- केपी शर्मा ओली/पुष्पकमल दाहाल ‘प्रचण्ड
पार्टी एकताको प्रक्रियालाई पूर्णता दिने, संविधान कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने तथा जनताको सुशासन र विकासको आकांक्षालाई सम्बोधन गर्ने गहन र चुनौतिपूर्ण जिम्मेवारी हाम्रो काँधमा छ । यी ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्दर्भमा केन्द्रीय कमिटिको बैठक केही ढिलो हुन गएको छ । त्यो ढिलाईका पछाडि एकता प्रक्रिया, संविधान कार्यान्वयन र सरकारी कामका केही विशिष्टता र जटिलता अवश्य रहेका छन् तथापि, यस प्रकारका ढिलाईको मुख्य जिम्मेवारी पार्टीको मूल नेतृत्वले लिनु पर्दछ, किनकी केन्द्रीय समितिको पहिलो बैठकमा नेतृत्वका तर्फबाट पार्टी एकता प्रक्रियालाई तीन महिनामा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । तर ढिलै भए पनि अन्ततः पार्टी एकता प्रक्रियालाई मूलभूत रूपमा पूरा गरी हामी केन्द्रीय कमिटिको यो दोस्रो पूर्ण बैठकमा आइपुगेका छौं जुन, सिंगो पार्टी पंक्तिका लागि खुसी र सन्तोषको विषय हो । आगामि दिनमा केन्द्रीय कमिटिको बैठकलाई विधानको व्यवस्था एवम् आन्दोलनको आवश्यकता अनुसार नियमित गर्ने र विगतका कमीहरूप्रति आत्मालोचित हुँदै तिनबाट शिक्षा लिने र प्रतिवद्धता सहित यो बैठकलाई अगाडि बढाउन आवश्यक छ ।
सामान्यतः नेपालको राजनीतिक आन्दोलन एवम् विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्ने असाधारण पहलकदमीका रूपमा हाम्रो पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा देशलाई राजनीतिक स्थायित्व प्रदान गर्न, देशको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न तथा भौगोलिक अखण्डताको रक्षा गर्न, सामाजिक न्यायसहित विकास र समृद्धिको नयाँ युग तिर समाजलाई अघि बढाउन, सार्वभौम समानता र पारस्परिक हितसहित पञ्चशीलका सैद्धान्तिक आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न पार्टी एकताको ऐतिहासिक भूमिका रहेको छ । लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दुई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पंक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ ।
शान्तिपूर्ण र बहुदलीय प्रतिष्पर्धा मार्फत संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभूत वैचारिक समानता एवम् पार्टी नेतृत्वको समुचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो । एकताको यो ऐतिहासिक पहल र निर्णयलाई सिंगो पार्टी पंक्तिले उत्साहका साथ आत्मसाथ गरेको तथा आम जनसमुदायले समेत निर्वाचन मार्फत अनुमोदन गरेको तथ्यले एकताको आवश्यकता र निर्णयको सहिपनालाई प्रमाणित गरेको छ । एउटा सजिव पार्टीमा चल्ने बहस र आन्तरिक वाद–विवादको प्रक्रियाले पार्टी एकताले खेलेको उपरोक्त ऐतिहासिक भूमिकाको अवमूल्यन हुन नपाओस् भन्ने कुरामा प्रत्येक पार्टी सदस्य हरदम सचेत र जागरुक रहन जरुरी छ । देश भित्र र बाहिरका प्रतिक्रियावादी तत्वहरूलाई यो पार्टी एकता असैह्य भएको तथा यसलाई कमजोर पार्न र तोड्न अनेक षडयन्त्र भइरहेको वर्तमान सन्दर्भमा पार्टी भित्रका प्रत्येक वाद–विवाद र बहसलाई पार्टी एकता सदृढ गर्ने मूल उद्देश्यसँग जोडेर अगाडि बढाउने कुरामा विशेष ध्यान दिन जरुरी छ ।
