काठमाडौं, २२ माघ । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनी मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिए ।
नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धकसम्म भएका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए । २०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए ।
नेपाल टेलिभिजनमा विश्वघटना नामक कार्यक्रम सुरु गरेका उनले मंगलबार राति कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए इलाम जिल्लाको फिक्कलमा जन्मिएका शर्माको दुई छोरा र श्रीमती छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए । दृष्टि मिडिया प्रालि परिवार शर्माको निधनप्रति दुःख व्यक्त गर्दछ ।