अनेकौं स्वार्थ र दाउपेचहरूमा राजदरबारभित्र अनेकौं पटक काटमारका घटनाहरू भए । यस्ता घटनाहरूका कारण राजनीतिक अवस्था र व्यवस्थामै उथलपुथल हुन पुग्दा देशमा कहिल्यै पनि स्थिरता कायम हुन सकिरहेको छैन । देश दिनदिनै गम्भीर संकटतर्फ उन्मुख हुँदै गइरहेको छ ।
वि.सं. १८६३ मा राजा रणबहादुर शाहलाई उनकै सौतेला भाइ शेरबहादुर शाहीले तरबार प्रहार गरी ठाउँका ठाउँ बनाइदिए । त्यसपछि भीमसेन थापाको खाँडो जाग्यो । लामो समयसम्म अधिनायकका रूपमा स्थापित भई शासन गर्दा जीवनको अन्तिम समयमा उनले पनि विष्णुमतिको किनारमा वेवारिसे अवस्थामा बडो मुस्किलले प्राण त्याग गर्नु पर्यो ।
भीमसेनका भतिजा माथवरसिंह थापा शक्तिमा आउँदा प्रतिशोधको आगोमा जल्दै उनले पाँडे खलकको रगतको खोला बगाए । उनले पनि प्रधानमन्त्री भएकै अवस्थामा भाञ्जा जङ्गबहादुरको गोली प्रहारबाट ज्यान गुमाउनु पर्यो । वि.सं. १९०३ को कोतपर्वबाट जङ्गबहादुरजस्ता निरङ्कुश शासकको उदय भयो । उनैले सुरू गरेको जहानियाँ शासन १०४ वर्षसम्म चल्यो ।
दरबारभित्रको हत्याकाण्डको श्रृङ्खला २०५८ साल जेठ १९ गतेसम्म आइपुग्दा राजा वीरेन्द्रको वंशविनाश मात्र भएन यसले लामो समयसम्म चलेको शाहवंशीय राजसंस्था नै समाप्त हुन पुग्यो ।
नेपालका इतिहासकारहरूले दरबारमा भारदारहत्यामा बढि दोष भीमसेन थापा र जङ्गबहादुर राणामाथि थोपर्ने गरेको देखिएको छ । हुन पनि यी दुई आफ्ना विरोधीलाई सिध्याउने क्रममा प्रतिस्पर्धीजस्तो देखिन्छन् । नातामा हजुरबा र नाती पर्ने यी दुई शासक नेपालमा लामो समयसम्म शासन गर्ने शासक हुन् । यी दुईले आफ्नो लामो समयसम्मको शासनकालमा आफ्नो स्वार्थअनुसार गर्नु नगर्नु सबै गरे ।
दरबारमा पहिलो भारदार हत्या ?
वि.सं. १८३५ मा राजकुमार बहादुर शाहले नायव महारानी राजेन्द्रलक्ष्मीले मूलकाजीका रूपमा नियुक्त गरेको सर्वजित रानाको हत्या गराएका थिए । यसलाई इतिहासकारहरूले राजदरबारभित्र भएको पहिलो भारदार हत्याका रूपमा लिने गरेका छन् ।
वि.सं. १८३५ भदौ २१ गते आफ्ना काका दलजित शाहको अग्रसरतामा काजी श्रीहर्ष पन्तलाई साथमा लिई राजभवनभित्र रहेका केही कमारा केटाहरूलाई समेत आफ्नो पक्षमा मिलाएर बहादुर शाहले सर्वजित रानालाई राजभवनको छिँडीभित्र कटाइदिएका थिए (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’–२०६८ः५) ।
त्यसैबेला शक्तिमा आउँदा बहादुर शाहले आफ्नी भाउजु राजमाता राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकी कैदमा राखेका थिए ।
