पर्वत, २२ माघ । छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भएपनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो ।
कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभावसमेत परेको छैन । उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताए ।
लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ । उनले कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने सम्भावना तत्काल नभएको बताए । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक÷दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताए ।
जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन् । सिंगो लोमान्थाङ गाउँपालिकाभर १०० भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन् । भेडा, च्यांग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन । उनले भने, ‘मानिस प्रायः घर बाहिर ननस्किने र सीमामा दोहोरो आवतजावतसमेत नरहेका कारण कोरोनाको प्रभाव छैन ।’ रासस