Logo
Logo
कथा

घर


44k
Shares

घर गइरहेछु । मनमा अनेकौँ कुराहरू खेलिरहेछन् … गाउँ छोडेर हिँडेको पनि दश वर्ष भइसकेछ । भुईँचालोपछि एक पटक गएको हो घर । त्यसपछि नगएको चार वर्षजति भएछ । जाऊँ भनेर सोच्दैमा पुगिँदैन । हरेक पटक फोन गर्दा आमाले कहिले आउँछस् कान्छा ? भनेर सोधिरहनुहुन्थ्यो । म दसैँको बिदामा आउँछु भनेर जवाफ दिन्थेँ । तीन वर्षको दसैँ बिदा त्यतिकै खेर गयो । यस पटक भने चाँजोपाँजो मिलाएरै हिँडेको हुँ । बाउ–आमालाई भेट्ने कुरा त भइनै गयो, साथमा अरू योजनाहरू पनि छन् ।

झ्याल खोलेर बाहिर हेर्छु । झमक्क रात परिसकेछ । आकाशमा फाट्टफुट्ट ताराहरू देखियो । त्रिसुली खोलाको सनन… कानमा ठोक्किएर बुच्चेलाजस्तो भो ।

कोटेश्वरबाट साँझको पौने चार बजे चढेको, चोकैपिच्छे यात्रुहरू भर्दै हिँड्दा बसले साँझको छ बजे मात्रै थानकोट काट्यो । नत्र यति बेला चितवन झरिसकिन्थ्यो । भोलि कम्तीमा साढे सातसम्ममा दमक पुगिन्छ । त्यहाँबाट बिहानको खाना खाइवरी ट्याक्सी चढेँपछि दिउँसोपख त पक्कै घर पुगिसक्छु ।

घर सम्झेर फेरि पनि मन फुरुङ्ग भो ।

कुरुम्बाको पुछारमा पर्छ मेरो घर । म त्यहीँ जन्मेर हुर्केँ । दिदीले एसएलसी दिएपछि धनकुटा बिहे गरीहालिन् । दिदी हिँडेपछि बाउ, आमा र म मात्रै भयौँ । म पनि पढ्न निस्केपछि त बाउ–आमा मात्रै भए । दिदी तङ्नामतिर बेलाबेला माइत आउँदी हुन् । कामको चटारोले उ पनि धेरै बस्न पाउँदिनन् । फेरि आईरहनुलाई बाटो नि नजिक भए पो ! गाउँमा बाक्लो बस्ती छैन । छिमेकीहरूसँग कामकाज र मेलो पर्म हुँदा बाहेक भेट नि हुन्न । बाउ–आमालाई छोराछोरीको कति न्यास्रो लाग्दो हो । धन्न बस्तुभाउ छ र साथी हुन्छन् । डाँडापारि हामी आउने बाटो कति हेर्नुहुँदो हो ! बाटो हेर्दा हेर्दै अहिले त आफै डाँडापारिको घाम हुन लाग्नुभयो होला ? घरको हालत कस्तो भो ? पहिले दिदी र म भइन्जेल त सकेको सृङ्गाथ्र्यौं ।

बाउले भनेअनुसार उहिल्यै खै कति पुस्ताअघि फेदेनको गढिबाट यासोक हुँदै कुरुम्बा बसाइँ सरेका हरे, मेरा चेप्चु बाजेहरू । त्यसपछिको मेरो बाउबाजेहरूले यतै बस्ती बसाले । जरा गाडे । सुबाजेको पालामा त हामी अलि सिरानतिर बस्थ्यौँ रे । उब्जनी हेरेर बाजे फेरि अलि तल सर्नुभएछ ।

बिहे गरेपछि बाउ पनि मूलघर छोडेर छुट्टिनुभयो । बाजेबराजु भने नबितिन्जेल मूलघरमै बस्नुभयो । मान्छे कता पायक पर्छ त्यतै त बस्ने रैछ नि ! आफ्नै संसार हालेर । आफ्नै गुँड बनाएर । खै मैले पो कता गुँड बनाउने हुँ ? कस्तो गुँड बनाउने हुँ ?

कान्छा काका उमेर छँदै साउदी भासिनुभो । पछि आएर बिहे गरेर दमक झर्नुभो । अहिले जहानसँगै दमकमै हुनुहुन्छ । काम नहुँदा भेट नि नहुने रैछ । बाजेबराजु हुँदा त कुरुम्बा आइरहनुहुन्थ्यो । अहिले त आउन छाड्नुभोे होला । बाउले भने कुरुम्बा छोड्न सक्नुभएन । म सानै हुँदा दुई–तीन पटक शिलोङ कोइला खानी जानुभो । गएको तीनचार महिनामा फर्किहाल्नु हुन्थ्यो । त्यसबाहेक बुबाले घर छोडेको याद छैन । विदेश भनेपछि बाउ चैँ शिलोङ हेरेरै अघाको रे । हिउँदमा गाउँको तुम्बाहरू हूल बाँधेर गोलियाको काम गर्न लेकतिर जान्थे । आमाले पठाउन खोज्दा नि बाउ मान्नुहुन्थेन । फुर्सद भयो कि बरु घरमै काम गर्नुहुन्थ्यो । आँगनीको छेउमा एउटा खमारीको बोट थियो । बेलाबेला त्यहीँ निस्केर च्याब्रुङ बजाउनुहुन्थ्यो ।

०००

घरको कुरा सोच्दासोच्दै कतिखेर हो झ्याप्पै निदाएछु । बिहान दमक पुग्दा मात्रै बिउँझिएँ । दमकबाट साढे नौ तिर ट्याक्सी चढेँ । बेलडाँगीको पुरानो शरणार्थी बस्ती कटेपछि कच्ची बाटो सुरु भयो । घल्च्याकघुल्चुक गर्दै ट्याक्सी रतुवा खोलाको बगरैबगर दुई घण्टा जति हिँडिरह्यो । रतुवाको बाटो जत्ति बनाए नि उस्तै । कहिल्यै बनिसक्दैन ।

दुईचार वटा स्काभेटरहरूले चुलीको भित्ता कोतरिरहेको थियो । बाटो निकाल्न भित्ता खने नि बर्खामा भत्किहाल्थ्यो । बगर छोडेर घर्तिदोभान पुगेपछि उकालो सुरु हुन्थ्यो । उकालो चढेर लारुम्बा हुँदै माङमालुङको घना जंगल पस्यौँ । आधा घण्टा जति जंगल छिचोलेर रक्से निस्कियौँ । रक्से पुगेको दस पन्ध्र मिनेटमै चिसोपानी पञ्चमी पुगियो । पञ्चमी पुग्दा पौने एक भइसकेको थियो ।

पञ्चमीबाटै सुरु हुन्थ्यो कुरुम्बा । मेरो गाउँ, जसको सम्झनामा कैयौँ रातहरू बितेको थियो । दिनहरू गुज्रेको थियो । जहाँ आइपुग्न मलाई चार हिउँद चार बर्ख पर्खनुपर्याे । मनमा उत्साह र उमङ्ग हिजैबाट सञ्चारित थियो । झन् पञ्चमी टेक्ने बित्तिकै खुसीले द्रवीभूत भइहालेँ । गह्रौँ भारी बिसाएर शरीर हलुङ्गो भएझैँ महसुस हुन थाल्यो ।

