्जत गरेका थिए ।

राज्यविस्तार अभियानअन्तर्गत चौबिसी सिह्रानचोकको जीत पृथ्वीनारायण शाहको महत्त्वपूर्ण उपलब्धि थियो । यो उनको तेस्रो जीत थियो । यसअघि उनले नुवाकोट र नालदुमलाई गोरखा अधीनस्थ गरिसकेका थिए । इतिहासका स्रोतहरूमा नुवाकोट र सिह्रानचोकजस्ता प्रारम्भकालीन युद्धमा बिसे नगर्चीको सहभागिता देखिन्छ । यसबाट पनि बिसे नगर्ची एक ऐतिहासिक व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ ।

पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा त्यस्तो ऐतिहासिक सहभागिता जनाउने बिसे नगर्चीको गोरखामा ठडिएको सालिकलाई पायकको जग्गासमेत उपलब्ध गराइएन । अरू त अरू उनको सालिकलाई आज ‘दमाईको चिहान’ भनेर उपेक्षा गरिन्छ ।

सिह्रानचोकको युद्धमा हार्नेलाई छिराउन बिसे नगर्चीको धोती टाँगिएको प्रसङ्ग आउँछ । उपेक्षित जातिको रूपमा रहेर दरबारको सेवा गरिरहेका बिसे नगर्चीको धोती टाँगेर जसरी विजयी पक्षधरले विजयोत्सव मनाए, यसले बिसे नगर्चीको अपमान पनि भइरहेको थियो भन्ने सन्दर्भ पनि आजको दिनमा सम्झनु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्