पार्टी एकतालाई सदृढ गर्ने तथा पार्टी र सरकारका कामहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने कुरा, आफ्ना कामका सकारात्मक र नकारात्मक पक्षहरूको वस्तुवादी समिक्षा गर्ने प्रश्नसँग जोडिएको हुन्छ । सकारात्मक कामहरूको सकारात्मक रूपमै जनसमुदायमा प्रचार र स्थापित गर्ने तथा नकारात्मक एवम् कमिकमजोरीका पक्षलाई खुलस्तरूपमा स्वीकार गर्ने, तिनबाट शिक्षा लिने र सच्च्याउने तथ्यमा नै कम्युनिष्ट पार्टीको अपराजयेता एवम् निरन्तर औचित्य पुष्टीको रहस्य लुकेको हुन्छ । हामीले केन्द्रीय कमिटिको यो बैठक एवम् पार्टीका सबै स्तरका कमिटिहरूको बैठकका सन्दर्भमा यो स्पिरिटलाई दह्रोसँग समात्नु पर्दछ । केन्द्रीय कमिटिको यो बैठक प्रति स्वाभाविक रूपमा देश भित्र र बाहिरका सबै खाले शक्तिहरूको चासो छ । हामीले स्वस्थ र रचनात्मक छलफल सहित पार्टी एकतालाई अझ सदृढ गर्दै बैठकलाई पूर्ण रूपले सफल पार्ने कुरामा ध्यान केन्द्रित गर्नु पर्दछ ।
हाम्रो राजनैतिक प्रतिवेदनले यस सन्दर्भमा गरेको निम्न निश्कर्षलाई सिंगो पार्टीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दलाल नोकरशाही पूँजीवाद हाम्रो समाजमा राष्ट्रिय पूँजीको विकासका लागि मुख्य अवरोधका रूपमा रहेको छ । यसले उत्पादनशील लगानी र पुनर्उत्पादनको प्रक्रियालाई प्रोत्साहित गर्दैन, उल्टै कमजोर बनाउँदछ । प्रगतिशीत उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि, आर्थिक विकास र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणलाई यसले अवरुद्ध पारिरहेको छ । त्यसका अतिरिक्त बिना लगानी र श्रम ठूलो मात्राको आम्दानी गर्ने यसै वर्गको प्रभावका कारण समाजमा उपभोक्तावाद चरमरूपमा प्रोत्साहित भएको छ । उद्योगधन्दा, कलकारखानामा लगानीद्वारा गरिने पूँजी निर्माणको प्रक्रिया भन्दा बाहिरबाट नै ठूलो आम्दानी गर्ने यो वर्गले उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा विलासितामा खर्च गर्दछ । त्यसले गर्दा पुरै समाजमा उपभोक्तवादी संस्कृति बढ्दै गइरहेको छ । विप्रेषणबाट प्राप्त रकमको ठूलो हिस्सा अनावश्यक रूपमा यस्तैमा खर्च भइराखेको छ । आधारभूत आवश्यकताका विषयमा खर्च गर्न धौ–धौ पर्ने परिवारले पनि ऋण खोजेर वा अचल सम्पत्ति बेचर ‘सामाजिक हैसियत’ कायम राख्ने नाममा अनावश्यक रूपमा खर्च गरिरहेका छन् । यो प्रक्रियाले समाजको आर्थिक विकासलाई नकारात्मक असर गरेको छ ।
उपरोक्त तथ्यहरूबाट नेपाली समाजको सामाजिक–आर्थिक संरचनाको मूल चरित्र स्पष्ट हुन्छ । नेपाली समाज मूलतः पूँजीवादी समाजमा रूपान्तरित भएको छ । नेपाली जनवादी क्रान्ति आधाभूत रूपले सम्पन्न भएको छ । तर, नेपालमा राष्ट्रिय पूँजीको विकास कमजोर अवस्थामा छ । सामन्तवादका अवशेषहरू पनि अझै केही बाँकी छन् र विभिन्न रूप र मात्रामा नवऔपनिवेशिक शोषण–उत्पीडन कायमै छ । यसलाई अन्त्य गरेर राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्नु अत्यावश्यक छ । नेपाल गौरवशाली सभ्यता, इतिहास र संस्कृति भएको संसारकै पुरानो मध्ये एक र सधैंभरि स्वतन्त्र अस्तित्वमा रहेको राष्ट्र हो । हजारौं वर्ष अगाडिदेखि नेपालले मानव सभ्यता र विश्व शान्तिका सन्दर्भमा योगदान गर्दै आएको छ र बहुलता, विविधता, सांस्कृतिक सहचार्य र सामाजिक सद्भावको विशिष्ट पहिचान कायम राख्दै आएको छ । विश्वमा उपनिवेशवादको बिगबिगी भएको बेला पनि वाह्य साम्राज्यवादी आक्रमणबाट देशको स्वतन्त्र अस्थित्व कायम राख्न सफल हाम्रो इतिहासप्रति हामीलाई गर्व छ ।
