जिविकाको लागि देश परदेश गर्दै गर्दा त्यसबेला पूर्वी नेपालको महत्त्वपूर्ण प्रशासनिक केन्द्र धनकुटा गौँडाको नजिकै आफ्ना बाबुले ताप्लेजुङको हाङपाङबाट जरोकिलो सारेपछि धनकुटाबासीको रुपमा यो लेखकको जन्म हुन पुग्यो । बुबाले धनकुटामा जोडेको एक प्लट जग्गाको सधियारमध्ये हामीले ‘गुरागाईँ ब्राह्मण’ परिवारलाई पायौँ ।
गुरागाईँ परिवारसँग हाम्रो गुरुकुलीय सम्बन्ध पनि स्थापित हुन पुग्यो । यस्तो सम्बन्ध दुई प्रकारको थियो, एउटा विशुद्ध शैक्षिक अनि अर्को राजनीतिक । यो लेखकले गुरु दिनानाथ गुरागाईँबाट प्राथमिक विद्यालय तहमा शैक्षिक गुरुकुल पायो भने उनका जेठा छोरा गोपाल गुरागाईँबाट बाल्यकालदेखि नै राजनीतिक गुरुकुल पायो ।
सानै उमेरमा शोषण, उत्पीडन र त्यसमा पनि वर्गिय विभेदविरुद्धको गुरुकुलमा गोपाल सरबाट म दीक्षित हुन पुगेँ । समय क्रममा यो दीक्षा अलि साँघुरो भएको अनुभव भयो । विभेदको आकार र अनुहार त विविध किसिमको हुँदोरहेछ भन्ने पाठ सिकियो, केही पढेर अनि धेरैजसो परेर ।
वर्गिय विभेद मात्र होइन, मूलुकमा जातीय विभेद पनि छ र जातिय विभेदमा सिंगो राज्यसत्ताले इतिहासदेखि नै प्रत्यक्ष र परोक्ष भूमिका खेल्दै आएको छ भन्ने बुझेँ, केही पढेर अनि धेरै जसो परेर । यस्तो विभेदको ऐतिहासिकतालाई नियाल्न इतिहासका तथ्य निफन्ने उपक्रमलाई आत्मसात गर्ने कोशिश गरिरहेको एउटा सामान्य लेखकका रुपमा यतिखेर आफ्नो उपस्थिति जनाइरहेको छु ।
सिमान्तकृतहरुको ऐतिहासिक तथ्यहरु निफनेर लेख्दै गर्दा कतिपयले मलाई पहिचानवादी लेखकका रुपमा लिएका छन् भने कतिपयले साम्प्रदायिकताको तक्मा भिराइदिएका छन् । यसलाई असामान्य रुपमा लिएको छैन, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार…।
यतिखेर मेरो हातमा प्रकाश गुरागाइँ शोधमूलक कृति ‘जङ्क्सन पीपलबोट’ छ ।
अघिल्ला वाक्याङ्शमा मैले आफ्ना गुरु दिनानाथ गुरागाईंका प्रसङ्ग उल्लेख गरेँ, उनका साहिला छोरा अच्यूतका छोरा र मेरो राजनीतिक गुरुकूलका गुरु गोपाल गुरागाईँका भतिज, हुन् कवि, पत्रकार तथा लेखक प्रकाश गुरागाईँ ।
कविता र कथा लेखनबाट सिर्जनाको क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाउँदै आएका उनको कृति ‘जङ्क्सन पीपलबोट’ पढ्नुअघि उनको कविताकृति ‘खुट्टामा श्रीपेच’ पढ्ने मन भयो । कवि हरिशरण परियारको सौजन्यमा उक्त कविताकृति प्राप्त भएपछि थाहा भयो, प्रकाश गुरागाईँ सिमान्तकृत र पहिचानवादीहरुको पक्षमा लय हाल्ने एउटा प्रतिवद्ध लेखक रहेछन् ।
फेरि पनि स्पष्ट भयो, माथि उल्लेखित मेरा छुट्टाछुट्टै दुई गुरुकुल दिनानाथ र गोपालका सन्तति प्रकाश गुरागाईँ लेखनमा म आफैले खोजेर मैले हिडिरहेको यात्राको एक भरपर्दा सहयात्री पो रहेछन् । यो यात्रामा आफ्नै छिमेकी भाइलाई सहयात्रीका रुपमा फेला पार्दा लाग्यो, म आफ्नो छरछिमेकमा एक्लो रहेनछु ।
प्रकाश हालः सक्रिय पत्रकारितामा छन् र आमसञ्चार तथा पत्रकारिता प्राध्यापन पनि गर्छन् । आठ वर्षअघिसम्म त म पनि उनीजस्तै सञ्चारकर्म र प्राध्यापनमा थिएँ । प्रकाशसँग गाँसिएको एउटा मीठो प्रसङ्ग पनि उल्लेख गरिहालौँ ।
