Logo
Logo

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल


- दृष्टि न्युज/संवाददाता

0
Shares

file photo

कालिकोट, २६ माघ । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो ।
परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए । उनले भने, ‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो । त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।’
सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।
विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए । उनका अनुसार विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो, तर, अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा मात्र बनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्