ट्याक्सीबाट उत्रिने बित्तिकै चिसो हावाले छोयो । इलाम र पाँचथरको सिमानामा पर्ने डाँडाको बजार दुबैतिरबाट बतास चल्थ्यो । ब्यागबाट झिकेर ज्याकेट लाएँ । लुगाभरि धुलै धुलो । पुछेँ । मंलबारको दिन, हाट लागिरहेथ्यो । दसैँको छेक भएर होला हाटभरि किनमेल गर्नेहरूको भीड थियो । गाउँका कोही छ कि भनेर आँखा दौडाए । तर कोही पनि देखिन । नत्र घरसम्म जान साथी हुन्थ्यो ।

बजार पहिलेभन्दा अलि ठूलो भएछ । टिनैटिनको बजार भन्दा नि हुन्छ पञ्चमीलाई । नयाँ नयाँ घरहरू बनेका थिए । एक–दुई वटा विल्डिङ नि ठडिएछन् । पहिले त विल्डिङको नाममा रामचन्द्र बाजेको घर मात्रै थ्यो । छत्रहाङ दाइको होटल खोजेँ । होटलको रूपरंगै फेरिएछ । झन्डै अलमल नपरेको । दाइ हुनुन्थ्यो, भाउजू मात्रै हुनुहुँदो रैछ । छिरेर तोङ्वा र सुकुटी खाएँ ।

घर पुगुन्जेल ओरालै ओरालो हिँड्नुपर्थ्यो । बाटोभरि झ्याउँकिरीहरू किरिरिरी कराइरहेथ्यो । पारी रवि र आरूबोटेका पहाडहरूले मलाई नै हेरिरहेझैँ लाग्यो । बाटोका धुपीसल्लाहरूले मेरै स्वागतमा हात हल्लाइरहेझैँ लाग्यो । हिउँदको दिन मज्जाले उघ्रेको थियो । सेता सेता बादलका बुट्टाहरू आकाशका सिलिङभरि टाँगिएको थियो । बर्खाको अन्तिम छिटाहरू बोकेर भुइँकुहिरो माथि–माथि उक्लिरहेको थियो । पौवा डाँडाको माथितिर फक्ताङलुङ हिमाल टल्किरहेको थियो । काठमाडौँमा गुमुक्क परेर बस्दा–बस्दा निसास्सिएको मैले धित मरुन्जेल डाँडाकाँडा नियालेँ । पानी पिउन बाटोको भित्ताभरि बाँसको धाराहरू थियो । लेकको पानी त्यसै पिऊँ पिऊँ लाग्ने । पेट भरुन्जेल पिएँ । आँतै चिसो भएर आयो । धेरैपछि तिर्खा मेटियो ।

माथि सिरानबाटै कुरुम्बाको तलतलसम्म देखियो । मनमा कति बेला घर पुगूँ मात्रै भइरहेथ्यो । बानी हराएकोले खासै हिँड्न सकिन । ओरालो झर्दा छेपारी निक्लेला झैँ भयो । गाउँमा जताततै बाटो पुगेछ । भर्खरै खनिएको नयाँ सडकहरूमा भुमरी चलेर धुलो उडिरहेथ्यो । सडकले हरियो पाखा फुस्रै देखिन्थ्यो । जति नयाँ बाटो बने पनि मान्छेलाई पहिले हिँडेको बाटो नै प्रिय हुँदो हो ! गोरेटो बाटै हिँडे । स्कुलडाँडा छेउमा नयाँ फलैँचा बनेको थियो । फौदमान तुम्बाको रैछ । कति चाँडै बितेको हो तुम्बा ! गाउँका सबै केटालाई लाहुरे हुनु भनेर आशीर्वाद दिइरहनु हुन्थ्यो । बिचरा ! अरूलाई आशीर्वाद दिँदादिँदै माङको आशीर्वाद थाप्न हिँड्नुभएछ ।

बाटोमा मान्छेको खासै चहलपहल थिएन । फाट्टफुट्ट बजारेहरू भने घर फर्किरहेका थिए । बाटोका घरहरूतिर हेरेँ । कोही पनि थिएनन् । कति घरमा त ताला–चाबी लाइएको थियो ।

गाउँमा पहिलेजस्तो मान्छे रैनछन् । भएका साथीहरू कोही लाहुर त कोही विदेश लागिसकेका थिए । कति त घर छोडेर दमक झरिसकेका थिए । रनसिङ बाजेको गोठमा पुगेपछि अलिअलि घर देखियो । धेरैपछि आफ्नै घर देख्दा कस्तो रमाइलो लाग्दो रैछ । गोठमा एकछिन थकान मारे । साबित्राको याद आयो । हठात् फोन गरेँ । कहाँ पुग्नुभो भनेर सोधिन् । घर पुग्नआँटे भन्दाभन्दै ब्याट्री सकियो । त्यसपछि थाकेको ज्यानलाई बारी र डिलको नास्पातीको बोटमा अड्याउँदै ओरालो झरेँ ।

साँझपख घर पुगेँ । घर पुग्दा रिमरिम अँध्यारो भइसकेको थियो । मलाई देखेर हो कि कुन्नि गोठबाट झुली हम्बा… गरेर करायो । हब्बु पुच्छर हल्लाउँदै भुक्यो । भान्साबाट धुवाँको मुस्लो उडिरहेको थियो । आमा घरमै हुनुदो रैछ । म सरासर भान्सा छिरेँ । आमा आगो फुक्दै हुनुन्थ्यो । एक्कासि मलाई देखेर खुसी र अचम्म हुनु भो । निहुरेर खुट्टामा ढोगेँ ।

हिँड्दा फोन गरेर हिँड्नुपर्दैन !
आमाले यसै भन्नुहुन्छ भनेर मलाई थाहा थियो ।
खै त बाउ ? झोला राख्दै सोधेँ ।
गाउँतिर गाको छ । आउने बेला भो ।

खरानीको पोतो हाल्दै आमाले भाँडा बसाइन् ।

०००

ओहो कति दुब्लाउनुभएछ आमा । अनुहारमा चाउरी पर्न थालिसके छ । गालाको हड्डी बाहिर निस्केला झैँ देखिन्थ्यो । आँखा भित्र पसिसकेको थियो । आधा केस फुलिसकेछ । हातखुट्टाको छाला सुख्खा भएको थियो । कुर्कुच्चा पटपट फुटेको थियो । भित्र बाहिर गर्दा खोच्याउँदै हिँड्नुहुन्थ्यो । बाथको पुरानै बिराम हो, खुट्टा दुख्ने । धुवाँले होला आँखा आँसुसरि थियो । आगो फुक्दा एक पटक ख्वाक्क खोक्नुभो । आमाको माया लाग्यो । मन चसक्क भयो । आँसु खस्ला झैँ भयो । चुलाछेउ गएँ । रोक्दारोक्दैको आँसु खसिहाल्यो ।

बाउ पनि यस्तै बूढो भाको छ कि आमा ? आगो फुक्न सघाउँदै सोधेँ ।

भरै आफै हेर न ! आमाले भाँडामा चामल हालिन् ।

आमालाई कोक साह्रै मनपर्थ्यो । ब्यागबाट निकालेर दिएँ । अनि एक छिन आगो तापेर कोठातिर लागेँ । दैलोमाथि माकुराले जालो हालेको रैछ । भित्र छिर्दाछिर्दै कपालमा जेलियो । टकटक्याएँ । लुगा फेर्न दैलो ढप्काएँ । पसाङ्गिएर चुकुल लाग्दै लागेन । मान्छे नबसेकोले होला ओछ्यानको सिरक–डसना खजमजिएको थियो । पहिले टालेको भित्ताको पोस्टरहरू सबै उक्किसकेको रैछ । बरु भित्ताभरि माटोकुरिले गुँड बनाएको रैछ ।