उनले मोरङ पथरीबाट कुनै बेला निस्कने नरेन्द्र राईको सम्पादनको ‘मोफसल’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् । मैले पनि कुनैबेला नरेन्द्रलाई पत्रकारितामा डोर्याउने र उत्प्रेरित गर्ने अवसर पाएको यस प्रसङ्गमा सम्झना आउँछ ।
म यतिखेर प्रकाशको नविनतम कृति ‘जङ्क्सन पीपलबोट’माथि केही लेख्न लागिरहेको छु । यो पुस्तक अद्योपान्त सिध्याइसक्दा वृहत्तर विषय मात्र होइन, साना साना घटनाको मसिनो अध्ययनले पनि निक्कै ठूलो महत्त्व राख्दो रहेछ भन्ने सुझबुझ निर्माण गर्न सहयोग पुगेको छ ।
ठूला र सबैले देख्ने घटनाको खोजी गर्न सजिलै हुन्छ । हत्तपत्त मानिसको आँखा नपर्ने भूँइमान्छेले भोगेको घटनाहरु देख्ने आँखा पनि उत्तिकै सुरो र इमान्दार हुनुपर्छ । कविता र कथाको माध्यमबाट सिमान्तकृतहरुको आवाज बोल्दै र लेख्दै आएका प्रकाशले मानिसले त्यति ध्यान नदिइरहेको वा गौण ठानिरहेको तर नेपाली इतिहास र त्यसमा पनि साहित्यिक इतिहासमा असाध्यै चाख लाग्दा घटनाका नालीबेलीलाई खोजतलास गरेर यो पुस्तक तयार पारेका छन् ।
नेपाली इतिहासकारहरुले नजरअन्दाज गरेका इतिहासका महत्त्वपूर्ण पात्रहरुको उल्लेख गरेर लेखकले उनीहरुको शिर उठानी गरिदिएका छन् । यसलाई एउटा न्यायपूर्ण लेखनको रुपमा लिन सकिन्छ । लेखक आफै सिमान्तकृतहरुको पक्षधर भएकाले मात्र यस्तो सम्भव हुन पुगेको हो भन्ने ठम्याउन गाह्रो छैन ।
नेपालमै पहिलोपटक कालोपत्रे गरिएको, फूटपाथ र ढलनिकासको ब्यवस्था भएको पहिलो सडक हो, नयाँसडक । नयाँ सडकको पुरानो नाम चाहिँ जुद्धसडक । अहिले यो सडक ‘न्यूरोड’को नामबाट प्रख्यात छ । सिंहदरबार र बसन्तपुर दरबारलाई जोड्न यो सडकको स्तरोन्नति गरियो । यहीँ सडकको एक किनारामा यहाँ भएका अनेकौँ घटना, आन्दोलन र सुखदुःखको साक्षी बनेर उभिएको छ, पीपलबोट । यो पुस्तकमा यहीँ पीपलबोटको चौतारीलाई केन्द्रमा राखेर यसका सेरोफेरोमा भएका अनेकौँ घटनालाई लेखकले सुक्ष्म रुपमा अनुशीलन गरिएको छ । र, लेखकले मुख्य चासो चाहिँ पीपलबोटमा जमघट हुने लेखकहरुको विभिन्न वान्कीमा प्रस्तुत भएका गतिविधिहरुमाथि केन्द्रीत गरेका छन् आफ्नो अनुशीलनलाई ।
खासमा त्यस समयको समाचारको एक मात्र आधार गोरखापत्र संस्थान पीपलबोटको आडैमा हुनु, त्यसबेला सिमित रुपमा प्रकाशनमा आउने ‘शारदा’ जस्ता साहित्यिक पत्रिकाहरुको विक्री गर्ने ठाउँ पनि पीपलबोट नै हुनु मात्र होइन पञ्चायतकालजस्तो नेपालमा प्रेस स्वतन्त्रताको घाँटी निमोठिएको समयमा विदेशबाट आउने अखबार पाइने ‘सन्देश गृह’ पनि यसै ठाउँ वरपर सञ्चालन हुनुले पनि अखबार तथा पत्रिकाप्रेमीहरु अनि लेखक कविहरुको जमघट र भेटघाटको थलो पीपलबोट हुनु स्वभाविक थियो ।
देख्दा वा सुन्दा अति सामान्य लाग्ने लेखक तथा कविहरुको भेटघाटको थलो नयाँसडकको पीपलबोटले नेपालको विभिन्न कालखण्डको राजनीतिक तथा साहित्यिक आन्दोलनको कतिसम्म साक्षी बन्नु परेको थियो भन्ने तथ्यको अध्ययनमा डुब्ने हो भने ‘जङ्क्सन पीपलबोट’ भित्रका रमाईला र गम्भीर लेखनमा एकपटक आँखा दौडाउनै पर्छ ।
