बैंकक, २६ माघ (एजेन्सी) । थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध चलाउँदा २६ जनाको मृत्युको भएको जनाइएको छ । यो कुराको थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टि गरेका छन् । उनले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध गोली चलाउँदा २६ जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।
आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अन्य ५७ जना घाइते भएका छन् । उक्त घटनमा गोली चलाउने सैनिकको समेत मृत्यु भएको छ । देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एक जना मानसिक अस्वस्थ सैनिक कमान्डोले अन्धाधुन्ध गोली चलाएका थिए । ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।
प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ ।
फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ ।
जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीहरुले मारिदिएका छन् । हतियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
स्थानीय समय अनुसार शनिबार ९.३० बजेतिर प्रहरीले ३२ वर्षीय ती बन्दुकधारी मारिएको पुष्टि गरेको हो । ती बन्दुकधारीलाई भवनको पछिल्तिरबाट भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । आत्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँ लगिएको थियो ।