Logo
Logo

सरकारी कागजात किर्तेमा जेल जानुपर्ने पाण्डे प्रधानसेनापति बन्दै


57.7k
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको बढुवा सिफारिस विवादमा परेको छ । जङ्गी अड्डाले विवादास्पद पृष्ठभूमिका पाण्डेलाई भावी प्रधानसेनापतिको रोल क्रममा राख्ने गरी रथी पदमा बढुवा सिफारिस गरेपछि सेनाभित्र विवाद बढेको हो । 
 
जङ्गी अड्डाले सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार रिक्त हुने रथी पदमा हाल सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख पाण्डेलाई बढुवाका लागि सिफारिस गरेको हो । 

वर्तमान रथी सरोजप्रताप राणा कात्तिक १२ गते आइतबार मात्रै अवकाशमा जाँदै थिए । तर, प्रधानसेनापति प्रभुराम शर्माले रथी राणा अवकाश हुनु १४ दिनअघि नै पाण्डेलाई बढुवाका लागि सिफारिस गरेका हुन् । बढुवाको लाइनमा पाण्डेसँगै अर्का रथी अशोक सिग्देल पनि छन् । 

जङ्गी अड्डाले असोज ३० गते नै राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरिसकेको छ । 

वरिष्ठ उपरथीमध्ये सरकारले कसलाई बढुवा गर्छ त्यो व्यक्ति नै नेपाली सेनाको २०८१ भदौ २४ गतेबाट नेपालको ४५औँ प्रधानसेनापति बन्ने सम्भावना रहन्छ । तर, प्रधानसेनापति शर्माले भावी प्रधानसेनापतिको रोल क्रममा ल्याउन विवादित पृष्ठभूमिका पाण्डेलाई सिफारिस गरेका हुन् ।

सेनामा अहिलेसम्म वरियतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा छ ।  राणा उमेर हदका कारण अवकाशमा गइसकेका छन् । उनीसँगै रहेका अर्का रथी सिताराम खड्कासमेत उमेर हदका कारण आगामी पुस ३ मा अवकाशमा जाँदै छन् । 

खड्काले पुस ३ मा अवकाश पाएपछि मात्र अर्का उपरथी अशोकराज सिग्देल सेनाको रथीमा बढुवा हुनेछन् । त्यस बेला पाण्डे उनिभन्दा तीन महिना सिनियर भइसकेका हुनेछन् । हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पुरा गरेर अवकाश पाएसँगै पाण्डे नेपाली सेनाको ४५औँ प्रधानसेनापति नियुक्त हुनेछन् ।

पाण्डेको नागरिकता विवादमा छ । नागरिकता विवादमा परेका पाण्डेलाई हालका प्रधान सेनापतिपछि नेपाली सेनाको कमान्ड सम्हाल्ने गरी रथीमा पदोन्नति सिफारिस गरिएपछि पाण्डेको बढुवा रोकी कारबाही गर्न माग गर्दै जङ्गी अड्डामा उजुरी समेत परेको छ । 

यो ७ दिनकै बिचमा पाण्डेले सरकारी कागजात किर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधान सेनापति शर्मासहित प्रधानमन्त्री, रक्षा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको हो ।

जङ्गी अड्डाले नाम सिफारिस गरे पनि मन्त्रिपरिषद्ले पाण्डेलाई बढुवा भने गरिसकेको छैन । यद्यपि उमेर विवाद बाहिर नआउँदै उनले शक्ति केन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई समेत दबाब बढाएका छन् ।

उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ । जबकि उनका अरू सरकारी कागजातमा अर्कै जन्म मिति छ ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ साल मङ्सिर १३ गते बनाइएको छ ।

पाण्डे २०४३ सालमा सेनामा भर्ती हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

पाण्डेको उमेर विवादबारे यसअघि पनि पटक पटक प्रश्न उठे पनि छानबिन हुन सकेको छैन । उनको जन्म मितिका विषयमा पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो । तर, थापाको साथ पाएपछि उनीमाथि छानबिन नभएको स्रोत बताउँछन् । 

यता नेपाली सेनाले भने पाण्डेको जन्म मितिको विषयमा पहिल्यै निक्र्यौल गरेर मात्र बढुवा सिफारिसको सूचना प्रकाशित गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्