यस पुस्तकका लेखक आफ्नो अनुशीलन यात्राका क्रममा सबैभन्दा पहिले पीपलबोट पुग्नुअघि नै देब्रेकुना ताकेर ‘न्हुँछे गल्ली’तिर लाग्छन् । उनी न्हुँछेको चियापसलमा पुगेर टक्क अडिन्छन् । त्यो चिया पसलमा घडीले ठीक चार हान्दा हरेक दिन टुप्लुक्क आइपुग्ने केही लेखक तथा साहित्यकारहरु छन्, उनीहरुको गतिविधि अवलोकनबाट लेखकले ‘जङ्क्सन पीपलबोट’को यात्रा तय गरेका छन् । त्यसैले न्हुँछेको चिया पसल लेखक प्रकाश गुरागाईंका लागि ‘जङ्क्सन पीपलबोट’ लेखनको आधार शिविर हुन पुगेको छ ।
न्हुँछेको चिया पसलमा नियमित जमघट हुने लेखकहरुले आफूलाई ‘फूटपाथ एकेडेमी’को प्राज्ञ स्वघोषणा गरेका छन् । यो एकेडेमीको प्रमुख प्राज्ञहरु हुन्, पुरुषोत्तम सुवेदी, विमल निभा, शार्दुल भट्टराई, अविनाश श्रेष्ठ र नारायण ढकाल । रत्न कोजु, अभय श्रेष्ठ र बुद्धिसागर चपाइँ पनि यसका प्राज्ञहरु हुन् ।
लेखक गुरागाईं न्हुँछेको चिया पसलबाट आफ्नो यात्रा सुरु गरेर इतिहासका अनेकौँ तथ्यहरुको निफननाफनबाट पीपलबोटलाई अनेकौँ पटक फन्को मार्दै अन्तिममा त्यहीँ फुटपाथ एकेडेमीका प्राज्ञ अविनाश श्रेष्ठलाई न्हुँछेको चियापसलमा आइपुगेर उनी नियमित आउनुको कारण सोध्न पुग्छन् । अविनाश श्रेष्ठबाट पाएको उत्तर सम्भवतः उनको लागि चित्त बुझ्दो हुन्छ र ‘जङ्क्सन पीपलबोट’को फन्कोलाई उनी मैजारो गर्छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा कसले पहिलो सफल आरोहण गरे भन्ने तर्क निक्कै महत्त्वपूर्ण रहेको छ । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीभन्दा पहिले पनि अनेकौं पर्वतारोहीले सगरमाथाको सफल आरोहण गर्ने प्रयास गरेका थिए । तीमध्ये स्कोलारी नामका पर्वतारोहीको सगरमाथा शिखरदेखि केही तल धेरै वर्षपछि शव फेला पर्यो ।
त्यसबेला पत्रकारले एण्डमण्ड हिलारीलाई प्रश्न गरे, ‘तपाईँहरुभन्दाअघि नै स्कोलारीले सगरमाथा चढेको प्रमाणित भयो भने तपाईँको प्रतिक्रिया के हुन्छ ?’ त्यतिखेर हिलारीले गम्भीर भावमा भनेका थिए, ‘शिखरमा पुग्नुलाई मात्र सफलता मानिदैन, शिखरबाट आधारशिविरसम्म सकुशल फर्कन सक्नुलाई चाहिँ सफल आरोहण मानिन्छ ।’
न्हुँछेको चिया पसलबाट यात्रा सुरु गरेर त्यहीँ सकुशल आईपुगी प्रकाश गुरागाईँले पीपलबोटको परिक्रमालाई सफल बनाएका छन् ।
प्रकाशको अनुशीलनअनुसार पीपलबोटको ठीक सामुन्नेमा रहेको गणेश मानन्धरको तत्कालीन पसलमा हुने लेखक साहित्यकारहरुको जमघटबाट त्यस ठाउँमा ‘पीपलबोटे’ जमघटको श्रीगणेश भएको हो । उनको पसलमा भुटेको मकै, भटमास, बदामका साथै चुरोट, सुपारी आदि पाइन्थ्यो । त्यहाँ सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, नारायणप्रसाद बास्कोटा तथा बासु पासाहरु जमघट गर्थे ।
राणाकालीन समयमा यस्तो जमघट पनि चुनौतिपूर्ण नै हुन्थ्यो । तर यस्तो जमघट दूरगामी महत्त्वको हुन्थ्यो । उनीहरुले नै त्यस ठाउँलाई ‘कवि कुनो’ बनाए । पछि जमघट पीपलबोटमा सर्याे । पीपलबोटमुनि लेखक, कवि, राजनीतिक कार्यकर्ता, नेताहरु मात्रै होइन, विभिन्न भेषमा उनीहरुको चियो गर्ने जासुसहरुको समेत सहभागिता रहन्थ्यो ।
लेखकले पिपलबोट धाउने कवि उपेन्द्र श्रेष्ठ विभिन्न स्रोतहरुमार्फत् जासुस नै थिए भनेका छन् भने प्रेम कैदी हरि अधिकारीले पनि त्यसबेला जासुसी गर्ने गरेको हल्ला विभिन्न ठाउँबाट आफूले सुनेको तर खासगरी हरि अधिकारी जासुस भएको ठोस प्रमाण आफूसँग नभएको भन्दै आफूलाई सुरक्षित राखेका छन् । हरि अधिकारीजस्ता छुरा लेखकमाथि यतिसम्म भन्न सक्नु प्रकाश गुरागाईँको ठूलै दुस्साहस हो ।