पुराना लुगाहरू ढुँडी पर्न आँटेको थियो । आमालाई फाल्दिनु भन्दा आउँछस् र खोज्छस् कि भनेर राख्देको भन्नुहुन्थ्यो । ओछ्यान टकटक्याएर पल्टे । थकानले होला मिठो निद्राले छोप्यो । आमाले खाना खान उठाउँदा मात्रै बिउँझिएँ ।

बाउ अघि आउनुभएछ । भान्सामा पुग्दा हात धोएर बस्नुभाथ्यो । आमा भात पस्किँदै हुनुन्थ्यो । बाउको खुट्टा ढोग्न निहुरिएँ । गम्बुट लाएर खोलेको खुट्टा ह्वास्सै गनायो । ढोगेर नाक खुम्चाउँदै उठेँ । बाउले नाक खुम्च्याएको देखिहाल्नुभो ।

‘स्याँठा ! कुन्ताको तेरो नाक ।’ बाउको मुखबाट ह्वास्सै रक्सी पनि गनायो । अहो ! बाउले त रक्सी पनि खान थाल्नुभएछ । सोचेँ, दुःखले खाको त ठिकै थ्यो । अब रक्सीले पनि खाने भो । बाउलाई नियालिरहेँ । बाउको अनुहारमा पहिलेजस्तै राप थियो । डरलाग्दो ।

तर पनि, यस पटक किन हो बाउलाई मायालाग्दो देखेँ । सायद बुढ्यौलीले छोपेर होला । पहिले सिधा हेर्न नसक्ने अनुहार एकोहोरो हेरिरहूँ लाग्यो । गाउँमा कति चाँडो बित्दो रैछ समय । हुन पनि कामले कहिले छोड्ने हैन, मान्छेलाई । दुःखले खाएरै उमेरभन्दा बूढो बनाइदिन्छ । मनमा कुरा खेलाउँदै भात खान थालेँ । धेरैपछि बाउआमासँगै खान पाउँदा खुसी लाग्यो । पहिले पनि सँगै बसेर त धेरै पटक खाको हो तर कि–किन आज अलि अनौठो लाग्यो ।

सायद अब म पहिलेजस्तो सानो थिइन । समयले हुत्त्याएर ठूलो बनाइसकेको छ ।

‘अनि बुहारी ल्याइनस् ? नसोधे हुन्थ्यो लागेको कुरा सोधिहाल्नुभो ।

‘माइत गए ।’, लोहोटाको पानी पिउँदै बोले ।

‘त्यस्तै हो बिहे गरेपछि ! आउँछ भन्ने आस पनि छैन ।’, ओहो बाउले कति भारी शब्द बोल्नुभाको । खाँदाखाँदैको गाँस अड्केला जस्तो भयो ।

‘मिक्सेने चैँ हेर्नू मन लागेको थियो । साँच्चै त्यो त कति पो पुग्यो ? आमाले सोध्नुभो ।

‘यो पुसमा तीन लाग्छ ।’, अन्तिम गाँस निल्दै भनेँ ।

‘बुढेसकालमा खेलाउनु पनि पाइँदैन जस्तो छ ।’ आमाको कुराले फेरि मर्ममै हान्यो ।

कुनै जवाफ दिइन । जवाफ दिने शब्दै भेटिनन् !

खाना खाइसकेर बाउले चुलामा चुर सल्काउनुभो । आमाले सोतेले कोइला निकाल्दिइन् । बाहिर चिसो बढ्दैथ्यो । म पनि हात धोएर चुलामा गएँ । बाउ चुर तान्दै उठेर कोठातिर लाग्नुभो । एक छिन गफ गरोस् भन्ने लागेको थियो । फेरि थाकेको होला जस्तो लाग्यो । अनि भोलि कुरा गर्ने सोचेँ । चुलाछेउमा बसेर आमासँग मात्रै गफ गरिरहेँ ।

‘हैन कहिलेदेखि रक्सी खान थाल्नुभो हौ बाउले ?’ चुलामा हात सेकाउँदै सोधेँ ।

‘अस्तिदेखि है ! टेन्सनले खाको भन्छ !’ आमाले कोइला कोट्याउँदै भन्नुभो ।

नखानु भन्नू पर्दैन ?

‘तँ आफै भन न ।’

०००

बिहान ढिलो मात्रै बिउँझेँ । काठको चेपबाट ओछ्यानमै घाम छिरिसकेको थियो । अल्छी मान्दै उठेँ । झ्याल खोलेर बाहिर हेरेँ । चराहरू चिरबिर कराइरहेका थिए । तल नावाखोला एकनासले सुसाइरहेको थियो । कस्तो उज्यालो दिन । आकाशमा बादलको नामनिसानै थिएन । बरु लामो रेखा बनाएर उत्तरबाट एक हुल कर्याङकुरुङको बथान दक्षिणतिर झर्दै थियो । चिसो छल्न हरेक हिउँद कर्याङकुरुङ यसरिनै मधेस झर्थ्यो । गाउँमा अब उँधौली सुरु हुन्छ ।

आमाले चिया पिउन बोलाउनुभो । बाउ घाँसमा हिँडिसक्नु भएछ । चिया पिउँदै आँगनमा उभिएर घर हेर्न थालेँ । आफ्नैजस्तो लाग्ने । फेरि हैन जस्तो पनि लाग्ने । हात फैलाएर यो तेरै घर हो भनेर बोलाइरहेजस्तो । फेरि अपरिचित जस्तो घुरिरहेजस्तो । अहो घरको पनि आत्मा हुन्छ कि क्या हो ? घरको पनि मन हुन्छ कि क्या हो ? पहिले यहीँ घरमा जन्मिएँ । लडीबडी गरेँ । कोठाकोठा दौडिएँ, खेलेँ । अहिले त कस्तो अनौठो लागेको । मलाई जन्मेको देखेको छ । हाँसेको, रोएको देखेको छ । ताते गर्न सिकायो । हुर्काएर यत्रो बनायो । के अहिले मैले यसरी घर छोड्न मिल्छ ? सम्झेँ, नराम्रो लाग्यो । घरलाई पनि मूली साथमै बसिरहे पो रमाइलो लाग्दो हो । हृदय खोलेर हाँस्दो हो । उज्यालो हुँदो हो । छोडेर हिँडेपछि त कति एक्लो र न्यास्रो मान्दो होला ? सोच्दासोच्दै झन्डै हराएछु ।

निक्कै पुरानो भएछ घर । ठाउँ ठाउँ उक्किएको भित्ता चाउरी परेझैँ देखिन्थ्यो । टिनको छाना खिया परेर कालो भएको थियो । काँटी उक्किएर कति ठाउँ त चुहिने नि रैछ । दलिनको बलोहरू धमिरा पसेर मक्किसकेछ । कमेरोको रङ उडेको थियो । बिचरा आमाले हात दुखेर लिप्न सक्नुहुन्नथ्यो । बरन्डाभरि हिँड्दा बुङबुङ्ती धुलो उड्थ्यो । मूल खाँबोको एकपत्र उक्किसकेको थियो । दिदी माइत आउँदा भान्जीको लागि बाउले कोक्रो बुन्नु भएको रैछ । मूल खाँबोको च्याब्रुङको छेउमै कोक्रो पनि झुन्डिएको थियो । सिकुवाको कुनामा सामान राख्ने खाट थियो । त्यो पनि धमिराले खाएर मक्किन लागिसकेछ । खाटमाथि डोको, हल्लुँड र बाउको गम्बुट थियो । खाट मुनी त्रिपाल थियो । हब्बु त्यहीँ सुतिरहेको रैछ ।

