Logo
Logo

इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने


एजेन्सी

504
Shares

ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएका छन् ।

‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भने । भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताए ।

इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्वीर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’
भोन डेर लेयेनले कूटनीतिज्ञहरूसँग भने, ‘द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि वातावरण हुनु आवश्यक छ ।’

उनले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताएका थिए । उनले भने, ‘यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्रसङ्घको म्यान्डेटअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ ।’

इजरायली सेनाले सोमबार गाजामा प्यालेस्टिनी लडाकूलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि एक महिना नजिक पुगेको छ र हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १० हजार पुगेको छ ।
इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु हुनुका साथै २४० भन्दा बढी बन्धक बनाइएका हमासलाई ध्वस्त पार्न कटिबद्ध प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताए । उनले युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानका बावजुद यही अवस्थामा कुनै पनि हालतमा कारबाही नरोकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्