जुद्धशमशेरले आफूले स्तरोन्नति गरेर आफ्नो शालिक समेत राख्न भ्याएको यो सडकमा उनी बडो रवाफिलो राजकीय ठाँटका साथ ओहोरदोहोर गर्थे । त्यसबेला झ्यालबाट चियाएर उनको सवारी हेर्दा पनि उनको आँखामा पर्नासाथ जबरजस्ती उनको रानी बन्नुपर्ने बाध्यता बोकेका नारीहरुको विवसताको साक्षी पनि हो, पीपलबोट ।
जुद्धशमशेरले १९९७ सालमा चार जना वीर सपुतहरुलाई शहीद बनाए । २००७ सालपछि तीनै वीर शहीदको सम्झनामा गरिने ‘प्रभात फेरी’ले उनै शहीदहरुलाई मृत्यूदण्ड दिने जुद्धशमशेरको शालिकमा फन्को लगाउनु परिरहेको छ । शहीद शुक्र र शहीद धर्मको नाममा नामाकरण भएको सडकले उनै निरङ्कुश शासक जुद्धशमशेरको शालिकको पाउ छोइदिनुपर्ने मार्मिक दृश्यको पनि साक्षी हो, पीपलबोट । यहीँ पीपलबोटलाई फन्को मार्दै तत्कालीन इतिहास अनुशीलनमा प्रकाश गुरागाईँको सामान्य धैर्य र मेहनत परेको छैन ।
इतिहास भन्ने वित्तिकै राजा महाराजाहरुको तत्कालीन गतिविधिको लेखन हो भन्ने भान पर्छ । नेपालमा इतिहास विषयलाई यस्तै भाष्यको कैदी बनाइएको छ । तर ‘जङ्क्सन पीपलबोट’भित्र खोजिएका ऐतिहासिक पात्रहरुमध्ये अधिकाँश भूँईबाट उठेका सर्वसाधारणका छोराछोरी छन् । उनीहरुले चलाएको हातपाउको ठेला, उनीहरुले बगाएको पसिनाको बूँद र उनीहरुको चेतनाबाट सिर्जित सिर्जनाको महत्त्व कति छ ? यस प्रश्नको उत्तरको खोजीका लागि पनि प्रकाश गुरागाईँको ‘जङ्क्सन पीपलबोट’ पढ्नै पर्छ । यहाँ उनले बगाएको पसिनाको खोला गजबले हेर्न सकिन्छ ।
नेपालको अर्थराजनीतिक इतिहास अनुशीलनमा सवारी साधनको इतिहास एउटा गजबको विषय हुन सक्छ । एक वर्षअघि समालोचक डा. तारालाल श्रेष्ठले मलाई सोधे, ‘नेपालमा पहिलोपटक कसरी साइकल भित्रियो होला ?’
मैले आफूलाई यसबारे थाहा नभएको बताएँ । उनले गोरखाली लाहुरेहरुले विदेशबाट घर आउँदा साइकल लिएर आए कि ? भन्ने अनुमान पनि सुनाए । सायद उनी केही लेख्दैछन् र यस्तो प्राक्कथन बनाए भन्ने लाग्यो । त्यसबेला उनले सोधेका थिए, ‘गोरखाली लाहुरेहरुले त नेपालमा साइकल ल्याएका होइनन् ?’ मैले त्यो पनि आफूलाई थाहा नभएको बताएँ ।
अहिले यो लेख लेख्ने तरखर गरिरहदा लाग्यो, डा. तारालाल श्रेष्ठले मसम्म जिज्ञासा तेस्र्याएको उनको प्राक्कथन गलत थियो । किनकि, लाहुरभर्ती खुलेको बेला उर्दी जारी गर्दै विशेष गरी पहाडीया मगर, गुरुङ, राई, लिम्बू जातिबाट अङ्ग्रेजको रोजाई अनुसार राणा शासकले लाहुर भर्ती पठाएको थियो । लडाइँका बेला पहाडिया बाहुन क्षेत्रीलाई पनि लाहुर पठाइएको छ । पहाडी ठाउँमा साइकलको के काम ? त्यसैले लाहुरेहरुबाट नेपालमा साइकल भित्रियो भन्ने मसम्म पोखिएको डा. श्रेष्ठको प्राक्कथन गलत रहेको छ । पहाडको उकाली आरोली र अक्कर अनि जङ्घारहरु तर्दै लाहुरबाट केही दिनको विदामा बल्ल आफ्नो गाउँघर आइपुग्नु पर्ने बाध्यता बोकेका, त्यसमा पनि लडाइँले थकीत लाहुरेहरुले आफ्नो जीउ सम्हाल्न त गाह्रो हुने समयमा साइकल बोकेर पहाडको घर पुर्याउन के सम्भव थियो होला र ?
