काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड यतिबेला अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत रहेका एसपी मोहनकुमार थापाले सम्हालिरहेका छन् । उनी त्यहाँ पुग्ने वित्तिकै गृहमन्त्रीका निटक विचौलियाहरूले वडा प्रहरी कार्यालय बैदामका तत्कालीन प्रमुखलाई हटाएर विवादित डिएसपी राजेन्द्रकुमार श्रेष्ठलाई पठाएका छन् । त्यसअघि बैदामका डिएसपी थिए वेद जोशी । उनको मातहत रहेका इन्स्पेक्टरले चिकित्सकहरुको आन्दोलनमा लाठी चार्ज गरेको भन्दै जोशीलाई समेत कारबाही स्वरुप सरुवा गरिएको थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठनिकट विचौलियालाई मोटो रकम खर्चिएर बैदाम पुगेका डिएसपी श्रेष्ठ अवैध तरिकाले आर्थिक सहयोग संकलन गर्न थालेको त्यहाँका व्यवसायीहरूले गुनासो गरेका छन् । उनले बैदामस्थित व्यवसायीहरूलाई आतंक मच्चाएर आर्थिक संकलन गर्न थालेको स्रोतले जनाएको छ ।
श्रेष्ठले पोखरास्थित सिजी हार्डवेयर एण्ड सप्लायर्सको पैसा उठाउने ठेक्का लिएका थिए । चौधरी थरका व्यक्तिले त्यहाँस्थित डिएसपी श्रेष्ठलाई भेटेर कमिसनको डिल भएपछि बजारमा फसेको सबै पैसा उठाउने जिम्मा लिएका छन् । जबकी लेनदेनको मुद्दा प्रहरीले हेर्न मिल्दैन ।
व्यवसायीहरूलाई तपाईंविरुद्ध उजुरी परेको छ भन्दै धम्की दिएर सिजी हार्डवेयरको पैसा तिर्न दबाब दिने गरेका छन् । कसैको पनि लेनदेन भए अदालत वा कानुनी प्रक्रिया पुरा गरेर मात्रै लिन वा दिन सकिन्छ । प्रहरीका कर्मचारीले बर्दिको दुरुपयोग गरेर लेनदेनको मुद्दामा सक्रियता देखाउनु आफैमा भ्रष्टाचार हो ।
पोखराको लेकसाइड रात्रीकालीन व्यवसायमा समेत चर्चित ठाउँ हो । अधिकांश पर्यटकको आकर्षकको केन्द्र रहेको रात्रिकालीन व्यवसायलाई डिएसपी श्रेष्ठले विभिन्न बहानामा बार्गेनिङ्ग गरिरहेको स्रोतको भनाइ छ । त्यहाँ रहेका रात्रीकालीन व्यवसायीसँग समेत उनले बार्गेनिङ्ग शुरु गरेका छन् ।
केही दिनअघि कात्तिक १ गते पृथ्वी होटल व्यवसायी समितिको कार्यक्रममा पुगेर होटलको कोठालाई अपराध गर्ने ठाउँ नबनाउ भन्दै होटल संचालकलाई आक्षेप लगाएका थिए । बैंक ऋण गरेर होटल व्यवसाय गरिरहेकाहरुले होटललाई अपराधको अखडा बनाएको उनको आरोप थियो । उनको यो भनाइबाट अधिकांश होटल व्यवसायी असन्तुष्ट बनेका छन् ।
यो विषय एसपी थापालाई जानकारी भएपनि उनले गृहमन्त्रीको मान्छे भन्दै केही गर्न सकेका छैनन । यसअघि सिराहको ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रमुख रहेका डिएसपी श्रेष्ठको कार्यसम्पादनबारे त्यतिबेला नै प्रश्न उठेको हो । मिर्चैयास्थित एक महिलामाथि दाइजोको निहुँमा दिनहुँ यातना दिने सन्दिप नाम गरेका व्यक्तिबाट लाखौँ रुपैयाँ खाएर पीडितमाथि थप पिडा दिएको डिएसपी श्रेष्ठमाथि आरोप छ ।
उनले पीडितको जाहेरीसमेत दर्ता नगरी पीडित काजलकुमारी यादवमाथि चरम यातना दिएको आरोप थियो । २०७५ फागुन ८ गते सप्तरीको राजबिराज ७ स्थित काजलसँग विवाह गरेका सिराहस्थित कल्याणपुर ९ डुमरीका सन्दिपकुमार यादवसँग मिलेर डिएसपी श्रेष्ठले उल्टै पीडितलाई यातना दिएको आरोपमा प्रहरीप्रधान कार्यालयसमेत मौन रहेको थियो ।
२०७८ साल जेठमा उनीहरू पटक पटक प्रहरीमा जाहेरी लिएर जाँदासमेत जाहेरी दर्ता नगरी पीडकसँगै मिलेको आरोप उनीमाथि छ । त्यतिबेला डिएसपी श्रेष्ठले पीडितलाई ‘अदालतको परमादेश लिएर आउनुस’ भन्दै धम्की दिएर पठाउने गरेका थिए । पीडक सन्दिपलाई कारबाही गर्नुको सट्टा डिएसपी श्रेष्ठले भगाएको आरोप कायमै रहेका बेला गृहमन्त्रीका सचिवालय सदस्यहरुले बैदामको प्रमुख बनाएर पुरस्कृत गरेका छन् ।