२०७४ सालमा ल्याएको दुईतिहाइ बहुमत पचाउन नसकेर आफ्नो खुट्टामा आफैँले बन्चरो हानेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
एमालेको हरेक कार्यक्रममा ओलीले मिसन ८४ को रटान लगाउँदै आएका छन् । ०८४ साल आउन अझै ४ वर्ष बाँकी छ । त्यसबीच नेपालको राजनीतिक घटनाक्रमले कस्तो मोड लिन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
कोशी प्रदेशमा कांग्रेसको विद्रोही समूहले एमालेको सहयोगमा प्रदेश सरकार गठन गरेपछि सत्ता गठबन्धन झस्केको छ । यसैगरी सातै प्रदेश र संघमा पनि कांग्रेसले विद्रोह गर्दै जाने हो भने सिंगो देश मध्यावधिमा जान सक्छ । त्यही कुरालाई ध्यान दिएर प्रमुख प्रतिपक्ष दलका नेता ओलीले एकपछि अर्को षड्यन्त्रलाई जारी राखेका छन् । त्यो षड्यन्त्रमा कांग्रेसका नेता शेखर कोइराला फसेका छन् ।
ओलीले प्रचण्डलाई विस्थापित गरेर कोइरालालाई प्रधानमन्त्री बनाउन यो षड्यन्त्र गरेका होइनन् । बरु, कोइरालालाई प्रयोग गरेर कांग्रेसभित्र विभाजन ल्याउन उनले कोशीमा बीउ रोपेका हुन् ।
राजनीतिमा पुराना नेताको बिदाइ र नयाँपुस्ताको स्वागतको लहर चलेको छ । ‘सच्चिने कि सक्किने’ भन्ने पनि टाइमपास भइसक्यो । अब त सच्चिन उमेरले दिँदैन । सक्किने दिन आउन मात्र बाँकी छ । प्रतिक्षा गरौं, मिशन ०८४ ।
त्यो बीउ हुर्केर त्यसले कस्तो फल दिन्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिए पनि कांग्रेसभित्र विभाजनको बीउ रोप्न भने ओली सफल भएका छन् । यस घटनामा कोइराला नराम्रोसँग फसेका छन् । किनभने, कांग्रेस विभाजनको दोष जीवनभर कोइरालाले बोक्नुपर्ने छ, त्यही अपजसको भारीले कोइरालाको राजनीतिक जीवन समाप्त भएर कांग्रेसको नेतृत्व नयाँ पुस्तामा सर्ने सम्भावना पनि त्यत्तिकै छ ।
कांग्रेसको नयाँ पुस्ता देउवा र कोइरालाको कार्यशैलीबाट असन्तुष्ट छन् । सामाजिक सञ्जाल र सार्वजनिक सभाहरुमार्फत कांग्रेसका नयाँ पुस्ताले खुल्लमखुला आफ्नो धारणा राख्दै आएका छन् । यसले कांग्रेस अब नयाँ पुस्तामा जाने वातावरण बन्दै गएको छ । आजका युवाहरुको चाहना पनि राजनीतिमा नयाँ अनुहार नेतृत्वमा आउनुपर्छ भन्ने नै हो ।
यसरी ससर्ति हेर्दा मिसन ८४ मा एमालेले बहुमत ल्याउने कुरा गजेडी गफमात्रै हो । ‘अरुलाई हेर्यौ पटक–पटक, एमालेलाई हेरौं यसपटक’ भन्ने नारा एमालेले लगाएको पनि तीस वर्षभन्दा बढी बितिसक्यो । पटक–पटक एमाले सरकारको नेतृत्वमा पनि पुगिसक्यो । यो बीस–तीस वर्षमा एमाले नेतृत्वको सरकारले देश र जनताका लागि के दियो भन्ने कुरा आजका युवापुस्तालाई सम्झनासमेत छैन ।