हाल सालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपु लेक र सिमा नदी महाकालीको मुहान लिम्पियाधुरालाई समेत आफ्नो भू–भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइनैसकेको छ । हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कुटनैतिक सम्वाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमीबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ । हाम्रो पार्टी र सरकारले सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।
पार्टी एकता सदृढ गर्ने सम्बन्धमा
पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनैतिक विकासमा एकताले खेलेको असाधारण भूमिका बारे माथि नै चर्चा गरिसकिएको छ । तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण आज पार्टी ंसंगठन कमजोर अवस्थामा रहेका छन् । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू कायम छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ । उपरोक्त स्थितिमा सुधार ल्याउन बिचार र विधिमा स्पष्टता सहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन । विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्नु निम्न कुरहरूमा विशेष ध्यान दिनै पर्दछ ।
पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रूपमा अगाडि बढाउनु पर्छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परिक्षा प्रणाली समेत अपनाउनु जरुरी छ । पार्टीको राजनैतिक प्रतिवेदन र विधान बारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाईमा एकरूपता ल्याउन जरुरी छ । आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ । पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदानबारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रूपले पार्टीमा स्थापित गरिनुपर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ । पार्टी मुखपत्र एवम् अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनावद्ध रूपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।
शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्नु तथा दलाल–नोकरशाही पूँजीवादी, शोषण–उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पार्टीको तत्कालिन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनुपर्दछ । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्नु, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्नु आवश्यक छ ।
सबै पार्टी कमिटि, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तिमा तीन महिनाको कार्य योजना तयार पारी कार्यन्वयनमा जाने । कार्यन्वयन प्रक्रियाको समीक्षा गरी सामूहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्दछ । पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दतिविपरीत बोल्ने, लेख्ने पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्न आवश्यक छ । अनुशासनहीन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।
पार्टीको आगामि कार्यक्रमको रूपरेखा