हैसियत भएकोले मात्रै साइकल चढ्न सक्ने जमानामा मोटरसाइकल ठूलो कुरा थियो । अझ निजी चारपाङ्ग्रेमा त साहित्यकारको पहुँच नै पुग्दैनथ्यो । ‘जङ्क्सन पीपलबोट’ मा नयाँसडक हुँदै राजा त्रिभुवन कुन गाडीमा चढ्थे ? राणा शासकहरुमध्ये कसले कुन ब्राण्डको गाडी चढ्थे ? नेपालमा साइकल र मोटरसाइकलको ब्यापार कसरी सुरु भयो ? त्यसबेला सवारी साधनको मूल्य कति थियो ? कुन साहित्यकार कस्तो सवारी साधन चढ्थे ? यी सबै जिज्ञासाको आधारभूत निवारण गर्ने प्रयत्न गरिएको छ ।
यसलाई टेकेर खोज्दै जाने हो भने भीमफेदीबाट चित्लाङको बाटो हुँदै राणाहरुले गाडी बोकाएर उपत्यकामा ल्याएको प्रसङ्गबाट नेपालमा सवारी साधनको इतिहास नै लेख्न सकिने अवधारणा पनि मनमा उत्पन्न हुनसक्छ, ‘जङ्क्सन पीपलबोट’ पढ्दाखेरि ।
चेतनाको केन्द्र हो, नयाँ सडकको पीपलबोट । १९९० सालमा गएको भूकम्प पीडितहरुलाई सरकारले ऋण मोचन गरिदिएको साक्षी भूगोलपार्कसँग हातेमालो गरेर उभिएको छ, पीपलबोट । राणा शासनविरुद्ध धर्मभक्त माथेमाको फुपुको ओमबहालस्थित घरमा प्रजापरिषद् नामब सङ्गठन स्थापना भएको थियो र यसले राणाशासनको अन्त्य गर्ने कसम पनि खाएको थियो । प्रजापरिषदको यस्तै गतिविधिले राणा शासनको जग मज्जाले हल्लियो ।
२००७ सालको क्रान्तिपछि चिनियालालले ज्यान गुमाए । २०१७ सालको राजा महेन्द्रको ‘कू’, २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसबेला जलेको गोरखापत्र संस्थानको कार्यालय, २०४६ को आन्दोलनजस्ता राजनीतिक गतिविधिलाई पीपलबोटले कसरी बेहोरेको थियो भन्ने पनि ‘जङ्क्सन पीपलबोट’ले गजबले उधिनेर ल्याएको छ ।
नेपालका पहिलो सञ्चार अनुसन्धाता इतिहासकार गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ पढ्दा त्यहाँ उल्लेखित कतिपय घटना जिवन्त लाग्छ, आफैले देखे भोगेजस्तो । तत्कालीन पत्रकार संघका नेता रनक्क रन्किएको, सनक्क सन्किएको, जुरुक्क उठेको जस्ता घटनाहरु देवकोटाले जिवन्त रुपमा पुस्तकमा उतारेका छन् ।
कविता र कथाको दुनियाँमा विचरण गरेर आफ्नो सिर्जनालाई परिस्कार गरिरहेका प्रकाश गुरागाईँले पछिल्लो समय हात हालेको शोधमूलक लेखनको पहिलो कृति ‘जङ्क्सन पीपलबोट’मा आफ्नो जीवन्त प्रश्तुति पस्कन सफलता पाएको देखिन्छ ।
सन्तोष भट्टराई पिएपछि कसरी अराजक हुन्थे, रक्सीका लती कवि हरिभक्त कटुवालको गतिविधि कस्तो थियो ? उनीहरुले साहित्यिक वनभोजमा बालकृष्ण समको दौराको तुना कसरी चुडाले ? माधवप्रसाद घिमिरेलाई प्रहार गरिएको झापडले उनको टोपी कसरी भूँईमा झर्न पुग्यो ? वनभोजको आयोजक साहित्यिक पत्रकार संघका तत्कालीन अध्यक्ष भवानी घिमिरे त्यो अराजक अवस्थाबाट सुरक्षित हुन कसरी वभोजस्थलबाट कुलेलम ठोके ? यस्ता जिज्ञासाहरुको जिवन्त जवाफका लागि ‘जङ्क्सन पीपलबोट’ पढ्नै पर्छ ।
रक्सी र लेखकको घनिष्ट सम्बन्धबारे यो पुस्तकमा धेरै प्रसङ्ग उल्लेख छ । सित्तैमा चुरोट र रक्सी पाउन विजय मल्लले कस्तोसम्मको ब्यवहार दर्शाउँथे ? यसबारे पनि गजबले वयान गरिएको छ ।
पारस होटल खुल्नु, रश्मि तथा इन्दिरा रेस्टुरेन्ट खुल्नुले रेस्टुरेन्ट संस्कृतिको विकासमा नयाँ सडकले ठूलो योगदान दिएको छ । तर सबै लेखक कविहरुको हैसियत ती रेस्टुरेन्टमा जाने हुदैनथ्यो ।
खल्तीको हैसियत पुग्ने को को लेखक कविहरु त्यस्ता रेस्टुरेन्टमा वियर, कफी पिउन जान्थे, हैसियत नपुग्ने को को लेखक कविहरु लोकल भट्टीमा छिर्थे ? यी जिज्ञासाको समाधानका लागि ‘जङ्क्सन पीपलबोट’ पढ्दा समय बितेको थाहा पाइदैन ।
त्यसबेला नियमित पीपलबोट पुग्ने र त्यहाँ पत्रिका किन्ने अनि आफ्ना अनुज पुस्ताका लेखकहरुलाई रश्मि रेष्टुरेन्टमा लगेर कफि पिलाउने भवानी भिक्षु भने ‘जङ्क्सन पीपलबोट’ मा छुटेका छन् ।
