गोरखा, १७ माघ । गोरखामा टिपरको ठक्करले एक महिलाको मृत्यु भएपछि स्थानीयले दुई दर्जनभन्दा बढी टिपरमा तोडफोड गरेको छन् ।
शुक्रबार बिाहन गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग१ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई आज बिहान पौने सात बजे टिपरले किचेको थियो । तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका थिए । साथै क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटरमा समेत तोडफोड गरिएको छ ।
ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । बाक्लो कुहिरोको कारण बाटो नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले बताए ।