चिया पिएर घर वरिपरि डुल्न थालेँ । बारीमा साग, सिमी र करेलाहरू टन्नै फलेको थियो । घुर्यानको स्कुसको झ्याङले आँगन छुन आँटेको थियो । भुईँभरि स्कुस खसेर हरियै । काठमाडौँमा भए गोट्टागन्तीले किनेर खान पर्थ्यो । यहाँ भने सुँगुरलाई चारो दिन पनि पुग्छ । गाउँ भनेको गाउँ नै हो । चौपाया पनि भोको हुन्नन् ।

कान्ला मुन्तिरको नास्पातीको बोट ठूलो भइसकेछ । अहिले त नास्पाती त्यतिकै कुहिएर झर्दो हो । पहिले पहिले त म एक्लैले खाइसक्थेँ त्यत्रो नास्पाती । धेरै खाँदा चिसोले पेट नै दुख्थ्यो । आमाले कति पटक त धेरै नखा भन्दै हकार्नुभाथ्यो । अहिले त बूढाबूढीले कति नै खाओस् र ! केटाकेटीहरूले खाउन् भने सबैको घरमा टन्न छ । माथि पञ्चमी बजार लान सके त अलिअलि बिक्दो हो नि ! कसलाई लाने फुर्सद र ! आमा हिँड्न सक्नुहुन्न । नत्र त सागसब्जी बेच्न नियमित जानुहुन्थ्यो ।

गोठमा गएँ । झुली, लाले र सिँदुरेहरूले नौलो मानेर हेरिरहे । गोठदेखि अलि तल गएर नावा खोला बगरको धान खेत हेरेँ । धान पाक्न लागेछ । उसै त लहलह झुलिरहेको धानबारी घामको पहेँलो किरण परेर झनै पहेँलो देखियो । पहिले त तीन वटा खेतमा रोप्थ्यौँ धान । अहिले दुईटा खेतमा मात्रै लगाउनु भएको रैछ । अर्को खेत बाँझै थियो । बिचरा बाउआमाले कता–कता भ्याइ सक्नु ? खानकै लागि उसो त यति धानले नै वर्ष पुग्छ ।

नास्पातीको बोटमा अडेसिँदै पारी जङ्गलतिर हेरेँ ।

जंलमा रूखहरू पुरै पातलिएको रैछ । मान्छेले भकाभक गोलिया काट्न थालेका थिए । गोलिया ओसार्न सानोतिनो सडक जंगलसम्मै पुगेको थियो । गोलिया ओसार्ने ट्याक्टरहरू कराएर जंगलै थर्काइरहेथ्यो । सानोमा पारी आरूबोटेको सडकमा ट्रक र ट्याक्टर कुदेको देख्दा ड्राइभर बन्ने खुब रहर थ्यो । तर एक दिन पञ्चमीको सडकबाट खसेर एउटा ट्याक्टरको ड्राइभर र खलासी नै मरेपछि त्यो रहर त्यतिकै मर्याे ।

हिजोको हिँडाइले खुट्टा झमझम दुखिरहेथ्यो । कैँडा लागेजस्तो पनि भो । खेतमा पुगेर आउँ भनेको सकिन । खोच्याउँदै आएर सिकुवामा बसेँ । ‘तोरीको तेलले मालिस गर्नू’ आमाले घुर्यानमा चौलानी फाल्दै भन्नुभो ।

सिकुवामा बसेर घाम ताप्दै खुट्टा मालिस गरेँ । न्यानो घाममा मिठो निद्रा लाग्यो । मालिस गर्दागर्दै भुसुक्कै निदाएछु । त्यो दिन सुतेरै बित्यो ।

०००

खोल्सी पर्तिर बाजेहरूको मूलघर थियो । हेर्न मन लागेको हिजै हो । गएँ । हब्बुले पुच्छर हल्लाउँदै पछ्यायो । बारी मलाउन बाउ गोरुहरू सार्दै हुनुन्थ्यो ।

‘थु थु गर्दै हिँड नि के के लाग्ला !’

अहो ! बाउले पहिलेजस्तै अझै मेरो ख्याल राख्नुहुँदो रैछ । हुन पनि बाउआमाको नजरमा हामी सधैँ केटाकेटी नै त हुन्छौ हरे नि !

मूल घर भत्केर ढुङ्गाको गाह्रो मात्रै थियो । गाह्रो पनि झारले ढाकिसकेको । भुईँभरि फर्सीको लहरै लहरा । मूल ढोकाको बलो भने त्यतिकै रैछ । बलोको भोटे चाबी खिया परिसकेको थियो । गाह्रोमाथि चढेर भित्रपट्टी हेरेँ । भित्र पुरै सिस्नुको झ्याङ उम्रेको रैछ । चप्पल ओछ्याएर बसेँ । पुराना दिनहरूको याद आयो ।

०००

युयुले यहीँ आँगनमा बसेर कुराउनी कोर्नुहुन्थ्यो । दिदी र म कुराउनी भनेपछि हुरुक्कै हुन्थ्यौँ । आलो कुराउनी साह्रै मीठो हुने । म चैँ गिलासमा हालेर थोरै दूधसँग मिसाएर खान्थेँ । युयुले हप्तौँ नकोरेको कालो कुराउनी पनि कोर्नुहुन्थ्यो । हामी त्यो पनि छोड्थेनौँ ।

बाजे भने अलि कडा । सिकुवाको छानाभरि लौरोहरू राख्नुहुन्थ्यो । घरछेउमा केटाकेटी उपद्रो गर्याे कि लौरो निकाली हाल्नुहुन्थ्यो । नास्पाती चोर्दा दुईतीन पटक लौरोको झटारो भेटेको छु । बाजेसँग किन हो साह्रै डर लाग्ने । तर खुसी हुँदा भने साह्रै गुनिलो । उसिनेको फर्सी र स्कुस दिँदै कथा सुनाउनुहुने ।

युयु बित्दा म सानै थिएँ । बाजे बितेको चैँ राम्रोसँग थाहा छ । बिरामले थलिएर बाजेको वाक्के बसेको थियो । जाउलो पानी केही खानु हुन्थेन । बाजे रुङ्न बाजेको ओछ्यानमै बसेको थिएँ । त्यो बिहान पाँच बजेको हुँदो हो । बाउ गोठ जानुभाथ्यो । आमा भान्सामा चिया बसाउँदै हुनुन्थ्यो । हठात् बाजेको प्राण उड्यो । बाजेको दुवै कानबाट फुसुसु हावा गएको सुनेँ । सबै मर्ने मान्छेको कानबाट हावा जान्छ कि मेरो बाजेको मात्रै त्यस्तो भो ? थाहा भएन । तर बाजेको मृत्युलाई नजिकबाट देखेँ । बाजे अझै पनि यतै कतै हुनुहुन्छ कि जस्तो लागिरहन्छ ।

मूल घरको कान्ला मुन्तिर दुईजनाकै चिहान थियो, सँगसँगै । चिहान हेर्न गएँ । चिहानको दुवै छेउमा रुद्राक्षको बोट हुर्किँदै थियो । बाउले रोप्नुभएको होला । ‘रुद्राक्षको बोटले स्वस्थ हावा दिन्छ’ भन्नुहुन्थ्यो बाउ । मरेपछि पनि थेथेयुयुको कतिसाह्रो ख्याल ! बोजुको चिहानमा त ढुङ्गाको थुप्रो मात्रै थियो ।

बाजेको चिहानमा पनि लेउ पलाइसकेछ । कपुरथानमा लेखेको ‘बमप्रसाद लिम्बू’ शब्द अलिअलि बुझिन्थ्यो । कपुरथानमाथि त्रिशूल र घन्टीहरू त्यतिकै थियो । मनमनै दुबैलाई ढोगेँ । बाँच्न त सँगै कति नै बाँचे होलान् र ! तर मरेपछि एक ठाउँमा बस्न पाए । सँगसँगै रहन पाए । त्यो सौभाग्य हाम्रो निधारमा पो लेखेको छ कि छैन ?