भारदार हत्या गर्ने क्रममा दरबारमा शक्तिको हानाथाप हुँदा राजेन्द्रलक्ष्मीले पृथ्वीनारायण शाहकालीन काजी कालु पाँडेका छोरा वंशराज पाँडेलाई वि.सं. १८४२ वैशाख १२ गते दरबारकै भण्डारखाल बगैंचामा कटाइदिइन् । त्यसबेला उनले मुगलान भासिइसकेका स्वरूपसिंह कार्कीलाई बोलाएर जिम्मेवारी दिएकी थिइन् । यी देवर र भाउजुको सल्लाहमा स्वरूपसिंह कार्कीलाई पनि वि.सं. १८४२ साउनको अन्तिमतिर काटियो । (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६०–माघ २०४१ः३८–३९)
आचार्य (२०६८ः५)ले तत्कालीन मूलकाजी सर्वजित रानालाई काटेको घटनालाई बहादुर शाहले जीवनमैै पहिलोपटक गरेको एउटा अक्षम्य भूल भनेका छन् । आफ्ना भाईभारदारलाई कुनै पनि हालतमा नमार्नू भन्ने आफ्ना पिता पृथ्वीनारायण शाहको तात्त्विक निर्देशनविपरित आफ्ना भारदार काजी सर्वजित रानाको नृशंसकतापूर्वक गरिएको भूलका कारण नेपालको राजनीतिक रङ्गमञ्चमा भारदारहरूको हत्या गरिने एउटा घृणित श्रृङ्खला नै सुरू भएको आचार्यको तर्क छ ।
त्यसो त बहादुर शाहको मरण पनि कालगतिले हुन पाएन । रणबहादुर शाह जवान भएपछि उनलाई विभिन्न आरोपहरू लगाइयो । उनको मृत्यु वि.सं. १८५४ असार १५ गते बन्दी अवस्थामा अस्वभाविक र रहस्यमय ढङ्गबाट भयो । बहादुर शाहको पारिवारिक स्रोतअनुसार रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो । त्यसको पीडाले अन्ततः उनको मृत्यु भयो । त्यसअघि उनकी पत्नीको बद्नामी गर्ने चेतावनी दिइएको थियो (डा. भद्ररत्न बज्राचार्य, ‘ईकान्तिपुर’–२०७३ जेठ २९) ।
भारदार हत्या नगर्ने पृथ्वीनारायण शाहको नीति थियो ?
आचार्यको माथि उल्लेखित भनाइअनुसार पृथ्वीनारायण शाहको ‘आफ्ना भारदारहरूलाई कुनै पनि हालतमा नमार्नू’ भन्ने नीति थियो ।
बाबुराम आचार्यको तर्कलाई समर्थन गर्दै पृथ्वीनारायण शाहको यस्तै नीति रहेको अर्का इतिहासकार ज्ञानमणि नेपालले पनि दोहोर्याएका छन् । उनले लेखेअनुसार नेपालमा पृथ्वीनारायण शाहको उदय भएपछि दरबारी खेलचुक्लीका घटना बन्द भएका थिए । उनका पालाभरि दरबारमा आफ्ना मान्छे मार्ने, मराउने घटना बन्द भएका थिए ।
यस्ता षडयन्त्रबाट मारकाटका कुरा सुन्नमा पनि आएनन् । उनले त ज्यान सजाय पाउने कसुर गरे भने पनि राजाले आफ्ना भारदारलाई मार्दै नमार्नू, राजाले त्यस्ता मान्छेलाई लडाइँमा झोसिदिनू, जितेर आएछ भने बेशै भयो, कथंकदाचित् मारिएछ नै भने पनि आफ्ना हातमुखले मार्नु मराउनु परेन भन्ने पनि स्पष्ट निर्देशन दिएका थिए (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः५) ।
पृथ्वीनारायण शाहले भारदारको हत्या नगर्नू भन्ने नीति थियो भन्ने तर्कलाई अगाडि सार्न उनको उपदेश भनी प्रचारित एउटा पुरानो लिखितलाई लिइने गरिएको छ । त्यो लिखतलाई ‘पृथ्वीनारायण शाहको उपदेश’ भनी प्रचार गरिदै आएको छ ।
बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा सम्पादित ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ २०६१ः५१)मा ‘पांडे बस्न्यात् पंथ भैयाद मग्रलाई मारातप् दिदा आलोपालोगरि षान दिनु. ई मेरा नुन् गुन्का स्वझा हुन्. ईनीहरूको जीव जान्या बिराम गर्याका या पनि आफुले नमार्नु. बरू मारातप् दिएर लडाँञीमा झोसि दिनु र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफुले मार्नु (भन्दा) अर्कैबाट मारिदियाको बढिया हुन्छ. अव राजाले सेवकलाई घरमा नमार्नु’ भन्ने उल्लेख छ ।
यसबाट पृथ्वीनारायण शाह आफ्ना भारदारले जस्तोसुकै अक्षम्य भूल गरे पनि उनीहरूलाई मार्न नहुने र कठीन प्रकारको लडाइँमा उनीहरूलाई पठाउनु पर्ने पक्षमा रहेका थिए भन्ने देखिन्छ । लडाइँ जितेर आए उनीहरूको हिजोको गल्ती क्षम्य हुने र उतै मारिए उनीहरूको मरणको दोष आफूले बेहोर्नु नपर्ने भन्ने भनाइ पृथ्वीनारायण शाहको रहेको भन्ने देखिन्छ ।
के यो कुरा सत्य हो त ? पृथ्वीनारायण शाहले आफ्ना भारदारलाई मारेका थिएनन् त ? यो लेखमा यसै प्रश्नको उत्तर खोजी गरिएको छ ।
राजा नहुँदै द्वारेको हत्या
आफ्नो राज्यकालमा नरभूपाल शाहलाई राजकाजमा त्यति रूचि नहुँदा चौतारा महारानी चन्द्रप्रभावतीको दरबारमा निक्कै ठूलो प्रभाव जमेको थियो । उनी केसौ (केशव) द्वारेको कुरा सुन्थिन् अर्थात् केशव द्वारे महारानीका विश्वास पात्र थिए ।
पृथ्वीनारायण शाह सानै उमेरदेखि निक्कै रिसाहा थिए । उनी रिस थाम्न सक्दैनथे । त्यहीँ रिसको झोँकमा किशोरावस्थामै एक जना द्वारेलाई उनले मारिदिएको वंशावलीमा लेखिएको छ ।
पृथ्वीनारायण शाह आफ्ना बुबा नरभूपाल शाहको मृत्यूपछि वि.सं. १७९९ मा राजा भए । उनी राजा हुनुअघि नै उनले दरबारका एक भारदारको हत्या गरेका पाइन्छ । वंशावलीहरूमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाहले आफ्ना साथीहरूका साथ नसोधिकनै केशव द्वारेको बारीको उखु खाइदिए । यो विषयमा ती द्वारेले तत्कालीन महारानी चन्द्रप्रभावतिलाई उजुरी गर्दा रिसाउन पुगेका पृथ्वीनारायण शाहले तत्कालै ती द्वारेको हत्या गरेको वंशावलीहरूमा उल्लेख छ ।
‘नेपाल देशको इतिहास’ (‘प्राचीन नेपाल’, सङ्ख्या २१–कात्तिक २०२९ः१०) अनुसार पृथ्वीनारायण शाह एक दिन दरौदीमा पौडी खेल्न गएका थिए । पौडी खेलिसकेपछि उनलाई उखु खान मन लाग्यो र आफ्ना मानिसहरूलाई उखु खोजेर ल्याउन आदेश दिए । तर उनीहरूले कतै उखु पाएनन् । केशव द्वारेको बारीमा मात्र उखु देखिएको । तर, उनी साइधुँवा रहेको भन्ने विन्ती उनका मानिसहरूले पृथ्वीनारायणसमक्ष जाहेर गरे । त्यसपछि उनी आफै अघि सरेर केशव द्वारेको बारीमा पसी केही लाक्रा उखु खाइदिए ।