२०२२ सालको हिउँद याममा ‘सेन्ट्रल न्यूज डिपो’मा साँझ पख पत्रिका किन्न पेटीमा उभिइरहेका तत्कालीन प्राज्ञ भवानी भिक्षुमाथि एक युवकले अप्रत्यसित रुपमा आक्रमण गरेका थिए । त्यसबेला पुरुषोत्तम बस्नेत, रोचक घिमिरे, पुण्यप्रसाद सुवेदी भवानी भिक्षुसँग कुरा गरिरहेका थिए ।
भिक्षुमाथि हातै हाल्न खोजिएपछि रोचक घिमिरेहरुलाई सह्य भएन । उनीहरुमध्ये सुवेदी खाइलाग्दा थिए । उनको जिउडाल देखेर ती आक्रमणकारी युवा हच्किएर भुत्भुताउँदै त्यहाँबाट हिँडे । त्यसपछि भिक्षुले घिमिरे, सुवेदी र बस्नेतलाई रश्मि रेस्टुरेन्टमा लगेर कफी पिलाउँदै आफूमाथि भएको आक्रमणबारे ठूलो गुनासो सुनाएको रोचक घिमिरेले आफ्नो एक संस्मरणमा उल्लेख गरेका छन् ।
पीपलबोट परिसरमै भएको यो घटना सोधीखोजी गर्न भने लेखक चुकेका छन् ।
नेपालको अधिकाँश साहित्यिक इतिहास लेखनमा कसले कुन सालमा कुन पुस्तक प्रकाशित गरे भन्ने उल्लेख भएको पाइन्छ । तर साहित्यको इतिहास लेखनको क्षेत्रमा लेखिनुपर्ने अरु पक्षहरु पनि रहेछन् । जस्तो कि नेपालमा पुस्तक विमोचनको संस्कृति कसरी भित्रियो, वा नेपालको कुन पुस्तकले पहिलो पटक विमोचन हुने अवसर पायो ? यस्ता जिज्ञासाको उत्तर पनि लेखकले बटुलबाटुल गरेका छन् ।
विमोचन संस्कृति भित्रिनुअघि २०३२ सालमा जगदिश घिमिरेको ‘साविति’ उपन्यासको परिचर्चा कार्यक्रम राखिएको थियो । पञ्चायती ब्यवस्थाको आँखा छलेर पञ्चायती ब्यवस्थाको विरोध गरेर लेखिएको यो उपन्यास रोचक घिमिरेले बडो चलाखीपूर्वक छापेका थिए ।
२०३४ सालमा राष्ट्रिय अनुसन्धानका तत्कालीन प्रहरी निरिक्षक (पछि वामपन्थी र माओवादी नेतासमेत) ऋषिराज बरालको ‘भावना’ उपन्यास बागवजारका रामभाइ तण्डुकारको चर्चित नेवारी खाजाघरमा भोजभतेर र सुरापानसहित विमोचन गरियो । भारतीय र अन्य पत्रिकाहरु पढिरहने कवि तथा पत्रकार हरि अधिकारी (तत्कालीन सरकारी कर्मचारी)ले यस्तो आइडिया ल्याएको र गृहमन्त्रालयका तत्कालीन उपसचिव परशु प्रधान (कथाकार) लगायतको प्रेरणामा गरिएको यो विमोचनलाई नेपालको पहिलो पुस्तक विमोचन भनी लेखकले ठोकुवा गरेका छन् । यो उपन्यासको विमोचन दौलतविक्रम विष्टले गरेका थिए ।
यो प्रसङ्ग नेपाली साहित्यको इतिहासमा निक्कै ठूलो महत्त्व राख्ने प्रसङ्ग हो ।
पीपलबोट परिसरको अर्को गहना हो, बुटपालिस ब्यवसाय । लेखक सुरेशकिरणको पुर्खाले एक जना गाउँबाट आएको केटालाई घरमा काम दिएको र उनी सार्की जातिका हुन् भन्ने आशङ्कामा उनमाथि छोइछिटो ब्यवहार गरिएको अनि उनलाई गरिखान दिनका लागि पीपलबोट परिसरमा गएर जुत्ता पालिस गर्न पठाइएको थियो । बुटपालिस ब्यवसाय सुरु भएको घटना जसरी प्राथमिक स्रोतबाट उधिनेर लेखकले प्रस्तुत गरेका छन्, यो भूँईमान्छेहरुको इतिहासको खोजीमा कोशेढुङ्गा हो ।
कुनै बेला यहीँ पीपलबोट परिसरमा बुटपालिस गर्ने गोल्छे सार्कीको सङ्क्षिप्त रुपमा प्रश्तुत राजनीतिक यात्राको बारेमा पनि ‘जङ्क्सन पीपलबोट’मा गजबले पढ्न पाइन्छ । अझ त्यसबेला प्रधानपञ्च पदमा काँग्रेस छाडेर पञ्चायत प्रवेश गरेका कमल चित्रकारको उम्मेदवारीविरुद्ध पीपलबोट परिसरमा जुत्ता मर्मत र पालिस गरेर बस्ने काले सार्कीलाई परिवर्तनकारीहरुले उम्मेदवार बनाउँदा ठूलै हल्लीखल्ली मच्चिएको तर उम्मेदवारी दर्ता गर्ने बेलामा उनको नागरिकता नै नभएको प्रसङ्गले पनि पाठकको मष्तिष्कको तन्तुलाई गजबैले हल्लाउँछ । त्यो बेला गोल्छे सार्की पनि प्रधानपञ्च पदको उम्मेदवार थिए ।
कुनै बेला बुटपालिस पञ्चायती ब्यवस्थाको अत्याचारविरुद्ध प्र्रदर्शन गरिने आन्दोलनको स्वरुप पनि बन्यो ।