चिहानको अलि परतिर सडक खनिएको थियो । तर त्यो बाटो पूरा भएको थिएन । त्यहीँनेर टुङ्गिएको थियो । चिहान हेरिसकेर घर फर्केँ ।

‘आम्बो ! चिहाननेर कहिले बाटो खन्यो हौ ?’ दिउँसो डोको बुन्दै गरेको बाउलाई सोधेँ ।

‘सोध्न तेरो धाराबुङ्गे काकालाई !’, बाउ रिसाएझैँ म तिर हेर्दै बोल्नुभो ।

बाउको कुरा बुझिन । बाटोलाई लिएर पक्कै केही गडबड होला भन्ने सोचेँ ।

थेथेहरूको चिहान खनिने भएपछि वार्ड कार्यालय ल्याउने बाटो अर्कैतिर सार्न बाउले धाराबुङ्गे काकालाई भनेकै हो । काकाले पनि आधासम्म ल्याइसकेको बाटो सार्न मिल्दैन भनेर जवाफ दिएकै हो ।

त्यो दिन,
धाराबुङ्गे काका डोजर लिएर आए । उ सँगै वार्ड सचिव र केही प्राविधिक थिए । डोजरले भकाभक खन्न सुरु गर्याे । स्याउला झार्दै गरेका बाउ खुकुरी बोकेर दगुर्दै आए । आमा पछिपछि आत्तिँदै गइन् । खुकुरी बोकेर आइरहेको बाउलाई देखेर सबै डराए । डोजरकै अघि खुकुरी गाडेर बाउले भने–

‘यहाँबाट एक इन्च अघि खन्यौ भने मर्लाउ !’
सबै जना अवाक् । मान्छेको रमिता लाग्यो ।

‘तपाईँ किन नबुझ्ने भाको डबले दाजु ?’, धाराबुङ्गे काकाले सम्झायो ।

‘तँ चैँ किन सम्झिँदैनस् ! अधक्षे भएँ भन्दैमा तेरो खुसी हुन्छ ?’ बाउ जङ्गियो ।

‘तेसोरी नबौला है तँ ! सहमतिमा बाटो ल्याको हुङ । सबै जनाको जग्गा उडेको छ । तेरो मात्रै हो ?’ रनसिङ बाजेले सम्झायो ।

‘कुरा जग्गाको हैन, चिहानको हो । बाटो खन्नलाई यै मात्रै ठाउँ छ ?’, बाउ कामिरहेको थियो ।

सबैले सम्झाए । बाउको डेग चलेन । बाउलाई पन्छाउन खोज्दा झन्डै झगडै भो । बाउ लम्पसार परेर सुतेपछि कसैको केही लागेन ।

‘जाँठा ! समाजमा नमिल्ने । हेर्छुङ हामी पनि !’ धाराबुङ्गे काकाले पनि रिसाउँदै मुख छोड्यो ।

त्यसपछि बाटो अन्तै सारियो । सबैले बाउलाई नै नराम्रो देखे । धाराबुङ्गे काका र रनसिङ बाजेसँग बोलचाल नै बन्द भो ।

‘त्यसरी चिहान नै भत्काउने गरी त बाटो ल्याउन नमिल्ने !’ चोया काढ्न सघाउँदै बोलेँ । त्यति बेला पो बाउ झसङ्गै हुनुभो । यतिन्जेलसम्म त्यो दिनको घटना पो सम्झिरहनुभएको रैछ ।

‘तिमेरू अब ठूलो भइहाल्यौ । घर बिर्सिहाल्यौ ।’ त्यति भनेर बाउ चुप लाग्नुभो ।

सोध्न मन लागेको धेरै कुरा थियो । बाउको कुराले गलै अड्क्यो ।

०००

गोठको खुट्टी फेर्नुपर्ने भो । बाउले बाँसको खम्बा ल्याउन पाखामा जाने भन्नुभो । सानोमा पनि बाउलाई पछ्याउँदै पाखातिर जान्थेँ । बाटोभरि जुका लाग्थ्यो । हिँड्नुअघि नुन छर्किन्थेँ । नुन छर्केपछि जुकाको डर हुन्थेन । जुका सम्झिने बित्तिकै अहिले चाहिँ डर लागेर आयो । पुरानो गम्बुट लाएँ । ‘छिटो आइज है’ बाउ चुर उडाउँदै हिँड्नुभो । बाउको पछिपछि लागेँ ।

बाटोभरी झाँडी थियो । दायाँबायाँ कुरोको घारी झाँगिएको थियो । ट्राउजर सर्के । पहिले पहिले त बाटोछेउ खुब सिरु फूल्थ्यो । सिरु देख्ने बित्तिकै दिदीसँग मिलेर सानोमा मान्छे अल्झाएको याद आयो । झाँडीले छोपेको बाटोको दुईतिरै सिरु बाँध्थ्यौँ । बाँधेको सिरूमा खुट्टा अल्झेर मान्छे लड्थ्यो । मान्छे लडेको हेर्न खुब मज्जा लाग्थ्यो । एक पटक बाउ नै अल्झेर लड्नुभो । त्यो दिन दह्रो धुलाई भेट्यौँ । त्यसपछि सिरु बान्ने काम बन्द भो । बाउ लडेको सम्झेर फेरि हाँस उठिहाल्यो । मुसुमुसु हाँस्दै बाउलाई हेरेँ । बाउ चुरको धुवाँ उडाउँदै अघिअघि हिँडिरहनुभाथ्यो ।

दिन अलिअलि धुम्मिएको थियो । झाँडी छिचोल्दै पाखा पुग्यौँ । खोल्सीवारि उतिसको घारी थियो । खोल्सीपारि धुपीसल्लाघारी । बाँसघारी चैँ बिचमा पर्थ्यो । गोठको खम्बा र डोको बुन्ने चोया बाउले त्यहीँ बाँसघारीबाट ल्याउनुहुन्थ्यो । पाखामा ‘सेल्लोवा’ कराइरहेथ्यो । सेल्लोवा चरी कराउँदा घाम उदाउँछ भन्नुहुन्थ्यो आमाले । रूखको टुप्पीतिर हेरेँ । तर, सेल्लोवा देखिन ।

उत्तिसहरू अग्लो अग्लो भइसकेको रैछ । धुपीसल्लाहरू झ्याम्म ओथारो बसेझैँ देखिन्थ्यो । बाउले रुद्राक्ष र खमारीको बिरुवा पनि हाल्नुभएको रैछ । खुला ठाउँको बिरुवाहरू सप्रेझैँ देखिन्थ्यो । सियाँल परेको ठाउँको बिरुवा ओइलाइसकेको थियो । बाउले बिरुवाहरू स्याहार्न थाल्नुभो । सघाउन थालेँ । किराहरूले पात खाँदै रैछ । फालेँ । अल्झाउने लहराहरू पन्छाएँ । बिरुवामाथि खसेका साना साना हाँगाहरू हटाएँ ।