यो सुनेपछि केशव द्वारेले चौतारा महारानी चन्द्रप्रभावतीसमक्ष पृथ्वीनारायण शाहविरूद्ध उजुरी गरे । महारानीले रिसाउँदै पृथ्वीनारायणलाई ‘अरूको बगैँचामा किन हातपात गर्यौ ?’ भनी सम्झाए । तर पृथ्वीनारायण भने उल्टै ८–१० लाक्रा उखु खाँदैमा यस्तो कुराको उजुरी गर्ने भनी खुब रिसाए, त्यसपछि केशव द्वारेलाई बिगारे ।
यहाँनेर बिगारे भन्नाले ज्यान लिए भन्ने बुझ्न सकिन्छ ।
‘गोरखा वंशावली’मा त केशव द्वारेलाई बिगारे (मारे) पछि केही भारदारहरूलाई देश निकाला गरेको समेत उल्लेख छ । पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (सङ्ख्या २९–कात्तिक २०३१ः२२) मा यसबारे यस्तो लेखिएको छ, ‘…१०–८ ढाक उषु षादामा एति कुरा पनि विन्ति गर्न आउन्या यो बडो छुस्कर रहेछ भनि रिसानि हुनुहुदो भयो. सकल मुलुकको हालिमुहालि भयाको हुनाले वहांको मनवारि केहि पुकन नदिन्या जस्तो हुदा त एसलाई राषन्या होइन भनि निश्चय गरिर केसौ द्वार्यालाई बिगार्नुहुदो भयो. केसौ द्वार्या बिग्र्यापछि श्री नायक पृथ्वीनारायण साहले आफ्ना जेठा मुमा श्री ५ चौतारा महारानिसित विन्ति गरि आफ्ना भाइभैवात जहांगिर साहप्रभृति भाइहरू थरथोक ग्याङ्मिबाहेक सब मगर झिकाउनुहुदो भयो. आफुपट्टि लाग्याका भाइभैवातलाई पनि मुमाका हजुरमा विन्ति गरि कोहिलाई तिमिलाई मान नाहि मानु मात्रै षाइ बस भनि हुकुम हुदो भयो. कोहिलाई विदेश भयो. महेश्वर पन्थलाई पनि विदेश गराउनु हुदो भयो…।’
यसबाट केशव द्वारेको हत्यापछि पृथ्वीनारायण शाहबाट कसैलाई मानपद्वी खोसुवा गरेर पहिलेदेखि प्रदान गरिँदै आएको तलब भत्तास्वरूप खान्गी मात्र प्रदान गरिएको देखिन्छ भने दरबारका पुराना भारदार महेश्वर पन्थलगायत केहीलाई देश निकालासमेत गरेको देखिन्छ ।
तर इतिहास शिरोमणि बाबुराम आचार्यले भने यस प्रकरणमा पृथ्वीनारायण शाहलाई बचाउ गरेका छन् । उनले केशव द्वारेलाई नमारेको र उनका लागि दरबारको ढोका भने सधैँका लागि बन्द गरिदिएकोसम्म उल्लेख गरेका छन् ।
आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१ः७८) मा केशव द्वारेले आफ्नो उखुबारीमा केही लाँक्रा उखु भाँचिएको देखेर उनी रानी चन्द्रप्रभासँग होहल्ला मच्चाउँदै फिराद गर्न पुगे र रानी चन्द्रप्रभाले छोरालाई बोलाएर ‘तिमी ता राजा हौ । रैतीलाई राजी राखेर रजाइँ गर्नुपर्नेमा यसो किन गर्यौ ?’ भनेर हलुका हप्की दिइन् । १२–१३ वर्ष उमेरका युवराज पृथ्वीनारायणले हप्की चुपचापसँग सहेर केशव द्वारेलाई राजदरबारको ढोका बन्द गरिदिए । छोराका उत्साह भङ्ग नहोस् भनेर केशव द्वारेको ढोकाबन्दीलाई चन्द्रप्रभाले समर्थन गरिन् भन्ने उल्लेख गरेका छन् ।