हाम्रो पार्टी एकता वस्तुगत राष्ट्रिय आवश्यकता र जनताको चाहना अनुरूप भएको हो । यो एकीकरणले जनताको पक्षमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन, राजनीतिक स्थायित्व हासिल गर्न र सामाजिक आर्थिक रूपान्तरणका पक्षधर शक्तिहरूलाई सुदृढ बनाउन अत्यन्तै महत्वपूर्ण योगदान गरेको छ । तर एकता प्रक्रियाले अनपेक्षित रूपमा लामो समय लिंदा पार्टी पंक्ति र आम जनतामा अन्यौलको स्थिति सिर्जना हुन पुग्यो । दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरू बीचको एकता प्रकृयालाई सफल बनाउने काम चुनौतीपूर्ण थियो नै । तर तीन महिनामै पार्टी एकता सम्पन्न गर्ने योजनाका साथ पूर्व कमिटिहरू भंग गरिनु तर एकता सम्पन्न गर्न भने लामो समय लाग्नुले स्थानीय स्तरमा राजनीतिक तथा संगठनात्मक कार्यमा गतिरोध हुनपुग्यो । यसैबाट पार्टी आन्दोलन र देशलाई पनि क्षति पुग्न गयो । तर ढिलै भए पनि यतिबेला आधारभूत रूपमा पार्टी एकताको काम सम्पन्न भएको छ । अब पार्टी एकताको सन्देशलाई पार्टी पंक्ति र जनस्तरमा विस्तार गर्न सकिने आधार तयार भएको छ । यस अवसरलाई पार्टीले बिना कुनै विलम्ब सदुपयोग गर्नु पर्दछ ।
यतिबेला हामी प्रतिक्रियावादी तथा यथास्थितिवादी कित्ताबाट हुनसक्ने षडयन्त्र र आक्रमणलाई परास्त गर्दै जनतामा आशा, उत्साह एवं आत्मविश्वास जगाउन र राजनीतिक क्षेत्रको परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तारित गर्दै परिवर्तनको प्रकृयालाई सही दिशामा अघि बढाउन सक्षम हुनुपर्दछ । यसका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर केन्द्रीकृत योजनाका साथ क्रियाशील हुनु आवश्यक छ । युगान्तकारी परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्दै नेपाली समाजलाई विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउन जरुरी छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरूप जनताको जनवाद कार्यान्वयन गर्न र समाजवाद निर्माणको आधार तयार गर्न जरुरी छ । र, यसका लागि सिंगो पार्टी पंक्तिलाई एकतावद्ध रूपमा परिचालित गर्न र पार्टीको पक्षमा जनताको व्यापक समर्थन संगठित गर्न आवश्यक छ ।
पार्टी काम कुनै ‘पार्ट टाइम’ या आवधिक या मौसमी काम होइन । पार्टीको सम्पूर्ण संगठनात्मक संरचना र पार्टी पङ्क्ति हरहमेशा एउटा अभियानमै हुन्छ, हुनु पर्दछ । संगठन निर्माण र परिचालन, प्रचारप्रसार र जनसम्पर्क, सामाजिक आर्थिक रूपान्तरण र विकास निर्माण, विकृति विसंगतिको विरोध र सुशासनका लागि जनपरिचालन एवं पार्टीका वैचारिक कामहरू पार्टी जीवनका अभिन्न अङ्ग र नियमित कामभित्र पर्दछन् । राष्ट्रव्यापी या स्थानीय स्वरूपका अभियानहरू नचलेका बेलामा पनि पार्टी कमिटी र सदस्यहरूले यी कामलाई नियमित रूपमा सञ्चालन गरिरहनु पर्दछ । तर पनि निश्चित उद्देश्यका लागि भने खासखास बेलामा पार्टीले राष्ट्रव्यापी अभियान सञ्चालन गर्छ, जसले पार्टीका तत्कालीन अभिभाराहरूप्रति आमजनतामा जागरण ल्याउन, पार्टी पङ्क्तिमा नयाँ उर्जा र गतिशीलता सिर्जना गर्न र पार्टी र जनताबीचको सम्बन्धलाई थप घनिष्ट बनाउन मद्दत गर्दछन् ।
यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रूपमा प्रतिकुल अन्तराष्ट्रिय परिस्थितिका बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास कै सौभाग्यशाली पुस्ता हौं, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो । इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रूपान्तरण सहज छैन, तर हामीले रूपान्तरण गर्नै पर्छ र सबैको साथ लिएर यो अभिभारा पुरा गर्नै पर्छ । हाम्रो एकतालाई सदृढ गरौँ र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौँ ।
(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १५ देखि १९ माघसम्म चलेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत राजनीतिक प्रतिवेदनको सम्पादित अंश)