पाखाभरि उतिसको मसिनो बिरुवाहरू उम्रेको थियो । सुकेका हाँगा र पत्करहरू खसेको थियो । भुईँमा खसेको पत्करहरू देखाउँदै बाउले भन्नुभो– मान्छेको जिन्दगी पनि यहीँ पातजस्तै हो केटा । बाँचुन्जेल छहारी दिन्छ । बूढो भएर पहेँलिएपछि खस्छ । तर त्यसकै मलबाट फेरि नयाँ बिरुवा पलाउँछ । जिन्दगी यसरी नै चलेको हुन्छ ।

रूख र बाउलाई दाँजे । उस्तै–उस्तै लाग्यो । दुबैबिना संसार नचल्ने । पाखामा हावा चल्दा बाउले सास फेरेझैँ लाग्यो । रूखहरू सुसाउँदा बाउको आत्मा बोलेझैँ लाग्यो ।

बाउले भुईँमा खसेका ठूला ठूला हाँगाहरू काट्दै एक ठाउँ भेलाउनुभो । घरमा खासै दाउरा खोज्नुपर्थेन । पाखाका रूखका हाँगाहरू भेलाउँदै पुगिहाल्थ्यो ।

‘म गएर काट्दै गरूँ ?’, सोधेँ
‘एक छिन । म देखाइदिन्छु ।’ बाउले भन्नुभो ।

खुकुरी बोकेर बाँसघारीतिर लागेँ । पछिपछि बाउ आउनुभो । खोल्सीभरि बाउले अलैँची हाल्नुभाको रैछ । हेर्दा भर्खर हालेको जस्तो देखिन्थ्यो । फल लागेको थिएन । सप्रिनु चाहिँ सप्रेको थियो । जिर्मले अलैँची हरे त्यो । बाँसघारीमा रुपीहरू कल्याङमल्याङ गरिरहेथ्यो । हामीलाई देखेर सबै उडे । मल बाँस ठूलो–ठूलो भइसकेको थियो । कुन काटौँ कुन काटौ भो । बाउले काट्नुपर्ने बाँसहरू देखाउनुभो । बाँस काट्न थालेँ ।

‘होसियारले काट् नि !’, बाउ मलाई सम्झाउँदै अलैँचीघारी पस्नुभो ।

सोचेँ, बाउले यसरी नै जिन्दगीभर सम्झाइरहे हुन्थ्यो । बुझाइरहे हुन्थ्यो । बाउ हुँदा कति सरल हुँदोरैछ बाँच्न । सहरमा त म एक्लो हुन्छु । फगत एक्लो । सम्झाउने बुझाउने पनि कोही हुन्न ।

बाँस काट्न लागेँ । बाउले खोल्सीको डिलमा बसेर पिपिरी पात बजाउनुभो । पिपिरी पातको आवाज पाखाभरि गुन्जियो, एकनास । चिरचिर गरिरहेका चरीहरू चुप लागे । झ्याउँकिरीहरूले किरिरी बन्द गरे । आहा ! कति मीठो बजाउनुभाको !

बाउलाई हेरेँ । आँखा चिम्लेर आफ्नै सुरमा डुब्नुभाथ्यो । बजाउँदै गरेको पात चुँडियो कि अर्को टिपिहाल्नुहुन्थ्यो । बाउले के मात्रै जान्नुभएको छैन । लाग्यो, बाउ सानोतिनो कलाकारै हो ! शिल्पी नै हो !

पाखामा गुन्जेर पिपिरी पातको आवाज हावामा उड्दै माथि–माथि पुग्यो । सायद बाउले पातसँगै दुःखहरू पनि उडाउनुभाथ्यो । पीडा र विरह पनि उडाउनुभाथ्यो । निश्वास र उच्छ्वास पनि उडाउनुभाथ्यो । माथि माथि ! निक्कै दूर ! थाहा छैन यसरी पिपिरी पातको आवाजमा दुःखहरू उडाएर बाउ खुसी बन्नुहुन्छ या बन्नुहुन्न ?

आय्या ! जोगिँदाजोगिँदै बाँसको चोयाले कान्छी औँला रेटिहाल्यो । तुरूरू खुन निस्क्यो । औँलो समाएको देखेर बाउ दगुर्दै आउनुभो । अनि हतार–हतार खुकुरीले खुर्केर बाँसको धुलो हाल्दिनुभो । धुलोले घाउ टालियो । म भित्तामा गएर बसेँ । बाँसको धुलो पनि औषधि हुने रैछ । घाउ टालिहाल्यो । नत्र त थोरै भएनी खुन बग्नेथ्यो । चाहिने जति खम्बा काटिसकेको थिएँ । बाउले पातहरू लुछेर घाँसको भारी हाल्नुभो । त्यसपछि खम्बा गिँडेर चोया काढ्न थाल्नुभो ।

घाउ दुख्न छोडेपछि पारिको जंगल नियाल्दै सुसेली मार्न थालेँ ।

‘पहिले यो सब जंगल हाम्रै किपट थ्यो । था छ कि छैन तँलाई ?’ चोया काढी सकेर खम्बा बाँध्दै बाउले सोध्नु भो । एक्कासि किपटको कुरा निस्किँदा मलाई के भनूँ के भनूँ भो । किपटको कुरा बाउको मनमा कति गहिरो गढेर बसेको रैछ । नगढोस् पनि कसरी ? कथै त्यस्तो छ ।

उबेला कुरुम्बादेखि पाङ्तुवाको फेदीसम्मको जंगल हाम्रो किपट थियो रे । आँखाले नभ्याइन्जेल फैलिएको त्यो किपटको मालिक हुन पाउनु भनेको राजा समान भएजस्तो हुन्थ्यो रे ! २०२१ सालमा भूमिसुधार र मुलुकी ऐन आएपछि त किपट सबै खोसिएछ । त्यत्रो पुर्खौँदेखि चास्दै–भोग्दै आएको किपट खोसिँदा धेरै किपटधनीहरूलाई सुकुम्वासी बनेजस्तो भयो रे । कति झोडा फाँडेर मधेस झरेछन् । बाजे त्यो घटनाले खुब रुनुभएछ । आक्रोशले ‘सरकारको हाम्रो भूमि हडप्ने नीति हो यो’ भनेर गाउँभरि सुनाउनुभएछ । त्यति बेला बाउ सानै हुनुन्थ्यो रे । बाजे रोएको देखेर बाउ पनि खुब रुनुभएछ । किपट भनेको पछि मात्रै थाहा भयो रे । मैले पनि ठूलो भएपछि मात्रै किपटको अर्थ बुझेँ ।

०००

‘लिसिबुङ्गे तुम्बा बितेछ है !’