तर यो पुस्तक लेखनको काम तत्कालीन युवराज वीरेन्द्रको आदेशमा आचार्यले एक परियोजनाअन्तरगत प्राप्त गरेको र राजदरबारले नै प्रकाशित पनि गरिदिएकोले उनले वंशावलीमा उल्लेख भएको तथ्यलाई यताउता गरेर पृथ्वीनारायण शाहको बचाउ गरेको हुन् भन्न नसकिने होइन ।
जसकर्ण पाँडेको हत्या
पृथ्वीनारायण शाह अनेकौं रणनीति चलाउन पोख्त थिए । आर्थिक नाकाबन्दी उनको रणनीतिमध्येको एक हुने गरेको थियो । त्यसबेला तिब्बतसँगको ब्यापार काठमाडौं उपत्यकाको मूल आर्थिक आधार रहेको थियो । पृथ्वीनारायण शाहले उपत्यकाको यस्तो आर्थिक आधारलाई तहसनहस बनाउन आर्थिक नाकाबन्दीको रणनीति लिएका थिए । यसैका लागि उनले सबैभन्दा पहिले वि.सं. १८०१ मा कान्तिपुर अधिनस्थ नुवाकोट कब्जा गरे ।
आर्थिक नाकाबन्दी सफल पार्न पृथ्वीनारायण शाहले जसकर्ण पाँडेलाई छानेका थिए । उनी जैसी पाँडे हुन् । त्यसबेला सेनामा लिएर लडाइँको काममा नलगाए पनि लडाइँका लागि सैनिक तसल्ल गर्ने र लेखपढ गर्न जान्ने हुँदा कारिन्दाको काम लगाउने उद्देश्यका साथ काठमाडौँ उपत्यकामा आर्थिक नाकाबन्दी सुरू गर्न पाँडेलाई उनले छानेका थिए, तर थोरै दिनपछि नै तत्कालीन युवराज प्रतापसिंह शाहलाई पक्राएर कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सुम्पने अपराधमा संलग्न भएको आरोपमा पृथ्वीनारायण शाहले जसकर्ण पाँडेलाई प्राणदण्ड दिएका थिए भनी इतिहास शिरोमणि आचार्य स्वयम्ले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१ः५२०–२१) मा उल्लेख गरेका छन् ।
यस प्रकरणमा जसकर्णसहित आठ जना जैसी बाहुनको पृथ्वीनारायण शाहले ज्यान हरण गरेको थिए । त्यसबेला उनीहरूको विर्ताहरण गरिनुका साथै उनीहरूले उपाध्यय ब्राह्मणलाई जदौ गर्नुपर्ने र उनीहरूले सिपाहीसित पनि दोहोरो सलाम गर्नुपर्ने चलन चलाइदिएको ‘नेपाल देशको इतिहास’ (‘प्राचीन नेपाल’, सङ्ख्या २२–माघ २०२९ः९–१०)मा पढ्न पाइन्छ ।
‘नेपाल देशको इतिहास’मा उल्लेख भएअनुसार कान्तिपुरका राजा जयप्रकाश मल्लले थानसिंहका जैसीहरूसँग युवराज प्रतापसिंह शाहलाई शिकार खेलाउने बाहनामा चिसापानी लेकमा बँदेल पार्न ल्याउने योजना रहेको थियो । यो योजना पुरा गर्न त्यस क्षेत्रमा १२ सय भोटे (तामाङ) र दुई सय मगर सेना लुकाएर राख्ने सल्लाह गरिएको थियो ।
यसको सुइको पाटनका काजी धनवन्तले गोरखाली भारदारहरू यज्ञेश्वर जैसी र शिवनन्द कोइरालालाई दिए । उनले दिएको सूचनाअनुसार यस योजना सफल पार्न जगन पाँडे (जसकर्ण पाँडे)सहित बेलकोट, थानसिङ र नुवाकोटका जैसीहरू मिलेको थिए । यज्ञेश्वर र शिवनन्दले रातारात गरी दहचोक पुगी त्यहाँ रहेका पृथ्वीनारायण शाहलाई यो कुरा जाहेर गरे । त्यसपछि हतार गर्दै युवराज प्रतापसिंह शाहलाई शिकारबाट फर्काएर ल्याइयो ।
