जनकपुरधाम । दशैंको मुखैमा राजश्व अनुसन्धान कार्यालय इटहरीले सिराहाको सीमावर्ती क्षेत्रमा छापा मारेर करिब तीन करोड बराबरको तस्करीको सामान बरामद गरेपछि सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ ।
सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै मिलेर सङ्गठित तस्करीलाई छुट दिएको आशङ्का गरिएको छ । जसमा सशस्त्र प्रहरीका सिराहा एसपी प्रमोद भारतीलाई सशस्त्र मुख्यालय तानेर कारबाही थालिएको छ ।
राजश्वले सिराहाको माडर भन्सार क्षेत्रको विभिन्न स्थानमा लुकाइराखेको तस्करीको सामान बरामद गरे पनि तस्करलाई भने समाउन सकेन् । उक्त तस्करलाई उम्काउन प्रहरीकै संलग्नता रहेको स्रोतको दाबी छ । जसको भूमिकालाई सन्देहपूर्ण मानिएको छ ।
असोज १७ गते बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया र अमलेखगन्जबाट प्रहरीले तस्करीको सामान बोकेर वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र ना ८ ख ४८४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
बिलबिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसक्दा करिब १ करोड ४२ लाख रुपैयाँ मूल्यांकनसहित कारबाही अघि बढाइएको छ । तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा प्रहरीको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बन्दा तस्करी बढेको स्थानीयको भनाइ छ ।
पर्साको वीरगन्ज भन्सारको पछाडिको बाटो प्रयोग गरी लत्ताकपडा, काजु, जुता, चप्पलको तस्करी ४ जनाको समूहले पाएको छ । वीरगन्जको छपकैया र श्रीसियाबाट काजु, पटका र लत्ताकपडाको लाइन ठूलो मात्रामा सशस्त्र प्रहरीको घुमुवाहरूमार्फत सुचारु भएको छ ।
त्यसैगरी अमरपर्टीबाट कबाड भारत पुर्याउने र कबाड पुर्याउन प्रयोग गरिएको पिकअपमा लत्ताकपडा र काजुको तस्करी हुँदै आएको छ ।
प्रसौनी र सबैठवाबाट धान, गहुँ, काजु, भैँसी, पटका साथै भिस्वाबाट चाइनिज स्याऊ, लत्ताकपडा, हाडयेवर, हुन्डी कारोबार, कबाडको ठूलो मात्रामा तस्करी भइरहेको छ । त्यस्तै जानकीटोला, महादेवपर्टी र स्वर्णपूरबाट पनि प्रहरीको घुमुवामार्फत सञ्चालनमा आएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक किसान कर्मचार्याले दुई जना घुमुवा परिचालन गरेर तस्करीको लाइन खुलाएको स्रोतको दाबी छ ।
रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व हुने गरेको स्थानीय बताउँछन् । उक्त नाकाबाट कपडा र मोटरपार्ट्स लगायतका सामान भित्रिने गरेको छ ।
मधेस प्रदेश सप्तरीको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ । यहाँका विभिन्न नाकाबाट मटर, मरीच, मदिरा, छोकडा, स्याउसहितका सामग्रीको तस्करी फस्टाएको छ । भारतबाट चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य सामग्री तस्करी व्यापक छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक हुने गरेको छ । पछिल्लो समय सुन, सुपारी, स्याउ, मटर, मरीच र मदिराको पनि तस्करी हुँदै आएको छ । स्याउ, सुन, सुपारी र मदिराको तस्करीको लागि पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही नाका सुरक्षित नाका मानिन्छ ।
त्यसैगरी सिराहाको माड्र, ठाढी, बरियारपट्टी, झाझपट्टी, माडर, चतरी नाका पनि तस्करका लागि स्वर्ग बनेको छ । माड्र नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्ष्मिनीया र ठाढी नाका अन्तर्गत झाझपट्टी, ठाढी र अभयनगरबाट धेरै तस्करी हुने गरेको छ । यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् ।
धनुषाको जटही नाका पनि तस्करका लागि उर्वर भएको छ । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काको मिलेमतोमा तस्करीको लाइन खुलाउन लागिएको छ । विवादित एसपीको रूपमा परिचित खड्कालाई गृहमन्त्रालयले समेत त्यही राखेर तस्करीको लाइन खुलाउन सहयोग गरिरहेको छ ।
यता, महोत्तरीबाट विषेशगरी कुखुरा र कुखुराको मासु तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा र सुर्तीजन्य पदार्थको पनि तस्करी हुने गरेको छ । नेपालतर्फबाट भने मदिरा, चाइनिज स्याउ र सुपारी तस्करी हुने गरेको पाइन्छ ।
रौतहटमा पनि प्रहरीकै सहयोगमा तस्करी हुने गरेको छ । माधव रेग्मीका घुमुवाले नरकटिया र बंकुलको बिचमा पर्ने वशिष्ट चौक नाकाबाट तस्करीलाई सहयोग गरिरहेका छन् ।
बारामा भने सशस्त्रका एसपी टोपबहादुर डाँगी आफै नाकामा घुमेर बीओपी प्रमुखलाई राती राती होटलमा बोलाएर तस्करीको लाइन खुलाउन व्यस्त रहेका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा त्यहाँ तस्कर राज चलेको स्थानीयले बताउने गरेका छन् ।
सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् । धनुषा, महोत्तरी, सप्तरी, सिराहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करी बढ्दा राजश्वसमेत कम उठिरहेको छ ।
सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ ।
यी नाकाबाट मदिरा, स्याउ, मरीच, मटर, सुन, छोकडा भारत तस्करी हुने र भारतबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस तस्करी हुने गरेको छ । तस्करलाई आफ्नो लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ ।
प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोसाकका प्रहरीले सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउने गरेका छन् ।
तस्करीकै कारण वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको २ महिनामा राजस्व सङ्कलन निराशाजनक देखिएको छ । भदौ र असोज चाडपर्वको महिना भएकाले साउनको तुलनामा यी दुई महिनामा राजस्व सङ्कलन अधिक हुने गर्छ ।
आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनाको राजस्व सङ्कलन लक्ष्यको ७५ दशमलव ९३ प्रतिशत छ । भदौ महिनामा लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालय पर्साले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड रुपैयाँ सङ्कलन भएको छ । भदौ महिनामा १९ अर्ब ३८ करोड लक्ष्य रहेकोमा जम्मा १२ अर्ब ६६ करोड मात्र राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष राजस्व सङ्कलनको लक्ष्य २ खर्ब ६० अर्ब रहेकोमा १ खर्ब ५७ अर्बमात्रै सङ्कलन भएको थियो । वीरगन्ज भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ५१ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यता, जनकपुर भन्सार कार्यालयले गत्त वर्ष लक्ष्यको ६६ प्रतिशत राजश्व सङ्कलन भएको जनाएको छ ।
जलेश्वर भन्सार कार्यालय, मलिबारा, महोत्तरीका अनुसार गत्त वर्ष लक्ष्यको ७७ प्रतिशत राजश्व सङ्कलन भएको छ ।
सिराहा भन्सार कार्यालय माडरका अनुसार गत्त वर्ष लक्ष्यको ४७ प्रतिशत कम राजश्व सङ्कलन भएको छ । भन्सार कार्यालयले गत्त वर्ष (२०७९/८०)मा लक्ष्यको ४७ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म (साउनदेखि असोज १४ सम्म) लक्ष्यको ९ प्रतिशत मात्र राजश्व सङ्कलन भएको स्रोतले जनाएको छ ।