सेसे खबर भन्दै हिँडेको रैछ । आँगनैबाट सुनाएर हिँडिगयो । हामी खाना खाँदैथ्यौ । अशुभ खबरले खाँदाखाँदैको खानै बेस्वाद भयो ।

‘हैन बिहान बिहानै के सुन्नु पर्छ हौ ?’, बाउ गनगनिँदै खाइ नसकी उठ्नुभो । अनि हात धोएर मलामी हिँड्न तयार हुनुभो । मलाई खाऊँ कि नखाऊँ भयो ।

‘छिटो खाएर तँ पनि जा मलामी । घर बस्दा–बस्दा अल्छि लागिसक्यो होला !’, कोठाबाट बाउको छाता निकालिदिँदै आमाले भन्नुभो ।

बेलाबेला न आइन्छ घर । आएको बेला मलामी जान पाउनु ठूलो कुरा हो भन्ने लाग्यो । फेरि दुखको घडीमा न हो आफन्तलाई साथ दिने भनेकै । बाउ गम्बुट लाएर हिँड्नै आँट्नुभाथ्यो । हतार हतार तयार भएँ । आँगनमा निस्कन नपाउँदै बाउ छाता टेक्दै हिँडिहाल्नुभो । म पछिपछि लागेँ । फूल त चढाउनुपर्ने थ्यो भन्दै आमा पनि थकथकाइन् ।

गाउँ डुलिहिँड्ने लिसिबुङ्गे बाजे दुई–तीन दिनदेखि थलेका रैछन् । के भयो कसैलाई थाहा रैन । घरमा एक्लै । रक्सी खाएपछि खासै खाना पनि खानुहुन्थेन रे ! बिचरा बाजे सुतेको सुत्यै भएछन् । कसैले थाहा पाएको भए त डक्टर बोलाउनु हुन्थ्यो । गाउँमा डाक्टर पनि टाढा । बोलाउन पञ्चमी नै पुग्नुपर्छ । बाह्रघरनी काकीले पो सेवाको निम्तो दिनु पुग्दा बाजे बितेको थाहा पाउनुभएछ । त्यसपछि त गाउँलेहरू पनि भेलिहाले ।

हामी पुग्दा मलामीहरू हाङमती फुपूलाई पर्खिरहेका रैछन् । हाङमती फुपू लिसिबुङ्गे बाजेको एक मात्र छोरी । भएका दुईभाइ छोरा विदेशमै थिए । विदेशबाट तत्काल आउन सम्भव थिएन । बोजु भने उहिल्यै बितिसक्नु भएको थियो । फाकफोकबाट दिउँसो साढे एघारतिर हाङमती फुपू र फुपा आइपुग्नुभो । आउने बित्तिकै फुपू रोएर मुर्छा परिन् । धन्न बाह्रघरनी काकीले सम्हाल्नुभो ।

एक बजेतिर लिसिबुङ्गे बाजेको लास जंगल लगियो । लगभग पचास साठी जना जति मात्रै मलामी भेलिएका थिए । त्यसमा पनि बुढापाका ज्यादा । लाठेहरू मरेर दशजना जति । लाठेहरू गाउँमा भए पो ! त्यहीँ दशभाइ लाठेहरूले नै लास बोके । बेलाबेला काँध हालेर सघाएँ । बाउ पछाडि आउँदै हुनुन्थ्यो । मलामीमा धाराबुङ्गे काका र रनसिङ बाजे नि थिए । बाउ उनीहरूसँग बोल्नुहुन्छ कि भनेर हेरेँ । तर नबोली आफ्नै सुरमा हिँड्नुभो ।

‘कुसाम्मिन लन्दे मेम्बी ?’, पुजारीले सातो निकाल्दै भन्यो ।
मलामीहरूले एकैसाथ भने, ‘लन्दे रो ! लन्दे !’

लास लुकाइसक्दा साँझ पर्याे । अरू मलामीहरूसँग माटो दिएर फर्किहालेँ । बाउले अरू तुम्बाहरूसँगै सबै थन्कोमन्को सकेर आउने भन्नुभो ।

त्यो रात छाक बार्ने भयौँ । मलाई उसै पनि खाना खान मन थिएन । आमाले स्कुस र आलु उसिन्नु भएको रैछ । त्यहीँ खाँदै आमा र म चुलामा बसेर आगो ताप्दैथ्यौँ । बाउ ढुनमुनिँदै आउनुभो । मातेको थाहा पाइहालेँ । हाम्रो छेउमा आएर बस्नुभो । आमाले छाता भित्तामा सिउरिनुभो । हातखुट्टा सेकाउँदै चुर सल्काउन थाल्नुभो ।

‘हैन के भएर बितेको रैछ हौ ?’ आमाले स्कुस खाँदै सोध्नुभो ।
‘यस्तै बिजोक भो भने त स्याठाँ छोराछोरी भाको नि के काम हौ ?’ बाउले पिलिक्क मतिर हेरेर भन्नुभो ।

के भन्नू के भन्नू भो । बाउको मनमा लुकेको कहिले देखिको गुनासो मातेको बेला निस्किहाल्यो । म शिर निहुराएर आगो तापिरहेँ । आमाले कुरो बुझ्नुभो क्यारे । स्कुस दिँदै बाउको मुख थुन्न खोज्नुभो ।

‘हैन रक्सी नखाँदा चैँ हुँदैन ?’ मैले कुरा मोड्न खोजेँ ।

‘गाउँ ठाउँमा बाँचिखान कत्ति गाह्रो छ तिमेरू बुझ्दैनौ । घरको चिन्ता लाग्ने भयो पो !’ बाउले गुनासोहरू सुनाइरहनुभाथ्यो ।

सहरमा पनि बाँच्न त कहाँ सजिलो छ र ! धन्न दुईजनाकै जागिर छ र टिकिएको छ । भन्न त मन थ्यो । तर बाउको चित्त दुख्छ कि भनेर केही पनि भनिन ।

‘गाउँमा कति दुख गर्नु हौ ! बरु उतै काठमाडौँ जाऊँ । सँगै त बस्न पाइन्छ ।’ आँट गरेर अस्तिदेखि भन्न मन लागेको कुरा सुनाएँ ।

‘ए !… काठमान्डु पो लान्छस् !’, बाउले झ्यालबाट खकार फाल्दै भन्नुभो ।

बाउले खिसी गरेको बुझिहाले । केही बोलिन ।

‘बरु तँ चैँ यता आइज न ! यो घरमा को बस्छ अब ।’ आमाले पनि बाउलाई सघाउनुभो ।

‘घर–सर सबै बेचेर जाऊँ न त !’ मैले नबोलूँ लागेको कुरा बोलिहालेँ ।

‘ए ! घर पो बेच्नु ! भको जति बेचेर तेरो फुपूहरूजस्तो हुनु होला हैन !’, यसपाल बाउको आवाज अलि चर्को बन्यो ।

फूपूको सम्झना ताजा भएर आयो । चिलिङ्देनबाट संकटकालमा लारूम्बा बसाइँ सरेर गएको फुपूहरूको त्यहाँ घरबाहेक केही पनि थिएन । गाउँको जग्गाजमिन बन्धकी हालिराख्दा हुन्थ्यो । सबै बेचिहाले । जान्ने बुझ्ने त पछि गाउँ नै फर्केर बस्न थाले । बिचरा फुपूहरू गाउँ फर्कन पनि सकेनन् । गरिखाने ठाउँ नभएपछि निक्कै दुख भोग्नुपर्याे । पेट पाल्नै पर्याे । नानीहरू पढाउनै पर्याे । नपर्नु ऋणमा परे । ऋण थेग्न नसकेपछि फुपा विदेश लागे । फुपूहरू तल बेलडाँगी झरेर अधिया धान रोप्छन् रे । बेलडाँगीमा पनि टिक्न त्यस्तै गाह्रो । त्यहाँको बासिन्दाले कति हेप्छन् रे भन्ने सुनेको थिएँ । सके जति त बाउले पनि सघाउनुभएकै हो ।

‘मान्छेको एक टुक्रा भए पनि आफ्नै जमिन हुनुपर्छ । नत्र थातथलो हराउँछ । थातथलो हराएपछि मान्छे पनि हराउँछ, था छ कि !’ चुर खाइसकेर स्कुस खाँदै बाउले भन्नुभो ।

बाउको कुराले मलाई भावुक बनाइहाल्यो । मातेकै सुरमा भए पनि ख्यालख्यालको कुरा भन्नुभएको हैन । त्यो कुरामा सानोतिनो दर्शन थिएन, अनुभव र भोगाइले सिकाएको दर्शन । सम्झेँ, साँच्चै माटो प्राकृतिक कुरा मात्रै कहाँ हो र ? भौगोलिक कुरा मात्रै कहाँ हो र ? यो त भावनात्मक कुरा रैछ । आनुभूतिक कुरा रैछ । पुस्तौँदेखि अमिट भएर मनमा गढेको । हृदयमा गढेको । जुन सायद मृत्युपश्चात् पनि मेटिने छैन !