नेपाली साहित्यको इतिहासमा ‘बुटपालिस आन्दोलन’ एक चर्चित आन्दोलन हो । यो आन्दोलन पीपलबोट परिसरबाटै सुरु गरिएको थियो । साहित्यकारहरुको बुटपालिस आन्दोलन चर्चा छँदैछ । पञ्चायती ब्यवस्थाले साहना प्रधान, हिरण्यलाल श्रेष्ठ, दुर्गा पोखरेललगायतलाई प्राध्यापनबाट खोसुवा गरेको थियो । त्यसविरुद्ध दुर्गा पोखरेलले आफूलाई तत्कालीन सरकारले बेरोजगार बनाएको भन्दै नयाँ सडकमै बुटपालिस गरेको बडो रोचक इतिहास ‘जङ्क्सन पीपलबोट’मा पढ्न पाइन्छ ।
महिला, त्यो पनि उपाध्यय पोखरेल र नाम कमाएका आयुर्वेद चिकित्सक नरपति पोखरेलकी छोरी, चर्चित नेत्रचिकित्सक डा. रामप्रसाद पोखरेलकी बहिनीले सडकमा बसेर बुटपालिस गरेको घटना नेपालको बौद्धिक आन्दोलनको इतिहासमा कम महत्त्वको होइन ।
बुटपालिस आन्दोलनमा लागेका लेखक नारायण ढकालले त्यो आन्दोलनपछि भोगेको मनोदशा कस्तो थियो ? यसबारे लेखकले सोध्न वा ढकालले भन्न बिर्सिएछन् । बुटपालिस आन्दोलनपछि ढकाललाई गाउँघरमा खप्नु खानु भएन । बाहुनको छोरो सार्की भयो भन्ने छेडखान भयो । छोरो बाहुनबाट सार्की भएकोमा आमा मर्माहत भइन् ।
त्यसपछि उनी घर छाडेर लामै समयको लागि परदेश भासिन दार्जिलिङ पुगे, त्यहाँ रहेका इश्वर बल्लभलाई उनको ससुराली घरमा भेट्दा मुडामा बसालेर भुटेको चनाले स्वागत गर्दै ‘भाइहरु दार्जिलिङमा जागिर पाउनु भनेको मृगतृष्णा हो’ भनेर निराश बनाए । दार्जिलिङमा भोकभोकै हिड्दा उनीहरुले ‘पूर्णिमाको चन्द्रमालाई पनि यो एउटा रोटी भइदिएको भए कति गजब हुने थियो’ भन्ने कल्पना गरे । भोकले रन्थनिएका उनीहरुलाई दार्जिलिङका पाखाहरुमा त्रिकोण परेर शोभायमान धुपीका बोटहरुले आकर्षित गर्न सकेनन् ।
बुटपालिस आन्दोलनपछि अनेकौँ गोता खाएर नाडीमा बाँधेको घडी बेच्दै, होटलमा जुठा भाँडा माझ्दै बडो मुस्किलले काठमाडौँ फर्कन सफल भएको नारायण ढकालको संस्मरण प्रकाशित भएकै छ । बुटपालिस आन्दोलनपछि आन्दोलनकारी लेखक तथा कविहरुको कस्तो हालत भयो ? यसबारे उल्लेख गर्न लेखक चुकेका छन् ।
पीपलबोट नियमित धाउने लेखकमध्ये नारायण ढकालले कसरी तत्कालीन जिल्ला विकास समितिको उपसभापतिको उम्मेदवार हुनुपर्ने अवस्था आइलाग्यो भन्ने उल्लेख गर्दै उनी सांसदसमेत बनेको इतिहास उल्लेख गर्दा उनी २०४३ सालको स्थानीय निर्वाचनमा मूलपानी गाउँ पञ्चायतको प्रधानपञ्चमा जनपक्षीय उम्मेदवारको रुपमा लडेको प्रसङ्ग मात्रै होइन हरि अधिकारी २०४३ सालमा भएको आमनिर्वाचनमा सरकारी जागिर छाडेर काभ्रेपलाञ्चोकबाट राष्ट्रिय पञ्चायत सदस्यमा लडेको प्रसङ्ग पनि थपेर ‘जङ्क्सन पीपलबोट’को परिशीलन गर्न सकिन्थ्यो ।
लेखकले नयाँ सडकको विगतलाई तस्बिरमार्फत् हेरेर आफ्नो अवधारणा अगाडी बढाउँदै जाँदा पुराना फोटोग्राफर श्रीधरलाल मानन्धरबाट पाएको सूचनाले पुस्तकलाई जीवन्त बनाउन सहयोग गरेकै छ । तर पीपलबोट छेउमै रहेको ‘फोटो कन्सर्न’को उल्लेख गर्दा फोटो कन्सर्नका सञ्चालकहरुले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा गरेको योगदान पनि उल्लेखनीय भएको तथ्य प्राप्त गर्न भने लेखक असफल भएको देखिन्छ ।
फोटो कन्सर्नका सञ्चालक डीबी थापा चलचित्र निर्देशक हुन् । उनले ‘जीवनज्योती’, ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’, ‘मायाप्रीति’ र ‘धर्ती आकाश’को निर्देशन गरेका थिए । फोटो कन्सर्नसँगै सम्बन्धित कविता आले र उनका छोरा क्रान्ति आलेले नेपालको सङ्गीत क्षेत्रमा पुर्याएको योगदान सबैसामु छर्लङ्गै छ ।
अझ फोटो कन्सर्नसँगै सम्बद्ध कुमार आलेलाई लेखकले छुटाउनै नहुने थियो । लेखक कविहरुको फोटो खिच्ने उनी ‘फोटो कवि’का रुपमा प्रख्यात छन् । के थाहा, फोटो कन्सर्न नजिकैको पिपलबोटमा भेला हुने लेखक तथा कविहरुको प्रभावले पनि उनी कविहरुको फोटो खिच्न प्रेरित भएका हुन् कि ?
