Logo
Logo

लक्जेम्बर्गलाई आर्थिक समृद्धिसँग जोडौं


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

विश्वको दोस्रो धनी मुलुक लक्जेम्बर्गका विदेशमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ जीन एसेलबोर्नले गएको साता नेपाल भ्रमण गरेका छन् । लक्जेम्बर्गको प्रतिव्यक्ति आय एक लाख १४ हजार ३६० अमेरिकी डलर हाराहारी छ । विश्वकै पहिलो धनी देश कतारको प्रतिव्यक्ति आय एक लाख २० हजार ८९० अमेरिकी डलर रहेको छ । लगभग साढे ६ लाख जनसंख्या भएको मुलुक लक्जेम्बर्गमा पनि साढे पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । यहाँका नेपालीहरु विशेषतः रेष्टुरेन्टको व्यवसायमा संलग्न छन् ।

स्वीट्जरल्याण्डपछि लक्जेम्बर्गलाई विश्वको वित्तीय राजधानी मानिन्छ । उदार कर व्यवस्थाका कारण विश्वका प्रमुख वित्तीय संस्थान र बैंकका केन्द्रीय कार्यालय लक्जेम्बर्गमै रहेका छन् । हालका दिनमा लक्जेम्बर्गको प्रमुख आयको स्रोत पनि यही नै हो । धर्मनिरपेक्ष लक्जेम्बर्ग संयुक्त राष्ट्रसंघ, नेटो र इयूको संस्थापक देश पनि हो ।

विश्वकै सबभन्दा धनी व्यक्ति जेफ्री प्रिस्टन बेजोसको कम्पनी एमेजोनको केन्द्रीय कार्यालय पनि लक्जेम्बर्गमै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिजिटल नेपालको सपना पूरा गर्न लक्जेम्बर्गबाट धेरै सहयोग प्राप्त हुन सक्दछ । किनभने लक्जेम्बर्ग विशेषज्ञता प्राप्त मुलुक हो । यस्तै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन चाहिने वित्तीय स्रोतका लागि पनि लक्जेम्बर्ग आकर्षक गन्तव्य हो । नेपाल पूर्वाधार विकासका साथै कृषि, पर्यटन र अन्य क्षेत्रमा लक्जेम्बर्गको लगानी आकर्षित गर्न सकिन्छ । त्यसका लागि निरन्तर कूटनीतिक पहल भने आवश्यक छ । विश्वका धेरै मुलुकहरुमा नेपालको दूतावास छ । ती दूतावासमा सरकारको करोडौं लगानी छ । तर, दूतावासबाट उपलब्धि भने शून्यजस्तै छ । आर्थिक कूटनीतिलाई प्रभावकारी बनाएर कुन देशबाट कस्तो खालको लगानी सम्भव छ भन्ने कुरा सरकारले प्राथमिकतामा राख्नु पर्छ । र, त्यस्ता देशबाट नेपाल भ्रमणमा आउने सरकार प्रमुख अथवा प्रतिनिधिमण्डलसँग गहन छलफल गरिनुपर्छ । दुवै देशका सरकारहरुबीचको औपचारिक भ्रमणलाई आर्थिक कूटनीतिको माध्यमबाट जोड्न सक्यौँ भने दुवै देशले फाइदा उठाउन सक्छ । प्रधानमन्त्री ओली र विदेशमन्त्री जीनबीच द्विपक्षीय वार्ता भएका छन् । त्यो वार्तालाई कूटनीतिमार्फत निरन्तर ‘फलोअप’ गर्न सक्यौँ भने मात्र ती कार्यान्वयनको अवस्थामा पुग्छ । अन्यथा, हात्ती आयो फुस्सा भनेझैँ हुन्छ ।

सन् १९७५ मा नेपाल र लक्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको अवसरमा लक्जेम्बर्गले नेपाल– लक्जेम्बर्ग सम्बन्ध सुदृढ पार्न एक कार्यक्रमको समेत आयोजना गरेको थियो । चाखलाग्दो कुरा के छ भने भूवरिवेष्ठित मध्य युरोपिय मुलुक लक्जेम्बर्गका प्रधानमन्त्री जेभिएर बेट्टेलका जीवनसंगी पुरुष गडथिर डेस्टिनी हुन् । उनी विश्वका एक मात्र समलैंगिक प्रधानमन्त्री हुन् । र उनले पुरुषसँगै विवाह गरेका छन् ।

विसं २०७१ मा त्यतिबेलाका प्रधानमन्त्री सुशील कोइरालाले लक्जेम्बर्गको भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीसँग लक्जेम्बर्गका विदेशमन्त्री जीनसँग भएको भेटमा दुई देशबीच व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण र युरोपियन युनियनबाट प्राप्त हुने समर्थनबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा नया संविधान जारी भएपश्चात् लगानीको लागि उचित वातावरण बनेको हुँदा नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन जीनसँग अनुरोध गर्नुभएको थियो ।

नेपालले लक्जेम्बर्गसँग इन्टरनेट प्रविधि हस्तान्तरण, वित्तीय क्षेत्रमा उसको विशेषज्ञता र ऊसँग भएको अथाह वित्तीय स्रोत भित्र्याउनका लागि कूटनीति घनिभूत पार्नु पर्दछ । जसले गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना छिटोभन्दा छिटो पूरा हुन सकोस् ।

twitter:rmshghimire

प्रतिक्रिया दिनुहोस्