प्रतापसिंहलाई सोधनी हुँदा उनले जगन (जसकर्ण) पाँडेले आफूलाई शिकारमा जान प्रोत्साहित गरेको पोल खोलिदिए । उनलाई कोर्रा हान्दै खुर्सानीको धुप बालेर बकाउँदा उनले आफूजस्तै आठ जनाको नाम खोले । उनीहरूलाई सास्ती दिइँदा एक जनाले छुरी धसेर आत्महत्या नै गरे । अरू ६ जनाले कान्तिपुरका राजा जयप्रकाश मल्लले आफूहरूलाई दोब्बर विर्ता दिने प्रलोभन देखाएर यस्तो काम गर्न उक्साएको बताएपछि आठै जना जैसीको ज्यान हरण गर्दै प्राणदण्ड दिइएको थियो ।
यस प्रकरणमा प्राणदण्ड पाएका जसकर्ण पाँडे दरबारका एक जिम्मेवार भारदार थिए । आचार्य (२०६१ः५२३–२४)ले प्रकाशित गरेको पृथ्वीनारायण शाहले नुवाकोट मुकामबाट राजकुमार रणरूद्र शाहसमेतलाई वि.सं. १८१६ मा लेखेको पत्रमा जसकर्ण पाँडेको नाम पनि उल्लेख छ । यो पत्र शिवपुरी क्षेत्र अम्बल गर्ने योजनाअन्तरगत लेखिएको छ । पत्रमा असार २१ गते शिवपुरी क्षेत्रमा आक्रमण गर्ने योजना रहेकोले योग्य मानिसहरू पठाउन आदेश दिइएको छ ।
तत्कालीन युवराज प्रतापसिंह शाहलाई शिकार खेल्ने बहानामा शत्रु राज्यका राजालाई सुम्पनेजस्तो कार्य निश्चय नै जघन्य अपराध थियो । अपराध सावित भएकोले जसकर्ण पाँडेलगायतका जैसीहरू सजायको भागिदार हुनु अस्वभाविक होइन ।
बाबुराम आचार्य तथा ज्ञानमणि नेपाललगायतका इतिहासकारहरूले पृथ्वीनारायण शाह भारदार हत्याका विरोधी थिए भनी जुन रूपमा उल्लेख गर्दै आएका छन्, त्यो सत्य नरहेको देखिन्छ । किनकि, पृथ्वीनारायण शाहबाट ज्यानहरणमा परेका केशव द्वारे तथा जसकर्ण पाँडे तत्कालीन गोरखा राज्यकै भारदार थिए ।
पृथ्वीनारायण शाहको उपदेश भनी प्रचारमा ल्याइएको जुन पुरानो लिखत छ, यसमा उल्लेख भएको ‘ईनीहरूको जीव जान्या बिराम गर्याका या पनि आफुले नमार्नु. बरू मारातप् दिएर लडाँञीमा झोसि दिनु र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफुले मार्नु (भन्दा) अर्कैबाट मारिदियाको बढिया हुन्छ. अव राजाले सेवकलाई घरमा नमार्नु’ भन्ने धारणाकै आधारमा उनी भारदार हत्याको विरोधी थिए भनी निष्कर्ष निकाल्दा इतिहास अधुरो र अपुरो मात्र हुन पुग्छ ।
बरू उनले आफू राजा नहुदै र राजा भएपछि अन्य राज्य जित्दै जान सुरू गरेको माथिका हत्या प्रकरणलाई समेत सम्झना गरेर प्रायश्चित भावमा आफ्नो जीवनको उत्तराद्र्धमा अबदेखि दरबारमा जस्तोसुकै गल्ती गरे पनि भारदारलाई प्राणदण्ड नदिनू भन्ने सन्देश चाहिँ दिएको हुनसक्छ ।
पृथ्वीनारायण शाह स्वयम्ले भारदारको हत्या गरेको स्पष्ट हुँदाहुँदै उनी भारदार हत्याका सख्त विरोधी थिए भनी लेख्ने बाबुराम आचार्य तथा ज्ञानमणि नेपाललगायतका इतिहासकारको निष्कर्ष तथ्यहीन छ भन्न कुनै कञ्जुस्याईको आवश्यकता छैन ।