आफ्नो पहिलो शोधमूलक लेखनलाई प्रमाण प्रमेय प्रश्तुतिका लागि लेखकले यथासक्य प्राथमिक स्रोतका रुपमा देखिजान्ने र सुनि जान्नेहरुसँग सम्पर्क गरेका छन् भने द्वित्तीयक स्रोतका रुपमा पूर्वप्रकाशित सन्दर्भ सामग्रीहरुहरुको यथासक्य ब्यवस्थापन गरेका छन् । यसो हुँदाहुँदै पनि नेपालको राजनीतिक इतिहास अध्ययनमा उनको कमजोरी भेटिन्छ ।
जस्तो कि, पुस्तकमा कुलविक्रम बस्नेतलाई उल्लेख गर्दा कोतपर्वमा मारिएका वीरध्वज बस्नेतको सन्तान भन्ने परेको छ । बीरध्वज कोतपर्वमा होइन, भण्डारखाल पर्वमा मारिएका हुन् । त्यतिखेर शक्तिमा उदाएकी राजा राजेन्द्रविक्रमकी कान्छी रानी राज्यलक्ष्मीको योजनाअनुसार जङ्गबहादुरलाई मारेर आफू प्रधानमन्त्री हुने र रणेन्द्रविक्रमलाई युवराज बनाउने महात्वाकाँक्षाका साथ षड्यन्त्रमा सामेल हुँदा मारिएका हुन्, वीरध्वज वस्नेत । ऐतिहासिक तथ्य अलि टेढोमेढो हुन पुग्दा पुस्तक अन्यन्तै सुन्दर हुँदा हुँदै अनुहारको कुठाउँमा कोठी परेजस्तो देखिन्छ ।
इतिहासकार धनवज्र बज्राचार्य भन्थे, ‘इतिहास एकैपटक वृहत (म्याक्रो) रुपमा लेख्न खोजियो भने स्पष्ट तथ्यहरु नआउन सक्छ । त्यसैले सानो सानो ठाउँको साना साना तथ्यहरुलाई समेटियो भने वृहत इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन सकिन्छ ।’
धनवज्रले आफ्नो यस्तै अवधारणा अनुसार लिच्छविकालको अभिलेख, मध्यकालको अभिलेख, शाहकालको अभिलेखहरु सङ्कलन गरेर तिनीहरुको मसिनो ढङ्गले ब्याख्या गरिदिए । यस्तै गोरखा, नुवाकोट, दोलखाजस्ता ऐतिहासिक महत्त्वका ठाउँहरुको अभिलेखहरु सङ्कलन गरेर तिनीहरुको ऐतिहासिक ब्याख्या गरेर इतिहासलाई सुक्ष्मतम् दृष्टिले हेर्नु पर्ने आफ्नो अवधारणालाई कर्मले कार्यान्वयन गरे ।
नयाँ सडकमा रहेको एउटा पीपलबोटको फन्को लगाउँदा पनि अलिखित इतिहासलाई बडो गजबले लिपिवद्ध गरेर प्रश्तुत गर्न सकिदो रहेछ भन्ने भरपर्दा उदाहरण हो, प्रकाश गुरागाईँले लेखेको ‘जङ्क्सन पीपलबोट’ ।
यो पुस्तकले धनबज्र बज्राचार्यले ब्यक्त गरेको इतिहासको खोजी र लेखनसम्बन्धी अवधारणालाई समर्थन मात्र होइन, आत्मसात पनि गरेको छ । त्यसैले यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ । यो पुस्तक नेपाली साहित्यिक इतिहासको खोजीमा अत्यन्तै भरपर्दो सन्दर्भ सामग्री हुनेमा कुनै शङ्का छैन ।
पीपलबोटमा जमघट गर्ने लेखक कविहरु ‘भाले पार्टी’ थिए । नजिकै घर भएर पनि लक्ष्मी माली र पद्मावति सिंहजस्ता लेखकहरुले पीपलबोटमा कहिल्यै उपस्थिति जनाएनन् । पितृसत्ताको छायाँले थिचिएको अलि क्रुर समयमा मात्रै होइन, उत्तरआधुनिकता भित्रिइसकेको समयमा पनि पीपलबोटको साहित्यिक जमघट नारीसुन्य हुन पुग्यो । लेखकले लैङ्गिक दृष्टिकोणको यो पाटोलाई पनि आफ्नो पुस्तकमा समेटेर ‘जङ्क्सन पीपलबोट’लाई समावेशी बनाउने प्रयास गरेका छन् ।
यस्ता प्रशस्तै सबल पक्षहरुका साथ प्रस्तुत पुस्तकले नेपाली साहित्यिक इतिहासको क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाएको छ भन्नलाई कञ्जुस्याईँ गरिरहन पर्दैन ।