Logo
Logo

तत्काल श्रमजीवी पत्रकारका माग सम्बोधन गर्न महासंघको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २१ माघ । नेपाल पत्रकार महासंघले नेपाल रिपब्लिका मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग सम्बोधन गर्न आग्रह गरेको छ ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपब्लिका अङ्ग्रेजी दैनिकमा कार्यरत पत्रकारले लामो सयमदेखि नियमबमोजिम पाउनुपर्ने पारिश्रमिक र सुविधा उपलब्ध हुननसकेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“श्रमजीवी पत्रकारले प्राप्त गर्नुपर्ने पारिश्रमिक एवं सुविधा लामो सयमदेखि प्राप्त गर्न नसक्नु दुःखद विषय हो, उक्त मिडियामा श्रमजीवी पत्रकारले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति महासंघको पूर्ण समर्थन र ऐक्यबद्धता छ । श्रमजीवी पत्रकारको श्रमको मूल्यमा कुनै प्रकारको खेलबाड स्वीकार्य हुनसक्दैन”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी महासंघले टीबीआई पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित कारोबार दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी पत्रकार ऐनअनुरुप पाउनुपर्ने सेवासुविधा लामो समयदेखि प्राप्त गर्न नसकेको विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यहाँ कार्यरत पत्रकारले विनियमावली तय गरी न्यूनतम पारिश्रमिक र सेवासुविधा थप हुनुपर्ने भन्दै शुरु गरेको दबाब अभियानमा महासंघको ऐक्यबद्धता छ । महासंघले व्यवस्थापन पक्षले विसं २०७३ पुस २५ गते श्रमजीवी पत्रकारसँग गरेको छ बुँदे सहमति अक्षरसः कार्यान्वयन गरी तत्काल माग सम्बोधन गर्न जोडदार मागसमेत गरेको छ ।

“नेपाल रिपब्लिका मिडिया प्रालि र टीबीआई पब्लिकेसन्स प्रालिले एक साताभित्रै श्रमजीवी पत्रकारका माग र गुनासा सुनुवाइ गरी सम्बोधन गर्न महासंघ आग्रहसमेत गर्दछ । महासंघको आग्रहलाई बेवास्ता गरी समस्या समाधानमा उदासिनता देखाए महासंघले कडा कदम चाल्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्