जस्तो भए पनि एउटा संसार बसाउनुभाथ्यो बाउले । भ्याएजतिको आफ्नै बुताले । जानेजतिको आफ्नै श्रम र सिपले । वर्षौँदेखि सिर्जिएको त्यो संसार छोड्न कहाँ सक्नुहुन्छ होला र !

‘उतै बनाउँला नि हौ यस्तो जाबो घर !’, ठट्टा गर्न मन लाग्यो ।

‘नाम्सु ! एउटा गोठ त बनाउनु नजान्नेले बनाउँछस् होला घर !’, यतिखेर बाउको मात अलिअलि उत्रेझैँ लाग्यो ।

बेकार जिस्केछु भन्ने भयो । गफ गर्दागर्दै दश बजिसकेछ । गाउँमा यस्तै हो एकैछिनमा समय जान्छ । काम गर्नेहरूले त झन टुसुक्क चाक बिसाउन नि पाउँदैनन् ।

०००

हेर्दाहेर्दै हप्ता दिन बित्यो । काठमाडौँ फर्किनुपर्ने बेला आयो । घर बस्ने रहर पुगेको थिएन । आएको हिजो जस्तै लाग्छ । हुन पनि मान्छेलाई जता बस्यो त्यतै रमाइलो । मेरो त अझ घर हो । छोड्न कहाँ मन लाग्छ र ! म आएको खुसीमा बाउआमा कत्ति खुसी हुनुभएको थियो । अब फर्किँदा फेरि कत्ति दुखी बन्नुहुने हो ! मन त्यसै छुट्टिन मानिरहेको थिएन । आमाले अझै एक हप्ता बस भनेर भन्नुभयो । बिदा छैन भनेपछि कर गर्नुभएन । बाउ भने केही पनि बोल्नुभएन ।

एक मनले त सोच्यो, गाउँ नै फर्कूँ । बुढ्यौलीले छोएको बाउआमाको साथ बनूँ । काँध थामूँ । फेरि परिवार सम्झेँ । साबित्रा र मिक्सेन सम्झेँ । बिचरा साबित्रा गाउँमा आएर के गरून् ? त्यतिकै बस्नु नि भएन । सहरमा जस्तो सरल हुँदैन गाउँ । अर्कोतिर मिक्सेनको भविष्यको पनि कुरो छ । उ मन्टेस्वरीको साथीहरूसँग कत्ति खुसी छ । यहाँ आएपछि एक्लो हुन्छ । साथीहरू हुँदैन । आफूले भोगेझैँ दुख आफ्नो सन्तानले भोगोस् भन्ने कहाँ चाह हुँदो रैछ र !

आधारात बित्यो । निद्रा परेन । छटपटिइरहेँ । बाहिर किराहरू कराइरहेथे । जुनकिरी घरीघरी पिलिक पिलिक बत्ती बाल्दै उड्थ्यो । बादलले छोपेर आकास अँध्यारो थियो । दूर कतै एउटा मात्रै तारा चम्किरहेथ्यो । मधुरो । सायद त्यो तारा मजस्तै थियो । एक्लो । निराश । उदास । नावाखोला उसरिनै सुसाइरहेथ्यो । सायद यसपल्ट उसको सुसाइमा दुःखको गीत ज्यादा थियो ।

छटपटिँदा छटपटिँदै कतिखेर हो, निदाएछु ।

बिहान ७ बजेतिर बिउँझे । उठ्न अल्छि लागिरहेथ्यो । मन नलागी–नलागी उठेर झोलाहरू कसेँ । एकपटक आफ्नै कोठा हेरेँ । झ्याल, ढोका, भित्ता, ओछ्यान, दराज सबैतिर हेरेँ । सबै सुनसान लाग्यो । सायद मेरो प्रस्थानले सबैतिर मौनता छाएको थियो । बिहानीको घामले गुलाफको काँडामा अडिएको सितको अन्तिम थोपा भुईँमा खस्यो । सायद बिहानी पनि सितको आँसु खसाएर रोइरहेथ्यो । खाजा खान बाहिर निस्केँ । आमाले चाम्रे र गुन्द्रुकको अचार बनाउनुभएको रैछ । हतार हतार खाएँ । दुई–तीन गाँस खाएपछि रुच्दै रुचेन । मन भारी भइरहेथ्यो । आँखाहरू ओभानो थिए । आमाको आँखामा पनि आँसु भरिएको थियो । आमाको अनुहार हेर्नै सकिन ।

खाजा खाइसकेपछि पर्सबाट पाँच हजार रुपैयाँ निकालेर आमाको पटुकोमा हालिदिएँ । थाप्न मान्नु भएको थिएन । जबरजस्ती राखिदिएँ ।

‘स्याँठा ! तेति पैसाले के गर्नु ? दिन्छस् भने एक लाख दे न !’ बाउ कतिखेर हो दूध धोएर आइपुग्नुभएछ । दूधको बाल्टी राख्दै भन्नुभो ।

फेरि एकपटक के बोल्नु के बोल्नु भयो । खस्न लागेको आँसु लाजले एकछिन भए पनि थामियो । बाउको ठट्टाले मर्ममै हान्यो । बाउको अनुहार हेरेँ । ठट्टा गरे पनि आँखाहरू राता–राता भएका थिए । थाहा थियो बाउ हतपत रुनुहुन्न । नरोएकै बेस । बरु चुलातिर फर्केर एकोहोरो चुर उडाइरहनुभो । चुरको धुवाँ चाउरिँदै गरेको बाउको अनुहारमा पुरै रङमगियो ।

दुबैलाई पालैपालो ढोगेँ । आमा सुँक्कसुँक्क गर्न थालिहाल्नुभो । आँसु रोक्नै सकिन । एक थोपा आमाको खुट्टामा खसिहाल्यो । हतार हतार पुछिदिएँ । अनुहार हेर्न सक्ने स्थिति नै भएन । भक्कानो छोडेर रोऊँ भइरहेथ्यो । ब्याग बोकेर ढोकाबाहिर निस्केँ । खुट्टाहरू हिँड्न मानिरहेको थिएनन् । शरीर गलेझैँ भइरहेको थियो । हब्बु छेउमा आएर भुकिरह्यो । झुली हम्बा हम्बा गर्दै एकोहोरो करायो । सायद दुवैले नजान आह्वान गरिरहेथे ।

एक पटक घर हेरेँ । मेरो स्वागतमा जसरी उभिएथ्यो बिदाइमा पनि त्यसरी नै उभिरहेथ्यो उ । मौन । भित्ताको सुम्निसालाई ढोगेर बाटो लागेँ । आमाले आँगनीमा निस्केर हेरिपठाउनुभो । कतिखेर हो माथ्लो कान्ला उक्लिएँ । कानमा आमाले भनेको वाक्य गुन्जिरहेथ्यो– कान्छा आबो कहिले आउँछस् ?

प्रतिक्रिया दिनुहोस्