Logo
Logo

विमानस्थलमा फेरि सेटिङ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ माघ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर सुरक्षा व्यवस्था भएको भन्दै अन्तर्राष्ट्रियस्तरमै आलोचना भइरहेको छ । सरकारले विमानस्थलको सुरक्षालाई चुस्त बनाउनुभन्दा लापरबाही गर्दै गएको छ । जसबाट सुरक्षाको जोखिम झन् बढेको छ ।

सुनदेखि डलरतस्करीको अखडा बन्दै आएको विमानस्थलको सुरक्षामा गृह मन्त्रालयले नै लापरबाही गरेको छ । विमानस्थलमा डिआईजीको दरबन्दी कायम गरिएको छ । तर,कहिले डिआईजी त कहिले एसएसपीलाई खटाइने गरिएको छ । अहिले विवादास्पद एसएसपीको नेतृत्वमा विमानस्थल चलेको छ । उनका गतिविधिका कारण विमानस्थलको फेरि बदनाम हुनसक्ने प्रहरी अधिकारीको चिन्ता छ ।

एसएसपी रामकृपाल साहलाई विमानस्थल प्रहरीको प्रमुख बनाइएको छ । उनी यसअघि विभिन्न जिल्लाहरुमा हुँदा घुसकाण्डमा परेका प्रहरी अधिकृत हुन् ।

विमानस्थल इन्चार्ज भएलगत्तै उनले गोप्य टिमहरु बनाएर अवैध धन्दा सुरु गरेका छन् । सई गोपीराम भण्डारीलाई सुबेदार मेजर बनाएका छन् । उनै भण्डारीले सेटिङअनुुसार डिउटी खटाउने र पैसा असुल्ने गरेको स्रोत बताउँछ ।

विमानस्थलमा डेढ महिनाअघिसम्म डिआईजी सूर्य उपाध्याय प्रमुख थिए । उनीभन्दा जुनियर डिआईजी विश्वराज पोखरेल महानगरीय प्रहरीको प्रमुख भएपछि जुनियरको कमाण्डमा काम नगर्ने भन्दै विदा लिएर सरुवा मागेका थिए । यसअघि पनि सन्दीप भण्डारीलाई केही महिना विमानस्थल प्रहरीको प्रमुख बनाइएको थियो । उनी डलर तस्करीमा संलग्न व्यक्तिलाई छाडेकोमा घटनामा बल्लतल्ल जोगिएका थिए ।

अहिले पनि विमानस्थलका पसलहरुबाट अवैध धन्दा भइरहेको स्रोत बताउँछ । एसएसपी साहसँग सेटिङ मिलाएर उनीहरुले यस्तो धन्दा चलाइरहेका छन् । विगतमा प्रहरीको सेटिङमा विमानस्थलबाट सुन र डलर तस्करी भएको थियो । अहिले फेरि सेटिङ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्