युवापुस्ताको सोचदेखि आत्तिएर ओलीले रवि लामिछानेप्रति लक्षित गर्दै– ‘नीति, सिद्धान्त, इतिहास योगदान, अनुभव केही पनि नभएका झिल्केहरूबाट जनतालाई भ्रममुक्त बनाउनुपर्ने छ । आज अनेक प्रकारका तत्वहरू सल्बलाइरहेका छन् । बलिदान एकाथरीले दिन्छन्, तर त्यो त्याग र बलिदानको उपहास गरेर एकाथरी तत्व बडा गज्जबको झिल्के कुरा गर्दै निस्किन्छन् । झिल्के कुराका भरमा जनता अलमल्याउन खोज्छन्, बजारमा गएर उम्मेदवार खोजेर, हात उठाएका भरमा छानिएकालाई जनताले भोट हालिदिन्छन् । हाम्रो कमजोरी हो त्यो । यस्तो झिल्के कुरा गर्नेहरूले जनतालाई अलमल्याइरहेका छन् । अरू केही पार्टी त विषै छर्ने पार्टीहरू छन् । उनीहरूको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्छ ।’ भन्दै लामिछानेप्रति ओलीले तल्लोस्तरको टिप्पणी गरेका छन् ।
यसको जवाफ पनि रवि लामिछानेले मज्जैसँग दिएका छन् । नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका नेताहरुप्रति सम्मान गर्दै लामिछानेले राष्ट्रको हरेक सूचकांकलाई रातोमा पुर्याउनेलाई निर्वाचित गराउने मतदाता कस्ता भन्दै जवाफ फर्काएका छन् ।
‘नो भोटबाट न्यू भोटमा आएको पुस्तालाई बताउनै पर्ने हुन्छ, जनता पनि कस्ता, यो नयाँ दल नीति विचार केही पनि छैन, सिद्धान्त पनि केही छैन, भर्खरै आएको छ, तिनलाईचाहिँ भोट हालिहाल्ने जनता पनि कस्ता भनेर जनताको चेतनालाई पनि चुनौती दिएको यदाकदा मैले पनि सुन्ने गरेको छु, हामीलाई माया गर्ने, सद्भाव राख्ने भोट हाल्ने जनता कस्ता होइन, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटर्सहरूलाई रातोमा पु¥याउँदामा पनि अझै पनि तपाईंकै दललाई भोट हालिरहने ती भोटर्सचाहिँ कस्ता ?’
त्यस्ता पार्टीलाई मतदान गर्ने जनता कस्ता भन्ने ? प्रश्न उठाउँदै आफ्नो पार्टीलाई मतदान गर्ने जनताको भावनाको कदर गर्न ओलीलाई आग्रह गरेका छन् ।
कहाँको केपी ओली, कहाँको रवि लामिछाने । राजनीतिमा योगदानको हिसाबले यी दुईबीच तुलना नभए पनि आजका दिन यी दुईमध्ये कसलाई रोज्ने भन्ने कुराको जनमत संग्रह गर्नेे हो भने त्यही झापाका युवापुस्ताले रवि लामिछाने रोज्ने छन् ।
यो युवा पुस्तामा आएको चेतना हो । पुराना पार्टीका नेताहरु भ्रष्टाचार, कमिशनमा नडुबेको भए युवापुस्ताले नयाँ अनुहार खोज्ने थिएनन् । जसले सिंगो जीवन संघर्ष र बलिदानीमा बिताए तिनै नेताहरु सत्तामा पुगेपछि राजनीतिक नेतृत्व ठीक ढंगले चलाउन नसक्दा देशको हालत यस्तो अवस्थामा पुग्यो ।
चुनावका बेला ५ वर्षमा ५ लाख युवालाई रोजगारी दिने घोषणापत्रमा छाप्यो । ५ वर्षमा ५ लाखभन्दा बढी युवा विदेशिन बाध्य भए । कसका कारण यिनै पुराना नेताका कारण । त्यसैले नयाँ पुस्ता भाषण, गफ, उखान टुक्का होइन, परिणाममुखी काम चाहन्छन् । त्यो काम अब पुराना नेताहरुबाट सम्भव नभएरै युवापुस्ता नयाँ अनुहारको खोजीमा छन् ।
राजनीतिमा पुराना नेताको बिदाइ र नयाँपुस्ताको स्वागतको लहर चलेको छ । त्यो लहरको अगाडि जस्तोसुकै गठबन्धनले पनि धुलो चाटेको यही आँखाले देखेको छ । ‘सच्चिने कि सक्किने’ भन्ने कुराको पनि टाइमपास भइसक्यो अब त सच्चिन उमेरले पनि दिँदैन । अब सक्किने दिन आउन मात्र बाँकी छ, प्रतिक्षा गरौं, मिशन ०८४ ।